२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

अस्पतालमा बढ्यो चोरी

बिरामीको सामान राख्ने स्थानमा लकर नहुँदा दैनिक केही न केही सामान हराउने गरेको छ
फातिमा बानु

काठमाडौँ — मंगलबार बिहान ४ बजे एक युवक थापाथलीस्थित प्रसूतिगृहको क्याबिनमा छिरे । उपचारका लागि एकजना मात्र राखिएको क्याबिनमा अपरिचित व्यक्ति पसेपछि बिरामीपक्ष एकछिन आत्तिए ।

अस्पतालमा बढ्यो चोरी

बिरामीका कुरुवा आत्तिएर कराएपछि युवक भाग्नै लागे पनि अस्पताल प्रशासनबाट समातिए । सोधपुछ गर्दा युवकले आफू शौचालयको खोजीमा अस्पताल पसेको बताए पनि शंका लागेपछि नजिकैको प्रहरी कार्यालयमा बुझाइएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रशासन प्रमुख रानु थापा भन्छिन्, ‘बिहानै ४ बजे बाहिरको मान्छे शौचालयकै लागि माथिल्लो तलाको क्याबिनसम्म पुग्न पर्दैन । शौचालय त गेटनजिकै छ, तलतिर पनि छ ।’ दुई महिनाअघि प्रसूतिगृहमा राति एक कुरुवाको मोबाइल हरायो । उनले तत्कालै प्रशासनमा उजुरी गरेपछि अस्पतालले सीसीटीभी फुटेज हेरे । उनको मोबाइल राति सँगै सुतेका अर्का कुरुवाले चोरेका रहेछन् ।

वीर अस्पतालमा पनि केही समयअघि पार्किङस्थलबाट कर्मचारीको मोटरसाइकल हरायो । सीसीटीभी फुटेजबाट चोर पत्ता लाग्यो, मोटरसाइकल पनि भेटियो ।

चोर्ने व्यक्ति भेटिएमा अस्पतालले प्रहरीको जिम्मा लगाइदिने गरेको छ । कुरुवाका सामान कुरुवाले नै चोर्ने गरेका घटना बढी छन् । कोही औषधि किनेर ल्याइदिन्छु भन्दै पैसा लिएर गायब हुन्छन् । कान्ति बाल अस्पतालमा छोरीको उपचार गर्न बसेका एकको ५ हजार रुपैयाँ हरायो ।

दिनभरि बिरामी कुरुवा बनेर गफ गरेका व्यक्ति सँगै सुतेर आधा रातमा गायब भए । उनलाई त्यही व्यक्तिमाथि शंका छ । उनले प्रशासनमा समेत उजुरी दिएको बताए । पैसा भने अझै भेटिएको छैन । उनी चिन्तित छन् । भन्छन्, ‘घरबाट उपचार गर्ने पैसा आफैंसँग राखेको छु, मोबाइल र पैसा हराउला भनेर रातभर सुत्दिनँ ।’

पाटनको मानसिक अस्पतालमा पनि अवस्था उस्तै छ । बिरामीको सामान राख्ने स्थानमा लकर नहुँदा दैनिक केही न केही सामान हराउने गरेको छ । सामान हराएपछि खोजीकार्यमा अस्पताल प्रशासनले चासो नदेखाइदिने कुरुवाहरूको गुनासो छ ।

अस्पतालका तथ्यांक अधिकृत वासुदेव कार्कीले अस्पतालमा सामान लक गरेर राख्ने व्यवस्था भएको दाबी गरे । पछिल्लो समय अस्पताल परिसरभित्र चोरीका घटना बढ्ने गरेका छन् । प्रसूतिगृहको प्रशासनमा दैनिक कोही न कोही सामान हराएको उजुरी लिएर पुग्छन् ।

सुतेकै ठाउँबाट पैसाको पर्स, मोबाइल र महत्त्वपूर्ण कागजात हराउँदा बिरामी र कुरुवा हैरान छन् । अधिकांशलाई अस्पतालले सीसीटीभी फुटेज हेरेर पत्ता लगाई कारबाही गर्ने गरेको छ । पैसा निकालेर नागरिकता, बिल जस्ता कागजात भने ओपीडी र शौचालयमा फालिएको भेटिन्छ ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि दिनहुँ चोरी र ठगीका घटना हुने गरेका छन् । पार्किङ स्थलबाटै मोटरसाइकल तथा बिरामीका पैसा, मोबाइल र गहना हराउने गरेका छन् । भीडभाड हुँदा गोजीबाट नै मोबाइल र पैसा हराउँछ । तर कतिपय अस्पतालमा टोकन प्रणाली लागू भएपछि लाइनमा बस्दा पैसा हराउने समस्या समाधान भएको छ ।

विशेषगरी आईसीयू वार्डबाट बिरामी र कुरुवाका सामान हराउने गरेको अस्पतालका वरिष्ठ मेडिकल रेकर्डर कुमार केसीले बताए । उनले भने, ‘बिरामी र कर्मचारी दुवैका सामान हराउँछन्, धाराका टुटीदेखि जे भेट्यो त्यही चोर्छन् ।’ महाराजगन्जस्थित कान्ति बाल अस्पतालले अस्पतालभित्र चोरीका घटना बढ्न थालेपछि सीसीटीभी जोडेको छ । अस्पतालका सूचना अधिकारी रमेशनर्सिङ केसी भन्छन्, ‘चोरी अझै घटेको छैन, उजुरी आइरहेका छन् ।’

प्रकाशित : भाद्र २३, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?