साढे १४ हजारले पुनर्निर्माण सुरु गरेनन्

भूकम्पपीडित
भक्तपुरका १९ हजार २ सय ९ भूकम्पपीडितले अझै सम्पर्क गरेनन्
कान्तिपुर संवाददाता

भक्तपुर — भूकम्प गएको करिब ४० महिना बितिसक्दा पनि भक्तपुरमा ३२ प्रतिशत लाभग्राहीले मात्र पुनर्निर्माण थालेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा प्रमाणित २८ हजार ३ सय २ लाभग्राही (भूकम्पपीडित) मध्ये २३ हजार ६ हजार ६७ ले मात्र निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्ता लिएका छन् ।

तर, अनुदान सम्झौता गरेका ९ हजार ९३ लाभग्राहीले मात्र पुनर्निर्माण सुरु गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जीएमएएलआई) को तथ्यांकमा उल्लेख छ ।

लाभग्राही सूचीका १९ हजार २ सय ९ भूकम्पपीडित पुनर्निर्माण प्रक्रिया बाहिर रहेको जीएमएएलआई भक्तपुरको तथ्यांकमा देखिन्छ । ‘लाभग्राही सूचीमा परेका ४ हजार ६ सय ३५ पीडितले पुनर्निर्माणका लागि अनुदान सम्झौतासमेत गर्न आएका छैनन्,’ जीएमएएलआई भक्तपुरका सूचना व्यवस्थापन विशेषज्ञ भोजराज भट्टले भने, ‘अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ लिइसकेका १४ हजार ५ सय ७४ लाभग्राही पुनर्निर्माणको प्रक्रिया थालेकै छैनन् ।

जीएमएएलआईका अनुसार नगरपालिकाको झन्झटिलो नक्सापास प्रक्रिया, जग्गाको लालपुर्जा नहुनु, दर्ता नभएका स्वबासी, गुठी तथा मोही लागेको जग्गाको नक्सा पास नहुनु, न्यून आयस्रोत, निर्माण सामग्रीमा भएको मूल्यवृद्धि, जग्गाको बहुस्वामित्व तथा पारिवारिक बेमेलका कारण पुनर्निर्माणमा ढिलाइ भएको हो ।

Yamaha

‘बाजेको पुस्तादेखि बस्दै आएका घरको लालपुर्जा छैन, जग्गाको स्वामित्व नहुनेले अनुदानमा घर बनाउन समस्या छ,’ प्रमुख धु्रव गैडाले भने, ‘पुस्तान्तर हुँदै जाँदा जग्गाको बाँडफाँट हुनुपर्ने हो तर, जिल्लाको पुराना बस्तीमा जग्गाको बाँडफाँट भएको देखिएन ।’ जग्गा बहुस्वामित्वका कारण पनि पुनर्निर्माणमा समस्या आएको उनले बताए ।

पछिल्लो समय निर्माण सामग्रीको मूल्यवृद्धि तथा ढुवानीको समस्याले पुनर्निर्माणमा कठिनाइ भएको पीडितको गुनासो छ । ‘इँटा, बालुवा, डन्डी, काठको मूल्य अत्यधिक वृद्धि भएको छ,’ भक्तपुर नगरपालिका४ तौमढीका विजेन्द्र पक्वाँले भने, ‘सरकारले उपत्यकामा टिपर राति ८ देखि बिहान ५ बजेसम्म मात्र चल्न पाउने नियम बनाएपछि ढुवानी मूल्य बढेको छ, दिउँसो सामान ल्याउन पाइँदैन ।’ निजी आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता गरी पहिलो किस्ताको ५० हजार रुपैयाँ लिए पनि निर्माण सामग्रीको महँगीले घर बनाउन नसकेको उनको गुनासो छ ।

