एम्बुलेन्सलाई झन् जाम

शिल्पा कर्ण

काठमाडौँ — केही दिनअघि आफन्तलाई अचानक बिसन्चो भएपछि जनकपुरका पवन कर्णले स्थानीय अस्पतालमा पुर्‍याए । चिकित्सकले तत्काल सामान्य उपचारपछि काठमाडौं रिफर गरिदिए ।

बिहान ६ बजे जनकपुरबाट एम्बुलेन्समा हिँडेका उनी काठमाडौं पुग्दा २ बजिरहेको थियो । सामान्यत: अन्य गाडीले पुर्‍याउने समय नै लाग्यो राजधानी पुग्न ।

‘बनेपादेखि नै एम्बुलेन्सले साइरन बजाउन थाले पनि जामले निकै ढिला भयो,’ उनले भने, ‘दुई ठाउँको ट्राफिक जाममा प्रहरीले सहयोग गर्‍यो । कोटेश्वरमा एक घण्टा जति जाम पर्‍यो । शनिबार दिउँसो अस्पताल पुर्‍याइसक्दा बिरामीको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरे । जाम नभएको भए ज्यान बचाउन सकिन्थ्यो कि भन्ने लाग्छ उनलाई । कति ठाउँमा साइरन बजाइरहेको एम्बुलेन्सलाई समेत अन्य गाडीले ठाउँ नदिएको उनले बताए ।

Yamaha

नर्भिक अस्पताल थापाथलीमा कार्यरत भरतबहादुर राउतले ५ वर्षअघिको घटना सम्झिए, ‘बानेश्वरका एक वृद्धको घरबाट फोन आएपछि एम्बुलेन्स लिएर गएँ । जामले गर्दा त्यहाँ पुग्नै नपाई उनले ज्यान गुमाए ।’

यस्ता कैयौं घटना उनको सम्झनामा छन्, जहाँ बिरामीलाई ल्याउन जाँदासम्म मृत्यु भइसकेको हुन्छ । २०५० सालतिर सडक निकै फराकिलो महसुस हुन्थ्यो उनलाई । २०६० यता भने बिरामीलाई अस्पताल ल्याउनै गाह्रो हुन थालेको छ । ‘सडकभरि गाडी नै गाडी देखिन्छन् । एम्बुलेन्स ओझेलमा पर्छ, बाटो पाउनै मुस्किल,’ उनले अनुभव सुनाए, ‘आजकाल ट्राफिक प्रहरीले चाहेर पनि सहयोग गर्न सक्ने अवस्था छैन ।’

साँघुरो ठाउँमा समेत दुईपांग्रेले ओगट्न थालेका छन् अचेल । उपत्यकामै एम्बुलेन्स चलाउने गर्छन् नवराज तामाङ । उनले एम्बुलेन्स चलाउन थालेको वर्ष दिन पनि पुगेको छैन । प्रसूति गृहमा उनले चलाउने एम्बुलेन्समा गर्भवती महिला, भर्खरै शल्यक्रिया गरिएका सुत्केरी या नवजात शिशु हुन्छन् । तिनलाई कहिले अस्पताल पुर्‍याइदिउँ लाग्छ उनलाई। तर जामले गाह्रो बनाउँछ । उनलाई कठिन यसकारण पनि छ कि गर्भवती बोकेको एम्बुलेन्सलाई खाल्डाखुल्डीबाट जोगाउँदै चलाउनुपर्ने हुन्छ ।

एकपल्ट बिरामी बोकेर उनी घण्टौं जाममा परे । त्यस अवस्थामा न साइरनले काम गर्‍यो न बत्तीले नै । केही महिनाअघि राष्ट्रपति विदेश जाने बेलामा उनले चलाएको एम्बुलेन्स नक्सालमा थियो र पछाडि हप्ता दिन पुगेका शिशु थिए ।

शिशुको मुटुमा समस्या देखिएकाले गंगालाल अस्पताल पुर्‍याउनुपर्ने थियो । तर जामले ‘समय निस्केपछि’ पो पुगिने हो कि भन्ने डर थियो । एक घण्टापछि जाम खुल्यो र उनले शिशुलाई अस्पताल पुर्‍याए ।

