छपेली–माझखण्ड केबलकार: ६० करोड लागतमा स्थानीयले बनाउँदै

प्रशान्त माली

ललितपुर — ललितपुरको इकुडोल माझखण्डका योगमान स्याङतानका साथी डेढ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा साउदी उडे । ३५ वर्षीय विशाल बोम्जन गाउँमा बसेर छोराछोरीको उज्वल भविष्य नभएको भन्दै बिदेसिएका थिए ।

माझखण्डका २८ वर्षीय वाङगेल बोम्जन २ वर्षअघि दुबई पलायन भए । स्थानीय शिक्षक रहेका उनी परिवारलाई सुख दिने सपना बुनेर बिदेसिएका हुन् । ३३ वर्षीय हीरामाया वल स्याङतान डेढ वर्षअघि कुबेत उडिन् ।

स्थानीय २६ वर्षीय बुद्ध घलान कतार गए । उनीहरू तीनैजना योगमानका साथीहरू हुन् । २ सय घरधुरी भएको तामाङ बस्तीका अधिकांश युवा वैदेशिक रोजगारीमा छन् ।

Yamaha

तर उनीहरूभन्दा फरक योगमान भने देशमा नै केही गर्ने सोचका कारण बिदेसिएनन् । उनी भन्छन्, ‘गाउँमै रगत पसिना बगाएर रोजगारी सिर्जना गर्छु, तर विदेश जान्नँ ।’ अर्का २० वर्षीय छेवाङ बल, बुद्ध बोम्जनको सोचाइ पनि योगमानसँग मिल्दोजुल्दो छ । उनीहरूले ग्रामीण पर्यटन प्रवद्र्धनमार्फत गाउँमै रोजगारी सिर्जना गर्ने योजना बनाए ।

नभन्दै स्थानीय युवाहरू मिलेर अर्थमान लामाको अध्यक्षतामा माझखण्ड पर्यटन विकास समिति गठन गरे । उनीहरूले डेस्टिनेसन माझखण्ड कम्पनीका अध्यक्ष गोपाल सञ्जेलसँग मिलेर भट्टेडाँडा छपेलीबाट माझखण्डसम्म केबुलकार निर्माण गर्नतर्फ लागे ।

उनीहरू सबै मिलेर बागमती गाउँपालिका–३ भट्टेडाँडा छपेली र ५ नम्बरस्थित माझखण्ड जोड्ने २ दशमलव ८ किमि लामो केबलकार बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेका छन् । प्रतिवेदन स्विजरल्यान्डस्थित बार्थोलेट (बीएमएफ) कम्पनीको समन्वयमा रोप वे एन्ड केबलकार कम्पनीले तयार पारेको हो ।

डिस्टिनेसन माझखण्डका अध्यक्ष सञ्जेल भन्छन्, ‘बार्थोलेट कम्पनीसँग केबलकारको पार्टपुर्जा र इन्जिन खरिद गर्न सम्झौता भइसकेको छ । प्रारम्भिक वातावरणीय परीक्षण (आईई) रिपोर्ट बनाउन वन तथा वातावरण मन्त्रालयबाट क्षेत्राधिकार तथा कार्य निर्देश सर्त (टीओआर) समेत स्वीकृत भइसकेको छ ।’ उनले मन्त्रालयले आईई रिपोर्ट स्वीकृत हुने क्रममा रहेको बताए । ‘केबलकार सञ्चालन गर्न उद्योग दर्ता प्रमाण पत्रका लागि प्रक्रिया अगाडि बढिसकेको छ,’ उनले भने, ‘माझखण्ड पर्यटकका लागि नयाँ उत्कृष्ट गन्तव्य निर्माण गर्ने क्रममा छाैं ।

यसका लागि गाउँपालिका र पर्यटन मन्त्रालयले सहयोग गर्नेमा आशावादी छौँ ।’डीपीआर प्रतिवेदनअनुसार केबल कारको भौतिक संरचना बनाउन ६० करोड रुपैयाँ लाग्नेछ । उक्त लगानी निर्माण सम्पन्न भएको ६ वर्ष १० महिनाभित्रमा उठ्ने अनुमान गरिएको छ ।

सञ्जेलका अनुसार ७० प्रतिशत (४० करोड रुपैयाँ) बैंक र ३० प्रतिशत (२० करोड रुपैयाँ) स्थानीयस्तरबाट लगानी जुटाइनेछ । ‘ऋणका लागि बैंकका अधिकारीसँग छलफल गरेर फिल्ड अवलोकन भइसकेको छ,’ उनले भने, ‘स्थानीय स्तरबाट लगानी जुट्ने क्रमा सुरु भइसकेको छ ।’ छपेली कान्तिलोक पथअन्तर्गत ललितपुर खण्डको सातदोबाटोबाट २५ किमि दक्षिण पश्चिम दूरीमा पर्दछ ।

