बेवारिसे राख्न ‘बा–आमा घर’

ललितपुर — उनी लास देखेर डराउँदैनन् । बेवारिसे शवहरूमा आफ्नै हातले दागबत्ती पनि दिन्छन् । यस्ता फरक व्यक्ति हुन् महालक्ष्मी नगरपालिका–७ चाँगाथलीका विनयजंग बस्नेत । उनले अहिलेसम्म १ सय ४५ वटा बेवारिसे शवको दाहसंस्कार गरिसकेका छन् ।

बेवारिसे राख्न ‘बा–आमा घर’

यसका लागि आफैंले चार वर्षदेखि अस्पताल, सडक, मठमन्दिर र पाटीमा भेटिएका बेवारिसे शव प्रहरीको सहयोगमा जम्मा पर्दै आइरहेका छन् ।


बेवारिसे शवको दाहसंस्कारमात्र होइन, उनी बाटोमा देखिएका बेवारिसेलाई पनि छिटो अस्पताल पुर्‍याएर उपचारसमेत गराइदिन्छन् । उनले राजधानीका विभिन्न स्थानबाट ५ जना बेवारिसेलाई उद्धार गरेर मानव सेवाका नाममा खोलिएका विभिन्न आश्रममा पुर्‍याउन खोजे । तर कसैले राख्न चाहेनन् । र, उपचार गराउन चाहिने पैसा जुटाउन साथीभाइकहाँ गुहार मागे । अनि आफूसँग भएको थपथाप गरेर बेवारिसेहरूलाई टीकाथलीमा राखेर उपचार गराए । यस्तो घटना उनले धेरै पटक व्यहोरिसकेका छन् । उनी सकभर सबैलाई उपचार गराउन पाए हुन्थ्यो भन्ने चाहना राख्छन् ।


तर, बस्नेतसँग समाज सेवा गर्ने ठूलो आश्रम भने छैन । बस्नेतले कौशलटारका ५२ वर्षीय किरण पन्तलाई दुई महिनाअघि आकाशेपुलमुनि बेवारिसे अवस्थामा भेट्टाए । त्यतिबेला पन्त अत्यधिक जाँडरक्सी सेवनका कारण अचेत अवस्थामा थिए । अहिले उनी राम्रोसँग बोल्न र हिंड्न सक्ने भएका छन् । केही दिनअघि एउटा रेडियोले लागूपदार्थ दुव्र्यसनीविरुद्ध जनचेतनामूलक कार्यक्रममा उनको अन्तर्वार्ता पनि लियो । बेवारिसेलाई आश्रय दिने उद्देश्यले बस्नेतले चाँगाथलीमा आफ्नो ७ आना जग्गा ‘बा–आमा घर’ बनाउन दिने निर्णय गरेका छन् । बस्नेत भन्छन्, ‘जाँडरक्सीको उपचार सम्भव छ । दुव्र्यसनीलाई हेला होइन, माया गरौं ।’


बुवाको मुख हेर्ने दिन पारेर आइतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उक्त जग्गामा आश्रम बनाउन शिलान्यास गरेकी छन् । मन्त्री थापा भन्छिन्, ‘दिउँसो ज्येष्ठ नागरिक एक ठाउँमा भेला हुने गरी दिवा आश्रम बनाउन भनेर स्थानीय तहमा अनुदान पठाएका छौं । मन्त्रालयले सकेसम्म आमाबुवालाई आश्रममा भन्दा छोराछोरीले नै पाल्ने वातावरण बनाइरहेका छौं ।’ उनले ज्येष्ठ नागरिक ऐन संशोधन गरेर संसद्मा पेस गर्ने क्रममा रहेको बताइन् । ‘बेवारिसे हुन नदिन परिवारले जिम्मेवारी लिनुपर्छ,’ उनले भनिन्, ‘सन्तान नभएकाहरूको हकमा सरकारले जिम्मेवारी लिनुपर्छ । बूढाबूढीलाई दिँदै आइरहेको मासिक भत्ता बढाउने तयारी भइरहेको छ ।’


ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बेवारिसे व्यवस्थापन गर्न दरबन्दी रकम सहज ढंगबाट निकासा गरिने बताए । ‘बेवारिसे राखिने ‘बा–आमा घर’ बनाउन सक्दो सहयोग गर्नेछु,’ उनले भने । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले पनि ‘बा–आमा घर’ बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित : भाद्र २५, २०७५ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?