इन्द्रजात्राको लिङ्गो काट्न हिँडे मानन्धर टोली

काठमाडौँ — हनुमानढोका दरबारभित्रको नासलचोकमा मंगलबार बिहान मानन्धर समुदायको बाक्लो भीडभाड थियो । टाउकोमा सेतो फेटा बाँधेर जम्मा भएका मानन्धर समुदायकबाहेक सर्वसाधारणको पनि भीड थियो ।

इन्द्रजात्राको लिङ्गो काट्न हिँडे मानन्धर टोली

ठूलो संख्यामा पर्यटक जम्मा भएका थिए । संघीय संसद्का सांसदलगायत पनि जम्मा भएका थिए । गुरुजी पल्टनका सेना कालो पोसाक लगाएर तैनाथ थएका थिए । काठमाडौंको मुख्यजात्रा इन्द्रजात्राको लागि लिङ्गो काट्न हिंड्ने साइत थियो ११ बजेर ४९ मिनेट । त्यही साइतमा गुरुजी पल्टनका सहायक पण्डित हुँदा ईश्वरप्रसाद अधिकारीले सुरुमा गुरुजीका पल्टनका सेनालाई टीका लगाएर बिदा गरे । सेनालाई बिदा गरेपछि मानन्धर समुदायलाई बिदा गरे पण्डितले ।


‘हनुमानाढोका दरबारको पश्चिमतिर पञ्चमुखी हनुमानको मूर्ति भएको ढोकाबाट एक–एक गरेर निस्कँदै गर्दा केन्द्रीय मानन्धर संघका सचिव गजेन्द्रमान मानन्धरले भने, ‘अब यहाँबाट बिदा भएपछि लिङ्गो नल्याएसम्म हामी भित्र छिर्नु हुँदैन ।’ इन्द्रजात्रामा विभिन्न जातजाति मिलेर व्यवस्थापन गर्छन् । त्यसमध्ये लिङ्गो व्यवस्थापन गर्ने काम मानन्धर समुदायको हो । भाद्र शुक्ल द्वितीय तिथिमा लिङ्गो काट्ने साइत जुराइन्छ । लिङ्गो लिन नालाको जंगलमा जाने चलन छ ।


द्वितीय तिथिको राति ९:२१ को साइत निस्किएको काट्ने । ‘पहिला यहाँबाट (हनुमानढोका) बाट हिँडेरै जाने चलन थियो । त्यही भएर काट्ने साइत बेलुकाको निकालिने गरिएको हो,’ मानन्धरले भने, ‘अचेल गाडीबाट गइन्छ । बिहानको साइत गरियो, अब बेलुका पुग्ने गरी गाडीमै गइन्छ । आज बेलुका विधि पुर्‍याइन्छ । बोको बलि दिइन्छ । रूख आजैचाहिं ढालिंदैन । किनभने खाल्डोतिर पर्ने डर हुन्छ । विधिपूर्वक चोट लगाएर बिहान काटिन्छ ।’ रूख छान्ने काम पनि शिवरात्रिमै सम्पन्न हुने मानन्धरले जानकारी दिए । तृतीय तिथिको बिहानबाटै लिङ्गो हिँडाइन्छ । यसलाई तानेरै ल्याउने चलन छ । ‘पहिला मानन्धरले मात्रै तान्ने चलन थियो,’ उनी भन्छन्, ‘अहिले अरूले पनि तान्छन् । उताका गाउँलेले पनि सहयोग गर्छन् ।’


दुई दिन हिँडाएर भोटाहिटीमा राख्ने चलन छ । भोटाहिटीबाट उठाउने काम धालासीको मानन्धरले गर्छन् । काय अष्टमी तिथिमा भोटाहिटीबाट हनुमानढोका दरबार लैजान गरिन्छ । कायअष्टमीमा हनुमानढोका ल्याइएको लिङ्गोलाई एकादशी तिथिमा डोरीले बाँधिन्छ । द्वादशीका दिन सबै मानन्धर मिलेर लिङ्गो उठाउँछन् । अनि इन्द्रजात्राको रौनक सुरु हुन्छ,’ मानन्धर भन्छन्, ‘इन्द्रजात्रको सुरु गर्ने काम पनि मानन्धरले गर्छन् । अन्त पनि लिङ्गो ढालेर मानन्धरले नै गर्छन् ।’


वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरेर यो पर्व मनाइन्छ । काठमाडौंमा मनाइने जात्रामध्येमा यो रमाइलो जात्रा मानिन्छ । भाद्र शुक्ल द्वितीय तिथिमा काभ्रेको उग्रचण्डी नालाको जंगलमा लिङ्गोका लागि काठ काट्न गुरुजु पल्टनसहित वनयात्रामा प्रस्थान गर्ने चलन छन् । जंगलमा कालो बोको छाडेपछि त्यसले जुन रूख छुन्छ त्यही रूख विधिपूर्वक काटेपछि इन्द्रध्वजाको लिङ्गो तयार पारिन्छ । एकादशीमा लिङ्गो नगर प्रवेश गराइन्छ । पूर्णिमामा लिङ्गो उठाएपछि इन्द्रजात्रा विधिवत् सुरु हुन्छ । विभिन्न देवीदेवताको प्रदर्शन, सांस्कृतिक बाजागाजा, झाँकीसहित ८ दिन मनाएपछि इन्द्रजात्रा सकिन्छ ।


इन्द्रजात्रालाई ऐतिहासिक जात्राको रूपमा समेत मनाइन्छ । इन्द्र जात्रामा रमाइरहेको बेला गोरखाका राजा पृथ्वीनारायण शाहले कान्तिपुर आक्रमण गरेका थिए । विसं १८२५ असोज १३ गते राति गोरखाली सेनाले कान्तिपुरमा आक्रमण गरेका थिए । यस युद्धमा दुवैतिरका २०/२५ जनाको मृत्यु भएको इतिहास छ । गोरखालीको आक्रमणपछि जयप्रकाश मल्ल भागेर पाटन पुगे ।


त्यसको ११ दिनपछि पाटन पनि विजय गरेपछि जयप्रकाश भक्तपुरका राजा तेजनरसिंह मल्लकोमा शरण लिन पुगेका थिए । पाटन विजय गरेको एक महिनापछि भक्तपुरमा पनि आक्रमण गरे । यहाँ पनि जयप्रकाश घाइते भए । पृथ्वीनारायण शाहले जयप्रकाशको इच्छाअनुसार उनलाई आर्यघाट पुर्‍याइदिए । आर्यघाट गएको केही दिनमा जयप्रकाशको मृत्यु भयो ।

प्रकाशित : भाद्र २७, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?