१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

चाँगुनारायण क्षेत्रका सय घर जोखिममा

लीला श्रेष्ठ

भक्तपुर — चाँगुनारायण नगरपालिका–४ का विभिन्न स्थानमा जमिन फाटेर चिरैचिरा परेको छ । हलचाप, कुइँकेल गाउँ, नवाङगाललगायत क्षेत्रमा परेका चिराका कारण कम्तीमा एक सय घर जोखिममा परेका छन् ।

चाँगुनारायण क्षेत्रका सय घर जोखिममा

भूकम्पमा चर्किएको चाँगुनारायण क्षेत्र भासिंदा पहिरोको जोखिम समेत बढेको स्थानीय बताउँछन् । कतिपय स्थानमा पहिरो गएको स्थानीय रामेश्वर श्रेष्ठ बताउँछन् ।

विश्वसम्पदा सूचीको चाँगुनारायण मन्दिरको उत्तरतर्फ मनोहरा किनार (साँखु क्षेत्र), पश्चिमको हलचाप र दक्षिणतर्फको शंखदह पोखरी वरिपरिको क्षेत्रमा चिरा परेको हो । चाँगुनारायण परिसरको उत्तर, दक्षिण र पश्चिम क्षेत्रबाट पहिरो जाने तथा भ्वाङ पर्ने क्रम बढै गएकाले मन्दिर भासिने जोखिम बढेको चाँगुनारायण नगरपालिका–४ का वडासदस्य दिनेश खनालले बताए ।


‘केही वर्षदेखि शंखदहवरिपरि भ्वाङ पर्दै गएको छ,’ उनले भने । केही वर्षदेखि यस क्षेत्रमा भ्वाङ पर्ने, धाँजा फाट्ने समस्याका कारण शंखदहको पानी समेत सुकेको छ । ‘केही वर्षअघिसम्म हामी शंखदह (पोखरी) मा पौडी खेल्थ्यौं,’ वडासदस्य खनालले भने, ‘अहिले पोखरी सुकिसकेको छ ।’


चाँगुनारायण नगरका अधिकांश क्षेत्र बालुवाका ढिस्को भएकाले त्यसलाई व्यवस्थापन र संरक्षण गर्न नसक्दा भासिने जोखिम बढेको स्थानीयको भनाई छ । ‘२०४९/०५० देखि नै जथाभावी बालुवा निकाल्न थालिएपछि जमिन चर्किन थाल्यो,’ रामेश्वर श्रेष्ठले भने, ‘बालुवा निकाल्नुअघि भासिने/पहिरो खस्ने समस्या थिएन ।’ साविक जिल्ला विकास समितिको स्वीकृतिमा बालुवा निकाल्ने नाममा सुरक्षाका उपाय अबलम्बन नगर्दा बस्ती भासिने जोखिम बढेको उनको भनाइ छ ।


‘यस क्षेत्रमा ढुंगा थोरै छन्,’ स्थानीय सानु श्रेष्ठले भने, ‘कमलो माटो र बालुवाको ढिस्को बगेकाले जताततै भ्वाङ पर्न थालेको छ ।’ भूगर्वविद् डा. सुबोध ढकालले बालुवा रहेको क्षेत्र खदिलो नहुने तथा जथाभावी बालुवा उत्खनन गरिँदा थप जोखिम उत्पन्न हुने बताए । उनले यसप्रकारको जोखिमको अध्ययन र नियन्त्रणका लागि छुट्टै विभाग गठन गर्नुपर्ने औल्याए ।


चाँगुनारायण मन्दिर संरक्षण तथा नगरको जोखिमयुक्त क्षेत्र बचाउन भूगोलकै अध्ययन गर्नुपर्ने स्थानीयको समेत माग छ । ‘सम्बन्धित निकायले जतिसक्दो छिटो अध्ययन थालिनुपर्छ,’ वडाध्यक्ष बुद्धिलाल महर्जनले भने, ‘वर्षौंदेखि चाँगुनारायण पहिरोको जोखिममा छ ।’


पुरातत्व विभाग अन्तर्गतको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले ‘भूकम्पपछि चाँगुनारायण क्षेत्र प्राकृतिक रूपमै भासिँदै गएको’ जनाएको छ । ‘मनोहरा कटान, अव्यवस्थित बालुवा, माटो उत्खननलगायतले चाँगुनारायण क्षेत्र पहिरोको उच्च जोखिममा छ,’ प्रमुख मोहनसिंह लामाले भने । मनोहरा कटान क्षेत्र र शंखदह क्षेत्रस्थित भासिएको स्थानको माटो परीक्षणका लागि इटालियन भूगर्भविद्लाई पठाइएको उनले बताए ।

प्रकाशित : भाद्र १३, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?