माझखण्ड छपेली स्टेसनबाट ३ सय मिटरमा उचाइमा पर्छ । यो परियोजनाले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने सरकारी योजनालाई समेत टेवा पुग्ने विश्वास लिएको छ । रिपोर्ट अनुसार २ हजार केजीको क्षमता भएको केबलकारमा एक पटकमा २५ देखि ३० जनासम्म यात्रा गर्न सकिनेछ । १० मिटर प्रतिसेकेन्डको गतिमा चल्ने केबलकार ५ मिनेटमा माथिल्लो र तल्लो बिन्दुमा पुग्ने रिपोर्टमा उल्लेख छ ।

छपेलीमा तल्लो स्टेसन बनाउन ३ रोपनी र माझखण्डस्थित माथिल्लो स्टेसन बनाउन ५ रोपनी जग्गा खरिद गरिसकिएको डेस्टिनेसन माझखण्ड कम्पनीले जनाएको छ । यो परियोजनाले कम्तीमा २ सय जनालाई प्रत्यक्ष रोजगारी दिने र १५ सय जनालाइ स्वरोगारी सिर्जना हुने विश्वास लिइएको छ ।

पर्यटन विकास समिति अध्यक्ष लामा दाबी गर्छन्, ‘दुवै स्टेसनको बीचमा टावररहित बन्ने भएकाले चन्द्रागिरि र मनकामना केबलकार भन्दा भिन्नै हुनेछ । यसले साहसिक यात्रा गर्न चाहनेहरूका लागि बढी चाख हुनेछ ।’ उनले परियोजना सफल भएमा गाउँ मात्र नभई जिल्लाको काँठ र सहरी क्षेत्रमा समेत सकारात्मक प्रभाव पर्ने बताए । ‘दसंैपछि होमस्टे सुरु गर्ने योजना छ,’ उनले भने ।

रिपोर्टअनुसार माझखण्डमा उच्च समस्थली भूभाग खोर भञ्ज्याङ, पोखरी र सल्ले डाँडा छन् । हावापानी शीतल छ । पिकनिक स्थल र पार्क बनाउन सकिने सम्भावना छ । यहाँबाट बागमती नदी, कान्तिलोक पथ र माल्टा, प्युटार, आश्राङ, गिम्दी, ठूलादुर्लुङ र मकवापुरको मरे फाँट, खानी खोला हाइड्रोपावर अवलोकन गर्न सकिन्छ ।

माझखण्डबाट रमिटे लेक ४ किमि उचाइमा पर्छ । यो तराई र उपत्यका एकैपटक अवलोकन गर्न सकिने दुर्लभ स्थान हो । यहाँबाट सूर्योदय र सुर्यास्त, हिमशृंखलाको रमणीय दृश्य हेर्न सकिन्छ । यहाँ जंगल सफारी, प्याराग्लाइडिङ, चमेरे गुफा, घोडचढीको सम्भावना छ । माझखण्ड रमिडे डाँडा हँुदै कालेवर १२ किमि ट्रेकिङ रुट पनि छ ।

प्रकाशित : भाद्र १९, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

संस्कृति जोगाउनै मुस्किल

प्रशान्त माली

ललितपुर — ठेचो ग्वा:ननी टोलका ९२ वर्षीय श्रीगोविन्द महर्जन र ७९ वर्षीय सन्तलाल महर्जन दाफा बाजाका गुरु हुन् । सिखछेँ दाफा खल:का उनीहरू अहिले बाजामा सहभागी छैनन् । उनीहरूले पहिला बुङमतीस्थित रातो मत्स्येन्द्रनाथ परिसरमा प्रत्येक वर्ष दाफा बाजा बजाउँदै आएका थिए ।

ठेचोको न्हुछँे दाफा खल:का सदस्य ।तस्बिर : कान्तिपुर

यो चलन अहिले बन्द भइसकेको छ । कात्तिक महिनाभर बाजा बजाउने चलन बन्द भएको १२ वर्ष बितिसक्यो । अहिले ठेचो शक्तिपीठ, माथिल्लो लाछी, धर्मस्थलीपुर, मन्द पाटी र कजीको घर बजाउनुपर्ने परम्परा, पञ्चदान र पीठ पूजामा एक महिना बाजासहित नगरपरिक्रमा गर्ने चलन जेनतेन सञ्चालनमा छ ।
***

माली गा: दाफा खल:द्वारा गँुला: पर्वको अवसरमा एक महिना ३३ कोटि देवताको गीत गाउने चलन बन्द भएको ३ वर्ष बितिसक्यो । कात्तिकभर माली गा:स्थित दुईवटा पाटी, माथिल्लो लाछी, कुटुझोल दुई स्थान, खाँचा, धर्मस्थलीपुर गरेर सात स्थानमा बजाउने चलन पनि बन्द भइसकेको छ । २०४४ देखि हालसम्म प्रशिक्षण दिन सकिएको छैन । अहिले योमरीपुन्ही, भैरव जात्रा र नवदुर्गा देशाच्यागु (नगर परिक्रमा) बाजा बजाउने चलन दयनीय अवस्थाबाट गुज्रिरहेको छ ।
***