उपत्यकाको त्रिपुरेश्वर–कलंकी, भक्तपुर–कोटेश्वर आउँदा निकै जाम हुने गरेको एम्बुलेन्स चालकको अनुभव छ । एम्बुलेन्समा बिरामी भएको अवस्थामा मात्र होइन, बिरामी लिन जाने बेला पनि उत्तिकै आत्तिएका हुन्छन् चालक ।

तर यस अवस्थामा ट्राफिक प्रहरीले नपत्याइदिने गरेको उनीहरू गुनासो गर्छन् । ‘बिरामी लिन जाँदा पनि हामीलाई उत्तिकै हतार हुन्छ । तर एम्बुलेन्स रित्तै भएको अवस्थामा ट्राफिक प्रहरीले ध्यान दिँदैन,’ तामाङले भने।

उपत्यकामा जामको समस्या यति धेरै भए पनि व्यवस्थापनतर्फ राज्यले खासै चासो दिन नसकेको आरोप छ एम्बुलेन्स चालकहरूको । दुई दशकभन्दा बढी एम्बुलेन्स चलाएका राउत हृदयाघात, रक्तचापजस्ता नसर्ने रोगको जोखिम बढदै गएकाले सुविधासम्पन्न एम्बुलेन्सको आवश्यकता झनै बढेको बताउँछन् ।

उनको विचारमा एम्बुलेन्स, दमकलजस्ता आकस्मिक सवारीसाधनका लागि छुट्टै लेन बनाउनुपर्छ । यसका साथै उपत्यकामा गाडीको संख्या नियन्त्रण गर्न सक्नुपर्छ । अन्य गाडी चालकलाई पनि सचेत बनाउन सक्नुपर्ने उनी धारणा राख्छन् ।

पूर्व एसपी जगतमान श्रेष्ठ विकसित मुलुकमा आकस्मिक साधनका लागि बेग्लै लेन भएपनि नेपालमा चाहेर पनि एम्बुलेन्सलाई बाटो छाड्न सकिने अवस्था नरहेको बताउछन्।

एम्बुलेन्सभन्दा बढी महत्त्व भीआईपी र भीभीआईपी सवारीलाई दिँदा परेको मर्काबारे राज्यले आँखा चिम्लिएको उनी बताउँछन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमूख एसएसपी बसन्त पन्तले भने सडकमा खटिएका ट्राफिक प्रहरीले एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारीसाधनलाई पहिलो प्राथमिकता दिने गरेको बताए । ‘सडक प्रयोगकर्ताको चेतनाको कमीले एम्बुलेन्स, दमकललाई समेत सडक नछाडेको पाइन्छ,’ पन्तले भने, ‘ट्राफिक प्रहरीले सडक जतिसक्दो छिटो खुलाएर अत्यावश्यक सवारीसाधनको व्यवस्थापन गर्ने गरेको छ ।’

प्रकाशित : भाद्र २१, २०७५ ०८:५०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

प्लटिङले भासियो जमिन

शिल्पा कर्ण

काठमाडौँ — बूढानीलकण्ठ नगरपालिका–५ को टुसाल क्षेत्रमा अव्यवस्थित प्लटिङका कारण जमिन भासिएको विज्ञहरूले जनाएका छन् ।

बूढानीकलण्ठको टुसालमा धाँजा फाटेको सडक नियाल्दै अनुगमन टोली । तस्बिर : शिल्पा कर्ण

सोमबार जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारी, प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, भूगर्भ विभाग, जिल्ला भू–संरक्षण कार्यालय, प्रहरीलगायतको टोलीले उक्त स्थानको निरीक्षणपछि उक्त निष्कर्ष निकालेको हो ।

जिल्ला भू–संरक्षण कार्यालय काठमाडौंका सहायक भू–संरक्षण अधिकृत विनोद ज्ञवालीले भूमिको गलत प्रयोग भएकाले यस्तो अवस्था आएको बताए । ‘यो भिरालो जमिन हो । खेती वा बस्ती बसाउन उपयुक्त होइन,’ ज्ञवालीले थपे, ‘प्लटिङ गरिएकोले भूकम्पपछिको कमजोर जमिन पानी परेपछि बग्यो । वृक्षरोपण गर्नुपर्नेमा प्लटिङ गरी बस्ती विकास गरिएकाले पानीको उचित निकास हुन पाएन ।’ जग्गा खारेर शिवपुरी राष्ट्रिय निकुञ्जसँगैको उक्त भिरालो जमिनमा प्लटिङ गरिएको छ ।

उक्त स्थानमा वर्षातको पानी व्यवस्थापनका लागि कुनै उपाय नअपनाइएकाले सडक बगाएको र चिरा परेकोमा विज्ञहरूको तर्क छ । वर्षात्को मौसममा पानी बढी पर्नेबित्तिकै ठूलो भू–भाग तल खस्ने सम्भावना रहेको भूगर्भविद्हरू बताउँछन् ।

जमिनमा धाँजा फाटेपछि बूढानीलकण्ठका डेढ दर्जन परिवार पहिरो र भू–क्षयको जोखिममा परेका छन् । उक्त नगरपालिकाको ५ नं. वडाको टुसाल नामक स्थानमा डाँडा नै खसेर तलका घर पुर्न सक्ने खतरा देखिएको वडाध्यक्ष विजय तामाङले बताए । उक्त स्थानमा चार घर बस्न नमिल्ने गरी चर्किएका छन् भने बाटो चिरा परेका र भत्किसकेका छन् ।

‘झन्डै एक साता अघिदेखि नै ठाउँठाउँमा चिरा पर्न थालेको थियो,’ वडाध्यक्ष तामाङले भने, ‘घरमा समेत असर गरेको छ । हामीले तत्काल विपद् समितिको बैठक डाकेर केही निर्णय गरेका छौं ।’

उक्त क्षेत्रमा चर्केको घर  । तस्बिर : शिल्पा कर्ण

उनका अनुसार स्थानीय तहको विपद् व्यवस्थापन समितिले जोखिममा रहेका १७ घरलाई वडा कार्यालयमा उपस्थित हुन भनेको छ । गत मंगलबार नै चित्रबहादुर बस्नेत, राधिका धिताल, विवेक तामाङ र सुशीला बस्नेतको घर चिरा परेको हो ।

उनीहरूमध्ये कोही गुम्बामा, कोही भाडामा कोठा खोजेर बसिरहेका छन् । वडाध्यक्ष तामाङ अव्यवस्थित बस्तीको कारण नै घर जोखिममा परेको स्विकार्छन् । तर आफूहरू निर्वाचित हुनु अगाडि नै सुरेन्द्र श्रेष्ठ र राजकुमार नामक व्यक्तिले त्यो स्थानमा प्लटिङ गरेको उनको भनाइ छ । ‘निकुञ्जको बफर जोन घोषणा भएको पनि तीन वर्ष जति मात्र भयो । यो स्थानमा पहिलेदेखि नै बस्ती छ,’ तामाङले भने । त्यहाँ पहिले भन्दा घरको संख्या निकै बढेको छ भने बिना नक्सापास कतिपय घर बनाइएको छ । तर भूकम्पपछि त्यस्तो गर्नेको संख्या घटेको उनले दाबी गरे ।

‘पहिले यो ठाउँमा जम्मा माटोका कच्ची घर ६/७ वटा थिए भने अहिले २५–३० पक्की घर बनिसके,’ तामाङ भन्छन्, ‘भत्केका घर भूकम्पअघि बनेका हुन् ।’ वडाध्यक्ष तामाङको भनाइमा दिनहुँ चिरा पर्ने क्रम बढेको छ । उनले तत्कालै आफूहरूले सम्बन्धित निकायमा खबर गरेको र बस्ती सार्नेतर्फ लागेको बताए ।

प्रकाशित : भाद्र १९, २०७५ ०९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT