गुँला बाजामै बित्यो ३ दशक

प्रशान्त माली

ललितपुर — ठेंचो न्ह्यछेँ टोलका ५५ वर्षीय जितगोविन्द्र महर्जनको पुर्खाले गुँला बाजा बजाउँदै आएको तीन शताब्दी भयो । उनको पुस्ताले मल्लकालदेखि न्ह्यछेँ दाफा (एक प्रकारको बाजा) खलकमा कजी (व्यवस्थापक) को जिम्मेवार सम्हाल्दै आएका छन् ।

गुँला बाजामै बित्यो ३ दशक

खलकमा आबद्ध सदस्य मिलेर गुँला र यँला पर्वको अवसरमा एक महिना दाफा गाउने चलन छ ।

पुर्खाले जोगाउँदै आएको परम्परा धान्न अहिले उनी दैनिक दाफा गाउन खटिने गरेका छन् । दाफा गाउन उनलाई खिं बाजा बजाएर राजेन्द्र महर्जन र जगतबहादुर महर्जन, छुस्या, झ्याली र ता: बाजा बजाएर जितमेल महर्जन, ज्ञानबहादुर र कृष्ण महर्जनले साथ दिने गरेका छन् । दाफा गीत गाउन गुरुहरू दसलाल महर्जन, श्रीराम, ज्ञानभक्त सक्रिय छन् ।

ठेंचो तल्लो लाछी टोलस्थित ब्रह्मायणी सत्तलमा दाफा गाउन आउने क्रममा भेटिएका उनी भन्छन्, ‘बौबाजेको पालासम्म ८४ राग गाउँथ्यो । अहिले लोप हुँदै ३४ रागमा सीमित भएको छ । तैपनि गाउन छोडेका छैनौं ।’ उनका अनुसार पर्वको अवसरमा कुशेऔंसीमा ब्रह्मायणी मन्दिरमा रातभर बाजा बजाई पूजापाठ गर्नुपर्छ ।

‘त्यतिबेला फोखी (विशेष ताल) बजाइन्छ,’ उनले भने, ‘यो ताल गाएपछि नाथगुरुसमेत आएर नृत्य गर्ने जनविश्वास छ ।’ सिखछें दाफा खलकका कजी तुल्सीनारायण महर्जन र तुल्सीगोविन्द महर्जनको परिवारले पनि पुस्तौंदेखि दाफा गाउँदै आएका छन् ।

खलमा आबद्ध ४२ जना सदस्य छन् । उनीहरू मिलेर अहिले ठेंचोमा बिहान पालैपालो दाफा गाउँदै आएका छन् । नेवारहरू बाह्रै महिना सांस्कृतिक चाडपर्व मनाउँछन् । जीवनयापन गर्न आवश्यक खाद्यपदार्थ, लत्ताकपडा, विधि व्यवहार, आर्थिक सम्पन्नतालगायत आधारमा वैज्ञानिक रूपमा चाडपर्व व्यवस्थापन गरिएको हुन्छ ।

ऋतुअनुसार मनाइने विभिन्न पर्वमध्ये साउन शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिनासम्म मनाइने गुँला विशेष पर्वका रूपमा मनाइन्छ । प्रा. सुवर्ण शाक्य भन्छन्, ‘विक्रम संवत्मा नयाँ वर्ष वैशाख भनेजस्तै नेवारले कछला महिनालाई नयाँ वर्षका रूपमा मान्छन् । गुँला भनेको ऋतुअनुसार मनाइने १२ औं महिनामध्ये नवौं महिना हो । ‘गुँ’ को अर्थ नौ र ‘ला’ को महिना भन्ने बुझिन्छ ।’

उनका अनुसार गुँला महिनालाई सम्पूर्ण गुणयुक्त महिनाका रूपमा लिइन्छ । ‘गुन्हुला शब्द अपभ्रंश भएर गुनुला हुँदै गुँला भएको हो । मानिसले ११ महिनासम्म व्यवहार बस्दा चाहेर वा नचाहेर झुट बोल्ने र पाप गरेका हुन्छन् । यसलाई पखाल्न यो महिना व्रत बस्ने, दुष्कर्म छोडेर सुकर्म, पुण्य सञ्चय र दान गर्ने गर्छन्,’ उनले भने, ‘त्यसैले यस महिनालाई धर्ममास पनि भनिन्छ । यो अवधिसम्म जाँडरक्सी, माछामासु र बलि चढाउँदैनन् ।’

चार युगमध्ये मानिसले धर्म छोडिसकेको युगका रूपमा कलियुगलाई लिइन्छ । यसलाई अधर्म युग पनि भनिन्छ । सत्य युगमा सत्यकर्म गरेजस्तै अधर्म युगमा दुष्कर्म बढी हुन्छ । गुँला पर्वलाई दुष्कर्मको पाप भोग्न नपरोस् भनेर सौभाग्य लाभ प्राप्त गर्न धर्मकर्म गर्ने गुणयुक्त महिनाका रूपमा पनि लिइने उनको भनाइ छ ।

यो महिना इसापूर्व ५८८ मा सुरु भएको हो । शाक्य भन्छन्, ‘त्यतिबेला बुद्धले तपस्यामा बाधा दिन आउने मारगनहरूलाई जितेर सम्यक् सम्बोधित्व प्राप्त गरेको उपलक्ष्यमा यो धर्म परम्परा मान्न थालेको हो ।’ पर्वमा विशेष गरेर एकै पटक खि, धा:, सिङभेरि, मृदंग, झ्याली गरेर नौ बाजा, नौ ग्रन्थ, नौ प्रकारका गेडागुडी खाने र नौ प्रकारकै पोसाक लगाउने चलन छ ।

यी बाजा बजाउनाले सुषुप्त अवस्थामा रहेको मनलाई जागृत गराउने जनविश्वास छ । यो बौद्ध कला सम्पदा प्रदर्शन गर्ने महिना पनि हो । मानिसहरू उपत्यकाका विभिन्न धार्मिक स्थलमा गएर बुद्धको स्तोत्र पाठ गर्छन् ।

बुद्ध गुनलाई अनुकरण गरेर आफू पनि उद्धार हुने कामना गर्छन् । ज्योति उत्पन्न भएको स्वयम्भूस्थित गोश्रृंग पर्वतमा प्रार्थना पूजा गरेर वाद्यवादन बजाएर खुसी मनाउने चलन छ ।

प्रकाशित : भाद्र २३, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?