यी दुई बाजा खल: उदाहरण मात्र हुन् । ठेचो सांस्कृतिक बाजा संरक्षण समितिमा आबद्ध १२ बाजा खल: छन् । समितिले गरेको अध्ययनमा अधिकांश बाजा खल: दयनीय अवस्थाबाट गुज्रिरहेको पाइएको छ । समितिका अनुसार प्रत्येक बाजा खल:को मतया: जात्रा, एकमहिने पीठ सेवा, योमरीपुन्ही, बालकुमारी, ब्रह्मायणी र नवदुर्गा जात्रा, भैरव र गणेश देवता मन्दिर जात्रामा महत्त्वपूर्ण भूमिका हुन्छ । ‘एकपटक बाजा बजाउन कम्तीमा १५ जना जनशक्ति आवश्यक पर्छ,’ ठेचो बाजा संरक्षण समितिका अध्यक्ष बाबुराम महर्जनले भने, ‘यसले वर्षदिनमा एउटा बाजा खल: सञ्चालन गर्न झन्डै ९० हजार रुपैयाँ आवश्यक पर्छ । पहिला उक्त रकम सम्बन्धित बाजाका कजी (व्यवस्थापक) आफैंले बेहोर्दै आइरहेका थिए । अहिले त्यस्तै स्थिति रहेन । यसले गर्दा पनि बाजा संरक्षण गर्न गाह्रो परेको छ।’

ठेचोमा दाफा खल: बाहेक नवदुर्गा धिमे पुच:, माली गा: धिमे खल:, खाँचा धिमे खल:, सरस्वती धिमे खल:, कुसीको बाँसुरी खल:, तननी बाँसुरी खल:, ब्रह्मायणी बाँसुरी खल: कुटुझोल बाँसुरी खल: छन् । मतया: जात्रा पहिला सिखछेँ दाफा खल:, न्हुछेँ , न्ह्यछेँ र माली गा: गरेर चार वटा दाफा खल:को संयुक्त आयोजना गर्दै आइरहेको थियो । दाफा खल:लाई गाह्रो परेपछि समितिको पहलमा बाह्रै वटा बाजा खल:ले प्रत्येक वर्ष आयोजना गर्ने निर्णय गरी सञ्चालन गरिएको छ । अहिले १२ बाजा खल:लाई पनि जात्रा सञ्चालन गर्न गाह्रो परेको अवस्था छ ।

सिखछे खल:का कजी तुलसीगोविन्द महर्जन भन्छन्, ‘एक पटक बाजा प्रशिक्षण दिँदा ३ महिनासम्म सिकाउनुपर्छ । यसका लागि झन्डै डेढ/दुई लाख रुपैयाँ खर्च लाग्छ । सम्पूर्ण रकम सिक्न आउने व्यक्ति आफैंले बेहोर्नु पर्छ । आर्थिक समस्याले गर्दा बाजा लोप हुदै गएको हो ।’ उनका अनुसार कुनै बेला राज्यले संस्कृति परम्परालाई आत्मसात् गर्‍यो । कुनै चाडपर्व त आफैंले सिर्जना गर्‍यो । केहीलाई सरकारी संस्था जस्तो गरि मान्यता पनि दियो । ‘कुन जात्रा कुन संगठन गर्ने र कसकसले कति सघाउने नियम बनाइदियो । यसबमोजिम काम गरेबापत गुठीयारहरूले सुविधा र आर्थिक सहयोग पाउने व्यवस्था भयो,’ उनले भने, ‘यता गोरखा सरकार आएपछि सरकारबाट दिइने प्रत्यक्ष र अप्रत्यक्ष सबै सहायता बन्द भयो । यसले गर्दा पनि दाफा बाजा मात्र नभई सम्पूर्ण संस्कृति परम्परा लोप हुँदै गए ।’

धर्मस्थली भजन तथा कुसीको बासुरी खल:ले पहिला प्रत्येक दिन दैनिक भजन आयोजना गर्दथ्यो । अहिले साताको एकपटक पनि हुन छोडेको छ । भजन खल:मा आबद्ध ६२ जनाको कोष स्थापना गरिएको छ । प्रत्येक साता व्यक्तिगत रूपमा २० रुपैयाँ राखेर भजन सञ्चालन गर्दै आइरहेका छन् ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले संस्कृति परम्परालाई पर्यटनसँग जोडेर नगरपालिकाको आम्दानीको स्रोत बनाइने बताए । ‘यसले बाजा संरक्षण गर्न आवश्यक रकम पनि व्यवस्था गर्न सकिन्छ,’ उनले भने ।

प्रकाशित : भाद्र १४, २०७५ ०८:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT