कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्लेष्मान्तकमा कंक्रिट: निर्माण रोक्न पुरातत्त्वको निर्देशन

काठमाडौँ — पुरातत्त्व विभागले पशुपति क्षेत्रको श्लेष्मान्तकमा कंक्रिटको पैदल मार्ग निर्माण रोक्न निर्देशन दिएको छ । विभागले बुधबार पशुपति क्षेत्र विकास कोषलाई पत्र लेख्दै तत्काल काम रोक्न निर्देशन दिएको हो ।

श्लेष्मान्तकमा कंक्रिट: निर्माण रोक्न पुरातत्त्वको निर्देशन

यात्रुको सुविधाका लागि भन्दै कोषले दुई साताअघि थालेको पैदल मार्ग (वाक वे) को निर्माण अन्तिम चरणमा पुगेको छ ।

विश्वरूप मन्दिर अगाडिको क्षेत्रमा सिमेन्ट ओछयाएर कुरूप बनाइसकेपछि बल्ल पुरातत्त्व विभागले काम रोक्न पत्राचार गरेको हो । ‘पशुपति संरक्षित क्षेत्रभित्रको विश्वरूप मन्दिर परिसरमा यस विभागको स्वीकृति नलिई मापदण्डविपरीत फुटपाथ निर्माण भइरहेको देखिएको हुँदा उक्त निर्माण कार्य तत्काल रोक्का राखी के–कस्तो निर्माण कार्य गर्न लागिएको हो, यस विभागमा यथाशीघ्र जानकारी गराउनुहुन आदेशअनुसार अनुरोध गर्दछु,’ पुरातत्त्व अधिकृत देवेन्द्र भट्टराईले लेखेको पत्रमा छ ।

कोषले पर्यटकलाई मृगस्थली क्षेत्र घुम्न सजिलो होस् भनेर बाटो बनाउन लागेको बताउँदै आएको थियो । २ करोड ९९ लाख रुपैयाँ खर्च गरेर यहाँ पैदल मार्ग बनाउन लागेको समाचार प्रकाशित भएपछि विभागले स्थलगत अध्ययन टोली खटाएको थियो ।

टोलीले प्रतिवेदनसमेत दिइसकेको छ । पुरातत्त्वले तयार पारेको प्रतिवेदनमा ७० मिटर लामो र ४ मिटर चौडाइको बाटोमा, ५/६ इन्चको मोटो ढलान गरेको उल्लेख छ । ‘जमिन सतहबाट एक फिट तलबाट खनेर ढलान गरेको देखिन्छ,’ प्रतिवेदनमा छ ।

विभागले कंक्रिटका सबै संरचना भत्काउन लगाउने जनाएको छ । पहिला बनाउन दिने अनि भत्काउन लगाएर सार्वजनिक सम्पत्तिको नास भएको भन्दै सम्पदा अभियन्ताले आपत्ति जनाएका छन् । ‘यो रानीपोखरीकै अर्काे शृंखला हो,’ सम्पदा अभियन्ता सञ्जय अधिकारी भन्छन्, ‘रानीपोखरीमा पनि कंक्रिट राखुन्जेल पुरातत्त्व मौन रहयो । सम्पदाप्रेमी सडकमा ओर्लिएपछि मात्रै रोक्न पत्राचार गर्‍यो ।’

प्रकाशित : भाद्र २१, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?