१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बुबाबाटै बलात्कृत

ललितपुर — वनको बीचमा सुनसान ठाउँ । कोडु खोलाबाट पूर्वपट्टि २ सय मिटर ठाडो उकालो चढेपछि एकतले दुइटा घर छन् । दक्षिणपश्चिम क्षेत्रको घरमा छोरा–बुहारी सुत्थे । अर्कोमा आमा छोरी सुत्थिन् । भूकम्पले २ तले घर धराप बनेपछि एक तलामा बनाइएको घरमा साताअघि कसैले नसोचेको घटना भयो ।

बुबाबाटै बलात्कृत

आफैंले जन्माएकी १० वर्षीया छोरीलाई बाबुले बलात्कार गर्‍यो भन्दा पत्याउन गाह्रै पर्ला । तर, यही वास्तविकतापछि ३९ वर्षीय बुबालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानअगाडि बढाएको छ ।


बलात्कार घटनाको विरोधमा सोमबार बडिखेलस्थित पथप्रदर्शक माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय महिला समूह र प्रहरी मिलेर जनचेतनामूलक र्‍याली आयोजना गर्‍यो । र्‍यालीमा दोषीलाई सजाय दिन माग, बालबालिकासँग मानवीय व्यवहार गर्न, बालश्रम तथा बाल शोषण अन्त्य, महिला हिंसामुक्त समाज निर्माण गर्न माग गरियो ।


बलात्कृत बालिकाकी हजुरआमाका अनुसार घटना भएको दिन अर्थात् भदौ १८ गते सोमबार घरका सबै सदस्य खाना खाएर सुतिसकेका थिए । छोरा (बलात्कार गर्ने बुवा) ले जाँडरक्सी खाएर राति घर आए । उनले भनिन्, ‘जाँडरक्सी खाएपछि जथाभावी बोल्ने गथ्र्यो । कहिलेकाही कुटपिटसमेत गर्थो । तर, नातिनीलाई त्यस्तो गर्ला भनेर सोचेकी थिइनँ ।’


परिवारका अनुसार बाबुसँग बडिखेलस्थित ललित घुम्ती सडक नजिककै १४ आना जग्गा बेच्न बैना लिएको एक लाख रुपैयाँ थियो । उनका २ श्रीमतीतर्फ एक/एक छोरी छन् । श्रीमान्को बानीव्यहोराले गर्दा कान्छी श्रीमती अर्कैसँग हिँडिन् । जेठी माइती गएकी थिइन् । भावुक मुद्रामा रहेकी उनले सुनाइन्, ‘घरका कोही नभएको मौका छोपेर त्यस दिन कान्छी श्रीमतीपट्टिकी छोरीलाई पानी तताउन लगाउनुपर्छ भनी बोलाउन आएका थिए । नातिनी जान नमानेपछि जेठी श्रीमतीपट्टिकी छोरी भएको ठाउँमा गएका थिए ।’ ‘डेढ दुई घण्टापछि नातिनी रुँदै घर आइन् । पिसाबमा रगत मिसिएको थियो,’ उनले सुनाइन्, ‘छोराको पाप सहन नसकेर भोलिपल्ट प्रहरीकोमा उजुरी दिएँ ।’

बलात्कृत बालिकामा तर्सने, डराउने बर्बराउनेलगायतका समस्या देखापरेका छन् । उनी राम्रोसँग हिँड्न सक्दिनन् । उनलाई अहिले महिला आयोगलगायतका संघसंस्थाका प्रतिनिधि आएर आश्रयका लागि लगेका छन् ।


मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद १८ दफा २१९ मा कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्ष वर्षभन्दा कम उमेरका कुनै बालिकालाई करणी गर्न नहुने उल्लेख छ । यदि उक्त दफा उल्लंघन गरेको खण्डमा १० वर्षभन्दा कम उमेरकी बालिका भए १६ देखि २० वर्ष, १० देखि १४ वर्ष उमेरकी भए १४ देखि १६ वर्ष कैद सजाय हुने व्यवस्था छ ।


महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई म्याद थप गरेर अनुसन्धान भइरहेको बताए । ‘बयान भइसकेको छ । मेडिकल रिपोर्ट आजभोलिमा आउँछ,’ उनले भने, ‘त्यसपछि सरकारी वकिलसमक्ष मुद्दा दायर गर्न पेस गरिनेछ ।’


ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष मुकुन्द पहरी दोषीलाई कारबाही गर्नुपर्ने बताउँछन् । भन्छन्, ‘समाज विकास गर्न चेतनशील समुदायको आवश्यक पर्छ । कारबाहीले एक हदसम्म सिर्जना हुन्छ,’ उनले भने । स्थानीय विद्यालयमा कक्षामा ४ मा अध्ययरत उनी पढाइमा राम्रै थिइन् । अध्ययन गर्ने विद्यालयका प्रधानाध्यापकले बालिकाको परिवारलाई रकम संकलन गरेर आर्थिक सहयोग गर्ने तयारीमा रहेको बताइन् ।


जिल्लामा साउनयता मात्रै ७ बलात्कारका घटना दर्ता भएका छन् । महानगरीय प्रहरी परिसर जावलाखेलका अनुसार तीमध्ये ६ घटनामा आफन्त तथा चिनजानका व्यक्ति संलग्न छन् । चैतमा प्युटारमा काका पर्ने कृष्ण बम्जनले ७ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । जेठमा सानेपामा एक लिम्बु थरका व्यक्तिले १३ वर्षे बालिकालाई बलात्कार गरे ।

गत वर्ष धापाखेलका ४१ वर्षीय मामाले सातदोबाटो बस्ने १५ वर्षकी भान्जीलाई बलात्कार गरे । ती अभियुक्तलाई जिल्ला अदालतको आदेशअनुसार नख्खु कारागार पठाइएको छ । पछिल्लो समय बलात्कारका घटनामा हजुरबुबा उमेरका पनि संलग्न देखिएका छन् । गत वर्ष ललितपुर महानगरपालिकाको सानो खोकनामा १० वर्षकी नातिनीलाई ८४ वर्षका टेकबहादुर बस्नेतले बलात्कार गरेको थिए ।

प्रकाशित : भाद्र २७, २०७५ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?