एम्बुलेन्सलाई झन् जाम
काठमाडौँ — केही दिनअघि आफन्तलाई अचानक बिसन्चो भएपछि जनकपुरका पवन कर्णले स्थानीय अस्पतालमा पुर्याए । चिकित्सकले तत्काल सामान्य उपचारपछि काठमाडौं रिफर गरिदिए ।
बिहान ६ बजे जनकपुरबाट एम्बुलेन्समा हिँडेका उनी काठमाडौं पुग्दा २ बजिरहेको थियो । सामान्यत: अन्य गाडीले पुर्याउने समय नै लाग्यो राजधानी पुग्न ।
‘बनेपादेखि नै एम्बुलेन्सले साइरन बजाउन थाले पनि जामले निकै ढिला भयो,’ उनले भने, ‘दुई ठाउँको ट्राफिक जाममा प्रहरीले सहयोग गर्यो । कोटेश्वरमा एक घण्टा जति जाम पर्यो । शनिबार दिउँसो अस्पताल पुर्याइसक्दा बिरामीको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरे । जाम नभएको भए ज्यान बचाउन सकिन्थ्यो कि भन्ने लाग्छ उनलाई । कति ठाउँमा साइरन बजाइरहेको एम्बुलेन्सलाई समेत अन्य गाडीले ठाउँ नदिएको उनले बताए ।
नर्भिक अस्पताल थापाथलीमा कार्यरत भरतबहादुर राउतले ५ वर्षअघिको घटना सम्झिए, ‘बानेश्वरका एक वृद्धको घरबाट फोन आएपछि एम्बुलेन्स लिएर गएँ । जामले गर्दा त्यहाँ पुग्नै नपाई उनले ज्यान गुमाए ।’
यस्ता कैयौं घटना उनको सम्झनामा छन्, जहाँ बिरामीलाई ल्याउन जाँदासम्म मृत्यु भइसकेको हुन्छ । २०५० सालतिर सडक निकै फराकिलो महसुस हुन्थ्यो उनलाई । २०६० यता भने बिरामीलाई अस्पताल ल्याउनै गाह्रो हुन थालेको छ । ‘सडकभरि गाडी नै गाडी देखिन्छन् । एम्बुलेन्स ओझेलमा पर्छ, बाटो पाउनै मुस्किल,’ उनले अनुभव सुनाए, ‘आजकाल ट्राफिक प्रहरीले चाहेर पनि सहयोग गर्न सक्ने अवस्था छैन ।’
साँघुरो ठाउँमा समेत दुईपांग्रेले ओगट्न थालेका छन् अचेल । उपत्यकामै एम्बुलेन्स चलाउने गर्छन् नवराज तामाङ । उनले एम्बुलेन्स चलाउन थालेको वर्ष दिन पनि पुगेको छैन । प्रसूति गृहमा उनले चलाउने एम्बुलेन्समा गर्भवती महिला, भर्खरै शल्यक्रिया गरिएका सुत्केरी या नवजात शिशु हुन्छन् । तिनलाई कहिले अस्पताल पुर्याइदिउँ लाग्छ उनलाई । तर जामले गाह्रो बनाउँछ । उनलाई कठिन यसकारण पनि छ कि गर्भवती बोकेको एम्बुलेन्सलाई खाल्डाखुल्डीबाट जोगाउँदै चलाउनुपर्ने हुन्छ ।
एकपल्ट बिरामी बोकेर उनी घण्टौं जाममा परे । त्यस अवस्थामा न साइरनले काम गर्यो न बत्तीले नै । केही महिनाअघि राष्ट्रपति विदेश जाने बेलामा उनले चलाएको एम्बुलेन्स नक्सालमा थियो र पछाडि हप्ता दिन पुगेका शिशु थिए ।
शिशुको मुटुमा समस्या देखिएकाले गंगालाल अस्पताल पुर्याउनुपर्ने थियो । तर जामले ‘समय निस्केपछि’ पो पुगिने हो कि भन्ने डर थियो । एक घण्टापछि जाम खुल्यो र उनले शिशुलाई अस्पताल पुर्याए ।
उपत्यकाको त्रिपुरेश्वर–कलंकी, भक्तपुर–कोटेश्वर आउँदा निकै जाम हुने गरेको एम्बुलेन्स चालकको अनुभव छ । एम्बुलेन्समा बिरामी भएको अवस्थामा मात्र होइन, बिरामी लिन जाने बेला पनि उत्तिकै आत्तिएका हुन्छन् चालक ।
तर यस अवस्थामा ट्राफिक प्रहरीले नपत्याइदिने गरेको उनीहरू गुनासो गर्छन् । ‘बिरामी लिन जाँदा पनि हामीलाई उत्तिकै हतार हुन्छ । तर एम्बुलेन्स रित्तै भएको अवस्थामा ट्राफिक प्रहरीले ध्यान दिँदैन,’ तामाङले भने ।
उपत्यकामा जामको समस्या यति धेरै भए पनि व्यवस्थापनतर्फ राज्यले खासै चासो दिन नसकेको आरोप छ एम्बुलेन्स चालकहरूको । दुई दशकभन्दा बढी एम्बुलेन्स चलाएका राउत हृदयाघात, रक्तचापजस्ता नसर्ने रोगको जोखिम बढदै गएकाले सुविधासम्पन्न एम्बुलेन्सको आवश्यकता झनै बढेको बताउँछन् ।
उनको विचारमा एम्बुलेन्स, दमकलजस्ता आकस्मिक सवारीसाधनका लागि छुट्टै लेन बनाउनुपर्छ । यसका साथै उपत्यकामा गाडीको संख्या नियन्त्रण गर्न सक्नुपर्छ । अन्य गाडी चालकलाई पनि सचेत बनाउन सक्नुपर्ने उनी धारणा राख्छन् ।
पूर्व एसपी जगतमान श्रेष्ठ विकसित मुलुकमा आकस्मिक साधनका लागि बेग्लै लेन भएपनि नेपालमा चाहेर पनि एम्बुलेन्सलाई बाटो छाड्न सकिने अवस्था नरहेको बताउछन् ।
एम्बुलेन्सभन्दा बढी महत्त्व भीआईपी र भीभीआईपी सवारीलाई दिँदा परेको मर्काबारे राज्यले आँखा चिम्लिएको उनी बताउँछन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमूख एसएसपी बसन्त पन्तले भने सडकमा खटिएका ट्राफिक प्रहरीले एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारीसाधनलाई पहिलो प्राथमिकता दिने गरेको बताए । ‘सडक प्रयोगकर्ताको चेतनाको कमीले एम्बुलेन्स, दमकललाई समेत सडक नछाडेको पाइन्छ,’ पन्तले भने, ‘ट्राफिक प्रहरीले सडक जतिसक्दो छिटो खुलाएर अत्यावश्यक सवारीसाधनको व्यवस्थापन गर्ने गरेको छ ।’
प्रकाशित : भाद्र २१, २०७५ ०८:५०