प्लटिङले भासियो जमिन

शिल्पा कर्ण

काठमाडौँ — बूढानीलकण्ठ नगरपालिका–५ को टुसाल क्षेत्रमा अव्यवस्थित प्लटिङका कारण जमिन भासिएको विज्ञहरूले जनाएका छन् ।

प्लटिङले भासियो जमिन

सोमबार जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारी, प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, भूगर्भ विभाग, जिल्ला भू–संरक्षण कार्यालय, प्रहरीलगायतको टोलीले उक्त स्थानको निरीक्षणपछि उक्त निष्कर्ष निकालेको हो ।

जिल्ला भू–संरक्षण कार्यालय काठमाडौंका सहायक भू–संरक्षण अधिकृत विनोद ज्ञवालीले भूमिको गलत प्रयोग भएकाले यस्तो अवस्था आएको बताए । ‘यो भिरालो जमिन हो । खेती वा बस्ती बसाउन उपयुक्त होइन,’ ज्ञवालीले थपे, ‘प्लटिङ गरिएकोले भूकम्पपछिको कमजोर जमिन पानी परेपछि बग्यो । वृक्षरोपण गर्नुपर्नेमा प्लटिङ गरी बस्ती विकास गरिएकाले पानीको उचित निकास हुन पाएन ।’ जग्गा खारेर शिवपुरी राष्ट्रिय निकुञ्जसँगैको उक्त भिरालो जमिनमा प्लटिङ गरिएको छ ।

उक्त स्थानमा वर्षातको पानी व्यवस्थापनका लागि कुनै उपाय नअपनाइएकाले सडक बगाएको र चिरा परेकोमा विज्ञहरूको तर्क छ । वर्षात्को मौसममा पानी बढी पर्नेबित्तिकै ठूलो भू–भाग तल खस्ने सम्भावना रहेको भूगर्भविद्हरू बताउँछन् ।

जमिनमा धाँजा फाटेपछि बूढानीलकण्ठका डेढ दर्जन परिवार पहिरो र भू–क्षयको जोखिममा परेका छन् । उक्त नगरपालिकाको ५ नं. वडाको टुसाल नामक स्थानमा डाँडा नै खसेर तलका घर पुर्न सक्ने खतरा देखिएको वडाध्यक्ष विजय तामाङले बताए । उक्त स्थानमा चार घर बस्न नमिल्ने गरी चर्किएका छन् भने बाटो चिरा परेका र भत्किसकेका छन् ।

‘झन्डै एक साता अघिदेखि नै ठाउँठाउँमा चिरा पर्न थालेको थियो,’ वडाध्यक्ष तामाङले भने, ‘घरमा समेत असर गरेको छ । हामीले तत्काल विपद् समितिको बैठक डाकेर केही निर्णय गरेका छौं ।’

उक्त क्षेत्रमा चर्केको घर  । तस्बिर : शिल्पा कर्ण

उनका अनुसार स्थानीय तहको विपद् व्यवस्थापन समितिले जोखिममा रहेका १७ घरलाई वडा कार्यालयमा उपस्थित हुन भनेको छ । गत मंगलबार नै चित्रबहादुर बस्नेत, राधिका धिताल, विवेक तामाङ र सुशीला बस्नेतको घर चिरा परेको हो ।

उनीहरूमध्ये कोही गुम्बामा, कोही भाडामा कोठा खोजेर बसिरहेका छन् । वडाध्यक्ष तामाङ अव्यवस्थित बस्तीको कारण नै घर जोखिममा परेको स्विकार्छन् । तर आफूहरू निर्वाचित हुनु अगाडि नै सुरेन्द्र श्रेष्ठ र राजकुमार नामक व्यक्तिले त्यो स्थानमा प्लटिङ गरेको उनको भनाइ छ । ‘निकुञ्जको बफर जोन घोषणा भएको पनि तीन वर्ष जति मात्र भयो । यो स्थानमा पहिलेदेखि नै बस्ती छ,’ तामाङले भने । त्यहाँ पहिले भन्दा घरको संख्या निकै बढेको छ भने बिना नक्सापास कतिपय घर बनाइएको छ । तर भूकम्पपछि त्यस्तो गर्नेको संख्या घटेको उनले दाबी गरे ।

‘पहिले यो ठाउँमा जम्मा माटोका कच्ची घर ६/७ वटा थिए भने अहिले २५–३० पक्की घर बनिसके,’ तामाङ भन्छन्, ‘भत्केका घर भूकम्पअघि बनेका हुन् ।’ वडाध्यक्ष तामाङको भनाइमा दिनहुँ चिरा पर्ने क्रम बढेको छ । उनले तत्कालै आफूहरूले सम्बन्धित निकायमा खबर गरेको र बस्ती सार्नेतर्फ लागेको बताए ।

प्रकाशित : भाद्र १९, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?