कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

कडा रोगका बिरामीलाई २ अर्ब

भिषा काफ्ले

काठमाडौँ — सरकारले ८ वटा कडा रोग लागेका बिरामीको उपचारमा विपन्न नागरिक उपचार कार्यक्रममार्फत एक वर्षमा झन्डै साढे दुई अर्ब रुपैयाँ खर्च गरेको छ ।

कडा रोगका बिरामीलाई २ अर्ब

गत वर्ष २१ हजार ८ सय १६ बिरामीले उपचार खर्चबापत २ अर्ब ४३ करोड ४४ लाख ३८ हजार ७ सय ४९ रुपैयाँ अनुदान लिएको जानकारी स्वास्थ्य सेवा विभागको नर्सिङ तथा सामाजिक सुरक्षा शाखा टेकुले दिएको छ । ०७३/७४ मा कडा रोगको उपचारमा १७ हजार ४ सय ७१ जनाले
१ अर्ब ३३ करोड ७ लाख ५२ हजार ५ सय ५१ रुपैयाँ सरकारी अनुदान प्राप्त गरेका थिए ।


क्यान्सर, मुटु, मिर्गाैला, स्पाइनल इन्जुरी, हेड इन्जुरी, पार्किन्सन र अल्जाइमरलाई कडा रोग मानेर सरकारले उपचारमा विपन्न नागरिकलाई अस्पतालको बिल भर्पाईअनुसार अनुदान दिने गरेको छ । शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार कडा रोग लाग्नेमा सबभन्दा बढी क्यान्सरका बिरामी छन् ।


१० हजार ६ सय ८ जना क्यान्सरका बिरामीले उपचार गराएबापत अनुदान रकम लगेको विभागका फोकल पर्सन प्रकाश घिमिरेले बताए । ४ हजार ६ सय ६१ मिर्गौला रोगी, ४ हजार २ सय ७६ मुटु रोगी र १ हजार १ सय १४ सिकलसेल एनिमियाँका बिरामीले अनुदान लगेका छन् ।


स्पाइनल इन्जुरीका ५ सय ३९, हेड इन्जुरीका ५ सय २१, पार्किङसनका ७७ र अल्जाइमरका २० बिरामीले उपचारबापत अनुदान लगेको शाखाले जनाएको छ । सरकारले मिर्गाैला रोगबाहेक अन्य रोगका बिरामीलाई उपचार खर्चबापत प्रतिबिरामी एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । मिर्गाैला रोगका बिरामीलाई भने फरकफरक कार्यविधिअनुसार अनुदान दिँदै आएको छ । डायलासिस गर्ने बिरामीलाई १ पटकको २५ सय रुपैयाँका दरले आजीवन अनुदान दिँदै आएको छ ।


सामान्यत: मिर्गाैला फेल भएका बिरामीले सातामा कम्तीमा दुईपटक डायलासिस गर्नुपर्ने हुन्छ । प्रत्यारोपण हुनै नसक्ने बिरामीलाई सरकारले प्रतिवर्ष औषधिका लागि एक लाख रुपैयाँ दिने गरेको छ ।


मिर्गाैला प्रत्यारोपण गर्ने बिरामीका हकमा भने प्रत्यारोपण खर्चबापत अस्पताललाई ४ लाख, प्रत्यारोपणपछि एक वर्षका लागि औषधि खर्च १ लाख र प्रत्यारोपणअघि प्रयोगशाला शुल्क ५० हजार उपलब्ध गराउँदै आएको छ ।


गत वर्ष ४ हजार २ सय ९८ जनाले होमो डायलासिस र २ सय ४९ जनाको प्रत्यारोपण भएको छ भने १ सय १४ जनाले औषधि उपचार खर्च लिएका छन् । विपन्न नागरिक उपचार अनुदानबाट ५ वर्षमा ६१ हजार ५ सय ९८ बिरामीले अनुदान लगेको जानकारी घिमिरेले दिए । आर्थिक वर्ष ७०/०७१ मा ८ सय १३, ०७१/०७२ मा ६ हजार ९५, ०७२/०७३ मा ८ हजार ३, ०७३/०७४ मा १७ हजार ४ सय ७१ र ०७४/०७५ मा २१ हजार ८ सय १६ जनाले कडा रोग उपचारबापत सरकारबाट अनुदान लगेका छन् ।

प्रकाशित : भाद्र १५, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?