कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भक्तपुरका भित्री सडकको बिजोग

भक्तपुर — मध्यपुर थिमि कौशलटारबाट सूर्यविनायक बालकोट हुँदै बिरुवा जाने मुख्य सडकमा स्कुटर, मोटरसाइकललगायत सवारीसाधन चिप्लिएर दुर्घटनामा नपरेका त दिनै हुँदैनन् ।

भक्तपुरका भित्री सडकको बिजोग

सडकका बीचमा ठुल्ठूला खाडल छन् । बस्तीबाट निस्किएको पानी सडकबाटै बग्छ । निकास छैन । बस्ती विकाससँगै राजकुलो मासिएको छ । बस्तीको पानी बगेपछि सडक जीर्ण बनेको स्थानीय बताउँछन् । ‘पहिले/पहिले हयुमपाइपबाट बग्ने पानी सडकबाटै बग्न थालेको छ,’ स्थानीय अनिल श्रेष्ठले भने ।

सूर्यविनायक–२ बालकोट धारापाटीबाट ललितपुरको महालक्ष्मी नगरपालिका चाँगाथली जोड्ने सडक हिलाम्य छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले असारको अन्तिममा सडक निर्माण गर्दा भक्तपुर र ललितपुरका बासिन्दाले सास्ती खेप्नु परेको छ ।

निर्माणका क्रममा सडकभन्दा दुई फिट माथि पर्खाल लगाएपछि पानीको निकास रोकिएको स्थानीय बताउँछन् । ‘सडकको दुवैतिर सडकभन्दा माथिसम्म पर्खाल छ, पानीको निकास छैन,’ स्थानीय गोमा भण्डारीले भनिन् ।

त्यसैगरी, गोसपुल–बिडोलफाँट–सुडाल–कलमसी–नगरकोट सडकको अवस्था पनि उस्तै छ । जिल्ला प्राविधिक कार्यालय भक्तपुरले ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना विकास क्षेत्रगत कार्यक्रम (आरआरआरएसडीपी) अन्तर्गत गत फागुनमा विस्तार थाले पनि कार्यालय खारेजीले अन्योल भएको कर्मचारी बताउँछन् ।

गोसपुल–नगरकोटसम्मको करिब साढे ७ किलोमिटर सडक १९ करोड ७६ लाख रुपैयाँमा विस्तार गर्ने गरी सम्झौता भएको र ३० प्रतिशत कार्य सकिएको छ । चालू आर्थिक वर्षको साउनदेखि कार्यालय खारेज भए पनि विस्तार सुचारु रहेको जिल्ला समन्वय समितिअन्तर्गत जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख ओमकुमार शाहले बताए ।

त्यस्तै, अरनिको राजमार्गको जगाती–आशापुरी सडकखण्डको अवस्था पनि उस्तै छ । कालोपत्रे गरेको पाँच वर्ष पनि नबित्दै सडक जीर्ण बनेको छ । सार्वजनिक बससमेत सञ्चालन हुन सकेको छैन । जगातीबाट आशापुरीसम्म सार्वजनिक बस सञ्चालन गर्न स्थानीयको माग भए पनि सडकको अवस्थाले सञ्चालन गर्न नसकेको व्यवसायी बताउँछन् । सडक निर्माणको केही समय सार्वजनिक बस चले पनि साँघुरो र धराप अवस्थाका कारण सञ्चालन गर्न नसकेको भक्तपुर मिनी बस सेवा समिति भक्तपुरका अध्यक्ष दिनेश प्रधानले बताए ।

मध्यपुर थिमि बाहाखा बजार–मनोहरा हुलाक सडक विस्तार ढिलाइका कारण सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । ‘मिल रोड बोडे सडकको हालत वर्षातमा धान रोप्न तयार पारेको खेत जस्तो हुन्छ,’ बोडेका पूर्ण प्रजापतीले भने, ‘पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर हिँडिसक्नु हुन्न, सडकको बीचबीचमा खाडल बनेको छ । आर्थिक वर्ष ०७२/७३ मा विस्तार थालिएको काठमाडौं–भक्तपुर जोड्ने सडकका कतिपय स्थानमा सिमांकन विवादका कारण निर्माणमा समस्या आएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

कतिपय स्थानमा सिमांकन विवादका कारण कालोपत्रेमा समस्या आएको डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले बताए । करिब १६ किलोमिटर मुख्य सडक फराकिलो बनाउने, नाली बनाउने, भीर काट्ने कार्य पाँच वर्षअघि थालिए पनि अझै सम्पन्न हुन सकेको छैन ।

प्रकाशित : भाद्र २२, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?