२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

तलब कम भएपछि काठमाडौंका जनप्रतिनिधि असन्तुष्ट

विद्या राई

काठमाडौँ — प्रदेश सरकारले निर्धारण गरेको तलब सुविधाप्रति काठमाडौं महानगरका जनप्रतिनिधिहरुले असन्तुष्टि जनाउँदै आएका छन् । प्रदेश सरकारले निर्धारण गरेको तलब कम भएको भन्दै जनप्रतिनिधिले सपथ लिएको १४ महिना बित्दासम्म एक रुपैयाँ पनि तलब लिएका छैनन्। 

तलब कम भएपछि काठमाडौंका जनप्रतिनिधि असन्तुष्ट

उनीहरु सुरुमा आउँदा कुन जनप्रतिनिधिलाई कति तलब दिने भन्ने स्पष्ट नीति आएको थिएन । महानगरपालिका आफैंले पनि तलब तोकेर कार्यान्वयन गर्न सम्भव थिएन । यसका लागि प्रदेश सरकारलाई कुर्नुपर्ने थियो । प्रदेश सरकार ढिला गरी गठन भयो र तलब निर्धारण पनि ढिला भयो ।

प्रदेश सरकारले मेयरको मासिक तलब ४६ हजार, उपमेयरको ४० हजार, वडाध्यक्षको २८ हजार, वडासदस्यको सात हजारका दरले तोकेको थियो । उक्त तलबले बढ्दो महंगीमा टिक्न नसक्ने भन्दै जनप्रतिनिधिले असन्तुष्टि जनाउँदै आएका हुन् । देशमा बढ्दै गरेको महंगी र सोअनुसार तलब दिन नसकेको भन्दै प्रदेश सरकारको आलोचना समेत गरेका छन् ।

निर्धारित तलबलाई संशोधन गर्न प्रदेश सरकारसँग प्रस्ताव गरेका छन् । काठमाडौं महानरपालिकाको परिषद बैठकले मेयरको न्युनतम तलब ६५ हजार, उपमेयरको ६० हजार, वडाध्यक्षको ४० हजार पुर्‍याउन प्रदेश सरकारलाई प्रस्ताव गरेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । साथै सबै जनप्रतिनिधिको सेवा सुविधा वृद्धि गर्न प्रस्ताव गरेको छ । जनप्रतिनिधिहरुले तलब नलिएपछि १४ महिनासम्म कसरी सेवा प्रवाहमा खटिएका छन् भन्ने जिज्ञासामा प्रवक्ता कार्कीले जनप्रतिनिधले बैठक वापतको भत्ता लिँदै आएको बताए ।

गतवर्ष तलबबारे स्पष्ट नीति नभएकाले महानगरपालिका बजेट विनियोजन गरेको थिएन । चालु आर्थिक वर्षका लागि भने जनप्रतिनिधिको तलब शीर्षकमा ११ करोड ९७ लाख रुपैयाँ विनियोजन गरेको छ । यसैगरी उनीहरुको सुविधाका लागि नौ करोड २६ लाख रुपैयाँ विनियोजन गरेको छ । सुविधाअन्तर्गत यातायात खर्च, टेलिफोन, उपचार खर्च, पोसाक, दुर्घटना बिमा र खाजा खर्च छन् । महानगरमा करिब १६२ जना जनप्रतिनिधि छन् ।


प्रकाशित : भाद्र १८, २०७५ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?