जीएमएएलआई भक्तपुरले सम्झौता नगरेका तथा पहिलो किस्ता लिई दोस्रो किस्ताको प्रक्रियामा नआएका लाभग्राहीको समस्या पहिचान गर्न स्थलगत अनुगमन तथा अन्तरक्रिया थालेको जनाएको छ ।

जिल्लाका चारवटै नगरपालिकाका वडाहरूको अनुगमन गरी निजी आवास पुनर्निर्माणमा देखिएका समस्याको पहिचान गर्ने, स्थानीय भूकम्प प्रभावित लाभग्राही एवं गुनासोकर्तासँग छलफल गर्ने, पुनर्निर्माणसम्बन्धी कार्यमा खटिएका प्राविधिकसँग समस्या एवं चुनौतीबारे छलफल गरेको सामाजिक विकास विशेषज्ञ हेरम्बा अधिकारीले बताए ।

Esewa Pasal

प्रकाशित : भाद्र १७, २०७५ ०९:०२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सर्पदंशका बिरामी बढे

फातिमा बानु

काठमाडौँ — राजधानीका अस्पतालमा सर्पले टोकेका बिरामीको संख्या केही दिनयता ह्वात्तै बढेको छ । वर्षायामसँगै सर्पको बिगबिगी बढेपछि बिरामीको संख्यामा वृद्धि भएको हो । अस्पताल आउने बिरामी उपत्यका आसपासका ग्रामीण भेगका बढी छन् ।

सर्पले टोकेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका बिरामी । तस्बिर : फातिमा

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक १० देखि १५ सर्पदंशका बिरामी आउने गरेका छन् । तीमध्ये कम्तीमा ५ जना भर्ना गर्नुपर्ने अवस्थाका छन् । कोही घाउ लिएर त कोही बेहोसी अवस्थामा अस्पताल पुग्छन् ।

गम्भीरखाले बिरामी १५ दिनसम्म भर्ना गरेर उपचाररत छन् । सर्पले टोकेपछि उपचारभन्दा पनि सर्प खोजेर मार्नेतिर लाग्दा बिरामी ढिलो अस्पताल पुग्ने गरेको अस्पतालका डा. अनुप बास्तोलाले बताए । उनले भने, ‘ढिलो अस्पताल पुग्दा शरीर प्यारालाइसिस भएर ज्यानै जान सक्ने अवस्था हुन सक्छ, गर्भवती भए बच्चा खेर जान सक्छ ।’

विशेष गरी उपत्यकाको भक्तपुर, ललितपुर, कीर्तिपुर, थानकोट, टोखालगायत ग्रामीण ठाउँबाट सर्पदंशका बिरामी आउने गरेको अस्पतालको तथ्यांक छ । त्यस्तै धादिङ, नुवाकोट, काभ्रे, रामेछाप सिन्धुपाल्चोकबाट आउने बिरामीको संख्या पनि उत्तिकै छ । बिरामी पनि महिला बढी देखिएका छन् ।

वर्षाको समयमा खेतबारीमा काम गर्ने, झाडीतिर जाने र पानी जमेको खाल्डाखुल्डीतिर सर्पले टोक्ने गरेको अस्पतालका डा. शेरबहादुर पुुनले बताए । उनले भने, ‘सर्पले नै टोकेर भन्दा पनि टोकेपछिको त्रासपूर्ण मानसिकताले पीडित भएका बिरामी बढी आउँछन्, आँधो र हरेउजस्ता पहाडिया सर्प ज्यानै लिने खालका विषालु हुँदैनन् ।’ सबै सर्प विषालु हुँदैनन् । कुनै सर्पले टोकिहाले पनि विष लाग्दैन । आँधोले टोक्दा सुन्निने, बेस्सरी दुख्ने हुन सक्छ ।

