३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पहिरोको जोखिम

अव्यवस्थित प्लटिङ

भक्तपुर — भक्तपुरमा स्थानीय तहको स्वीकृतिबिना नै जग्गा प्लटिङ गरिएको पाइएको छ । मापदण्डविपरीतको प्लटिङका कारण सूर्यविनायक नगरपालिका–८ नैचाल बैदरटोल पहिरोको जोखिममा परेको छ ।

पहिरोको जोखिम

अव्यवस्थित प्लटिङका कारण जगाती–डोलेश्वर–आशापुरी महादेव मन्दिर सडक पुरिएको वडा सदस्य अजयबहादुर तामाङले बताए । त्यसैगरी, जग्गा व्यापारीले नगरपालिकाको स्वीकृतिबिना प्लटिङ गर्दा बैदरटोलका करिब १० घर पहिरोको जोखिममा छन् । शुक्रबार पहिरो खस्दा नैचालस्थित भूकम्पपीडितको टहरा पुरिएको स्थानीय सूर्यबहादुर तामाङले बताए ।

‘भूकम्पले क्षतिग्रस्त बस्तीमा बल्ल पुनर्निर्माणको कार्य सुरु भएको छ,’ उनले भने, ‘भूकम्पले ढालेको घर बनिनसक्दै पहिरोले लाने भयो ।’नगरपालिकाको जग्गा प्लटिङ कार्यविधि–२०७४ अनुसार व्यवसायीले प्लटिङ गर्दा नक्साको आवेदन नगरपालिकामा दिनुपर्ने प्रावधान छ । निवेदन दर्ताको मितिले ७ दिनभित्र भवन इजाजत शाखाले स्थलगत सर्जमिन गरी सम्बन्धित संधियार तथा वडा कार्यालयका प्रतिनिधि तथा अन्य ७ व्यक्तिलाई राखी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

प्लटिङ गर्न इजाजत प्राप्त भएपछि सम्बन्धित व्यक्ति वा संस्थाले सम्बन्धित मालपोत/नापी कार्यालयबाट प्राप्त कागजात नगरपालिकामा पेस गर्नुपर्ने हुन्छ । इजाजत लिएपछि प्रस्तावित स्वीकृत नक्साबमोजिम बाटो, ढल, विद्युत् पोल, तार, कल्भर्ट, खुला जग्गा, हरियाली वृक्षरोपणसहितका सम्पूर्ण पूर्वाधार निर्माण कार्यका ५० प्रतिशत काम सम्पन्न भइसकेपछि नगरपालिकाका प्राविधिकबाट स्थलगत निरीक्षण गरी जग्गा खरिद–बिक्रीको सिफारिस प्रक्रिया अघि बढाइने प्रावधान कार्यविधिमा उल्लेख छ ।

जग्गा प्लटिङ मुख्य सडकबाट जग्गासम्म जोड्ने बाटो अनिवार्य ८ मिटर चौडाइको हुनुपर्ने र अन्य बाटोहरू ६ मिटर चौडाइको हुनुपर्ने व्यवस्था छ । तर, जग्गा व्यापारीले मापदण्डको बेवास्ता गर्दै प्लटिङ गर्दा बस्तीहरू जोखिममा पर्ने गरेका छन् ।


व्यवसायीले मनोमानी ढंगमा डोजर/स्काभेटर चलाएको स्थानीयको गुनासो छ । ‘प्लटिङको नाममा व्यवसायीले स्थानीयको आँखामा छारो हाल्ने काम गरेको छ,’ स्थानीय ज्ञानबहादुर तामाङले भने, ‘सस्तोमा जग्गा किनेर महँगोमा बेच्न ढिस्को ताछेर सम्याउने गरिएको छ ।’

प्लटिङका नाममा जथाभावी ढिस्को ताछ्ने, सडक खन्ने गर्दा बस्ती भासिएको उनले बताए । नगरपालिकाले बिनास्वीकृति गरिएको प्लानिङलाई मान्यता नदिने जनाएको छ । ‘अव्यवस्थित प्लटिङ क्षेत्रमा घर/बाटोको सिफारिस हुँदैन,’ वडाध्यक्ष किरण थापाले भने ।

प्रकाशित : भाद्र १७, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?