सर्पले टोकेपछि उपचारभन्दा पनि झारफुक गर्ने अन्धविश्वासी अभ्यासका कारण केही बिरामी भने गम्भीर अवस्थामा आउने गरेका छन् । कसैले भने आफैं उपचार गर्ने अभ्यासका कारण पनि घाउ बिगारेर आउँछन् । घाउमा कपडाले बेस्सरी बाँध्ने, जथाभावी जडीबुटी लगाउने, मुखले विष चुस्ने गलत उपचारका केही उदाहरण हुन् ।

गलत उपचारकै कारण रगतमा संक्रमणदेखि रगत जमेर टोकेको अंग कालो भएर जान्छ । शल्यक्रिया नै गरी काटेर फाल्नुपर्ने अवस्थामा समेत बिरामी आउने गरेको डा. पुन बताउँछन् । उनी भन्छन्, ‘सर्पले टोकिहालेमा साबुनपानीले सफासँग घाउ पखाल्नुपर्छ र सक्दो चाँडो अस्पताल आइपुगेमा अवस्था धेरै बिगँ्रदैन ।’ समयमै अस्पताल पुग्दा टोकाइका कारण रगतमा विष फैलिए नफैलिएको पत्ता लाग्छ । कहिलेकाहीँ घाउबाहिर रगत नबगे पनि आन्तरिक रक्तस्राव भइरहेको हुन्छ । उपचारमा यो पत्ता लागे जटिलता कम भई मृत्यु हुनबाट बचाउन सकिन्छ ।

कसैलाई राति सुतिरहेका बेला वा झाडीतिर जाँदा सर्पले टोक्ने हुँदा थाहा पाउँदैनन् । सर्पले टोक्दा वाककाकी लाग्ने, घाउ, नाकमुख र दिसापिसाबबाट रगत बग्ने, आँखा धमिलो हुने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखा पर्छन् । वर्षायाममा उपत्यकालगायत पहाडी क्षेत्रमा सर्पको बिगबिगी हुँदा सतर्क हुनुपर्ने डा. पुुन सुझाउँछन् ।
सरुवा रोग अस्पतालमा गएको वैशाखदेखि भदौ पहिलो सातासम्म १ सय ८६ सर्पदंशका बिरामीले उपचार गरेका छन् जसमा आधाभन्दा बढी बिरामी महिला नै छन् । औसतमा दैनिक १५ जना जस्तो अझै उपचारका लागि अस्पताल पुगिरहेका छन् । यसैबीचमा सर्पदंशकै कारण अस्पतालमा एक गर्भवतीको मृत्यु भयो । विशेष गरी असारदेखि असोज महिनामा सर्पदंशका बिरामी अस्पताल आउने गरेको मेडिकल रेकर्ड शाखाको तथ्यांक छ ।

अस्पतालमा आईसीयूको व्यवस्था नहुँदा सर्पले टोकेर गम्भीर अवस्था भएका बिरामीलाई उपचार गर्न समस्या भइरहेको डा. यादवले सुनाए । ‘विषालु सर्पले टोकेका बिरामीको ज्यानै जाने खतरा हुन्छ, त्यस्ता बिरामीलाई यहाँबाट उपचार हुँदैन, ‘उनले भने, ‘आईसीयू भएको अस्पतालमा रिफर गर्नुपर्छ ।’जनशक्ति अभावका कारण अस्पतालको आईसीयू सञ्चालनमा ल्याउन नसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत वर्ष सरुवा रोग अस्पतालबाट सर्पदंशका ८५ बिरामीलाई भर्नै गरेर उपचार गर्नुपरेको संयोजक पुनले बताए । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार गत वर्ष देशभर करिब ६ हजार व्यक्ति सर्पको टोकाइबाट घाइते भएका थिए जसमध्ये २३ को विषालु सर्पको टोकाइले मृत्यु नै भएको थियो । पछिल्लो आठ वर्षका सर्पदंशका कारण १ सय ३१ ले ज्यान गुमाइकेका छन् । नेपालमा सर्पदंशको मृत्युदर १० प्रतिशत छ ।

प्रकाशित : भाद्र १७, २०७५ ०९:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT