अवैध खानी सञ्चालन: व्यवसायीकै पक्षमा कार्यविधि

संसदको प्राकृतिक स्रोत साधन समितिले स्थलगत अध्ययनपछि नल्लु क्षेत्रका ढुंगा खानी बन्द गर्नुपर्ने जनाए पनि हालसम्म सञ्चालनमा छन् ।
प्रशान्त माली

ललितपुर — लामो समयदेखि विवादमा रहेका ललितपुरको लेले, नल्लु क्षेत्रका खानी मापदण्डविपरीत भए पनि नियमित सञ्चालनमा छन् । २०६९ मा लेलेका १२ वर्षीय अर्जुन नगरकोटीको नल्लुमा सञ्चालित खानीको ढुंगाले लागेर मृत्यु भयो । मृतकका परिवारले ६ वर्ष बितिसक्दा पनि क्षतिपूर्ति भने पाएका छैनन् ।

गोदावरी नगरपालिका–७ देवीचौरमा सञ्चालित अवैध ढुंगाखानी ।

२०७१ मा लेले महादेव खोलामा सञ्चालित खानीमा पुरिएर ४ को ज्यान गयो । २०७५ मा टीकाभैरव क्षेत्रमा सञ्चालित ढुंगा खानीमा मकवानपुरका ३७ वर्षीय टिपर चालक देव मुक्तान, एस्काभेटर चालक २३ वर्षीय सन्तोष दाहाल र ३७ वर्षीय यूके लामा गम्भीर घाइते भए । खानीमा दुर्घटनाका घटना बढ्दै गइरहेका छन् ।


संसद्को प्राकृतिक स्रोत/साधन समितिले ६ वर्षअघि स्थलगत अध्ययनपछि नल्लु क्षेत्रका ढुंगा खानी बन्द गर्न र नख्खु खोलाको बहाव क्षेत्रमा भएको अतिक्रमण रोक्नुपर्ने निष्कर्ष निकाल्यो । सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, स्थानीय विकास मन्त्रालय, वन तथा भूसंरक्षण, उद्योग र वातावरण मन्त्रालयलाई निर्देशन दिइएको थियो ।

Yamaha


त्यतिबेला समितिले खानी सञ्चालन गर्न दिँदा जलउत्पन्न प्रकोप तथा जल प्रदूषण बढ्ने, पानीको स्रोत सुक्ने उल्लेख गरेको थियो । समितिले उक्त क्षेत्र भौगोलिक रूपमा पनि खानी सञ्चालन गर्न उपयुक्त नदेखिएको निष्कर्ष निकालेको थियो । समितिले एक वर्षभित्र त्यहाँ सञ्चालित उद्योगको वैकल्पिक व्यवस्था गर्न प्राविधिक अध्ययन गरी सिफारिसका आधारमा मात्र ढुंगा खानी सञ्चालनको इजाजत दिन निर्देशन दिएको थियो । तर, कार्यान्वयन भने हालसम्म भएको छैन ।


गोदावरी नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि खानी क्षेत्र छुटयाई सञ्चालन अनुमति दिने प्रतिबद्धता जनाए । २०७१ मा तत्कालीन जिल्ला विकास समितिमा बसेको सर्वदलीय बैठकले पनि खानी क्षेत्र घोषणा गरी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर, हालसम्म कार्यान्वयन भएको छैन । यसरी कानुनी बन्देज हुँदाहँुदै पनि गोदावरीका जनप्रतिनिधि र कर्मचारीले खानी क्षेत्र पहिचान गर्नुको साटो खानी सञ्चालन कार्यविधि २०७५ ल्याएको छ । जुन प्रदेश सरकारले पनि बनाइरहेको छ ।


प्रदेश ३ सरकारको उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्रालयका अनुसार खानी सञ्चालन कार्यविधि स्थानीय तहपिच्छे फरक बन्दा उपयुक्त नहुने जनाइसकेको छ । मन्त्रालयका प्रवक्ता गोपालप्रसाद गौतम भन्छन्, ‘बरु एउटा प्रदेशको नियमावली अर्को प्रदेशमा नमिल्न सक्छ । खानी कार्यविधि, नियमावली र निर्देशिका स्थानीय तहले बनाउँदा सर्वसाधारण जनता मर्कामा पर्न सक्छन् ।’ उनले स्थानीय तहले प्रदेश र केन्द्र सरकारले बनाएको नियम मात्र कार्यान्वयन गर्ने बताए । ‘प्रदेश सरकारले तयार पारेको खानीसम्बन्धी मस्यौदा अन्तिम चरणमा छ,’ उनले भने, ‘मन्त्रिपरिषद्मा पठाउने अन्तिम तयारी भइसकेको छ ।’


गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारीले खानीसम्बन्धी कार्यविधि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा अनुसार बनाइएको बताइन् । ‘स्थानीय तहलाई कार्यविधि बनाउने अधिकार ऐनले दिएको छ,’ उनको तर्क छ । गोदावरीले बनाएको कार्यविधि व्यवसायीमुखी भएको गुनासो छ ।


खानी तथा खनिज पदार्थ नियमावली २०५६ को परिच्छेद २ दफा ५ मा सामान्य खनिज पदार्थको अनुमतिपत्र लिन चाहने व्यक्तिले खनिज गर्न चाहेको कुल क्षेत्रका लागि प्रतिवर्ग किलोमिटर एक लाख रुपैयाँ र उत्खनन लागि खनिज गर्न चाहेको कुल क्षेत्रका लागि प्रतिवर्गकिलोमिटर १० लाख रुपैयाँको आर्थिक हैसियत भएको हुनुपर्ने व्यवस्था छ । तर, गोदावरीले बनाएको कार्यविधिमा आर्थिक र प्राविधिक हैसियत भएको हुनुपर्ने भन्ने मात्र उल्लेख छ ।


त्यस्तै नियमावली २०५६ को दफा १७ मा अति साना, साना, मझौला र ठूलास्तरका खनिज पदार्थका लागि क्रमश: १०, १५, २० र ३० वर्षको अवधिभित्र उत्खनन कार्य सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । लेले, नल्लु क्षेत्रमा सञ्चालित अति साना र सानास्तरका खानीको हकमा अवधि सकिइसकेको छ । यसबारे कार्यविधिमा भने उल्लेख छैन ।


कार्यविधिमा खनिज पदार्थ भण्डार गर्ने स्थलमा परिमाणको मापन गर्ने यन्त्र राख्नुपर्ने, भूसतहको सिमाना बाहिर हुने गरी उत्खनन नगर्ने, दुई वा दुईभन्दा बढी अनुमतिपत्रमा उल्लिखित क्षेत्रको सिमाना जोडिएमा २५ मिटर छोडेर खानी उत्खनन गर्नेजस्ता व्यवस्था हटाइएको छ ।


उत्खनन गर्दा खोलेको टोपा, टनेल खाल्टामा दुर्घटना नहुने गरी सुरक्षाको व्यवस्था गर्ने, दुर्घटना भएमा, व्यक्तिको मृत्यु भएमा, कसैको धनसम्पत्ति हानि नोक्सानी हुन गएमा वा हुन सक्ने सम्भावना देखिएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र विभागमा तुरुन्त सूचना दिने, आफ्नै खर्चमा खनिज क्षेत्रको सिमाना कायम गर्नेजस्ता व्यवस्था पनि कार्यविधिमा हटाइएको छ ।


त्यस्तै वन तथा वातावरण मन्त्रालयले विकास आयोजना कार्यान्वयन गर्नुपूर्व त्यस्ता आयोजना निर्माण वा कार्यान्वयनबाट भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणमा पर्न सक्ने प्रभावबारे मूल्यांकन गरेर प्रतिकूल प्रभाव न्यूनीकरणका उपाय अवलम्बन गर्न वातावरणीय प्रभाव मूल्यांकन गरिन्छ । कार्यविधिको परिच्छेद–४ मा वातावरणीय प्रभाव प्रतिवेदन भनी व्यवस्था गरिएको छ । तर, यसमा नगरपालिकामा छुट्टै वातावरण शाखा रहने र शाखाले फिल्डमा उपस्थित भई मुचुल्का तयार गरेर सँधियार, वडाको प्रतिनिधिसहित सुनुवाइ गरेर वातावरणीय प्रभाव प्रतिवेदन तयार पारिने उल्लेख छ ।


क्रसर उद्योगको हकमा नगरपालिका क्षेत्रमा स्थापना गर्न नपाइने, बफर जोनमा वृक्षरोपण, राजमार्ग र खोला किनारबाट ५/५ सय मिटर, शिक्षण, स्वास्थ्य संस्था र धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वका स्थानबाट २/२ किमि टाढा हुनुपर्ने कानुनी प्रावधान छ ।


वन, निकुञ्ज, आरक्षण र घनाबस्तीबाट २/२ किमि टाढा हुनुपर्ने कानुनी व्यवस्था छ । तर, गोदावरीले यसलाई बेवास्ता गरेको छ। खानी विभागका पूर्वउपमहानिर्देशक उत्तमबोल श्रेष्ठ भन्छन्, ‘गोदावरीले खरीढुंगा उत्खनन गर्न स्वीकृति दिने भएको छ । तर, खरीढुंगा उत्खनन गर्दा आँखाले नदेख्ने धूलो उड्ने र यसले स्वास्थ्यमा असर पर्ने कुरालाई ख्याल गरिएको छैन ।’


उनका अनुसार यो धूलो निकै हलुका हुने भएकाले जुन जमिनमा आउँदैन । ‘हावा उडिरहन्छ,’ उनले भने, ‘यो खाएमा डाक्टरले समेत पत्ता लगाउन नसक्ने छातीमा रोग लाग्छ । खनिज पदार्थ उत्खनन गर्दा आर्थिक सबलको पक्षलाई मात्र ध्यानमा दिएर हुँदैन ।’ गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासिनीले खानीमा मापदण्ड खुकुलो बनाएको नभई राजस्वमा बढाएको दाबी गरे । ‘खानी सञ्चालन गर्न खानी विभाग, घरेलु र नगरपालिकाको सिफारिस अनिवार्य गरेका छौं,’ उनले भने।

Esewa Pasal

प्रकाशित : भाद्र २७, २०७५ ०९:१४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गुँला बाजामै बित्यो ३ दशक

प्रशान्त माली

ललितपुर — ठेंचो न्ह्यछेँ टोलका ५५ वर्षीय जितगोविन्द्र महर्जनको पुर्खाले गुँला बाजा बजाउँदै आएको तीन शताब्दी भयो । उनको पुस्ताले मल्लकालदेखि न्ह्यछेँ दाफा (एक प्रकारको बाजा) खलकमा कजी (व्यवस्थापक) को जिम्मेवार सम्हाल्दै आएका छन् ।

खलकमा आबद्ध सदस्य मिलेर गुँला र यँला पर्वको अवसरमा एक महिना दाफा गाउने चलन छ ।

पुर्खाले जोगाउँदै आएको परम्परा धान्न अहिले उनी दैनिक दाफा गाउन खटिने गरेका छन् । दाफा गाउन उनलाई खिं बाजा बजाएर राजेन्द्र महर्जन र जगतबहादुर महर्जन, छुस्या, झ्याली र ता: बाजा बजाएर जितमेल महर्जन, ज्ञानबहादुर र कृष्ण महर्जनले साथ दिने गरेका छन् । दाफा गीत गाउन गुरुहरू दसलाल महर्जन, श्रीराम, ज्ञानभक्त सक्रिय छन् ।

ठेंचो तल्लो लाछी टोलस्थित ब्रह्मायणी सत्तलमा दाफा गाउन आउने क्रममा भेटिएका उनी भन्छन्, ‘बौबाजेको पालासम्म ८४ राग गाउँथ्यो । अहिले लोप हुँदै ३४ रागमा सीमित भएको छ । तैपनि गाउन छोडेका छैनौं ।’ उनका अनुसार पर्वको अवसरमा कुशेऔंसीमा ब्रह्मायणी मन्दिरमा रातभर बाजा बजाई पूजापाठ गर्नुपर्छ ।

‘त्यतिबेला फोखी (विशेष ताल) बजाइन्छ,’ उनले भने, ‘यो ताल गाएपछि नाथगुरुसमेत आएर नृत्य गर्ने जनविश्वास छ ।’ सिखछें दाफा खलकका कजी तुल्सीनारायण महर्जन र तुल्सीगोविन्द महर्जनको परिवारले पनि पुस्तौंदेखि दाफा गाउँदै आएका छन् ।

खलमा आबद्ध ४२ जना सदस्य छन् । उनीहरू मिलेर अहिले ठेंचोमा बिहान पालैपालो दाफा गाउँदै आएका छन् । नेवारहरू बाह्रै महिना सांस्कृतिक चाडपर्व मनाउँछन् । जीवनयापन गर्न आवश्यक खाद्यपदार्थ, लत्ताकपडा, विधि व्यवहार, आर्थिक सम्पन्नतालगायत आधारमा वैज्ञानिक रूपमा चाडपर्व व्यवस्थापन गरिएको हुन्छ ।

ऋतुअनुसार मनाइने विभिन्न पर्वमध्ये साउन शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिनासम्म मनाइने गुँला विशेष पर्वका रूपमा मनाइन्छ । प्रा. सुवर्ण शाक्य भन्छन्, ‘विक्रम संवत्मा नयाँ वर्ष वैशाख भनेजस्तै नेवारले कछला महिनालाई नयाँ वर्षका रूपमा मान्छन् । गुँला भनेको ऋतुअनुसार मनाइने १२ औं महिनामध्ये नवौं महिना हो । ‘गुँ’ को अर्थ नौ र ‘ला’ को महिना भन्ने बुझिन्छ ।’

उनका अनुसार गुँला महिनालाई सम्पूर्ण गुणयुक्त महिनाका रूपमा लिइन्छ । ‘गुन्हुला शब्द अपभ्रंश भएर गुनुला हुँदै गुँला भएको हो । मानिसले ११ महिनासम्म व्यवहार बस्दा चाहेर वा नचाहेर झुट बोल्ने र पाप गरेका हुन्छन् । यसलाई पखाल्न यो महिना व्रत बस्ने, दुष्कर्म छोडेर सुकर्म, पुण्य सञ्चय र दान गर्ने गर्छन्,’ उनले भने, ‘त्यसैले यस महिनालाई धर्ममास पनि भनिन्छ । यो अवधिसम्म जाँडरक्सी, माछामासु र बलि चढाउँदैनन् ।’

चार युगमध्ये मानिसले धर्म छोडिसकेको युगका रूपमा कलियुगलाई लिइन्छ । यसलाई अधर्म युग पनि भनिन्छ । सत्य युगमा सत्यकर्म गरेजस्तै अधर्म युगमा दुष्कर्म बढी हुन्छ । गुँला पर्वलाई दुष्कर्मको पाप भोग्न नपरोस् भनेर सौभाग्य लाभ प्राप्त गर्न धर्मकर्म गर्ने गुणयुक्त महिनाका रूपमा पनि लिइने उनको भनाइ छ ।

यो महिना इसापूर्व ५८८ मा सुरु भएको हो । शाक्य भन्छन्, ‘त्यतिबेला बुद्धले तपस्यामा बाधा दिन आउने मारगनहरूलाई जितेर सम्यक् सम्बोधित्व प्राप्त गरेको उपलक्ष्यमा यो धर्म परम्परा मान्न थालेको हो ।’ पर्वमा विशेष गरेर एकै पटक खि, धा:, सिङभेरि, मृदंग, झ्याली गरेर नौ बाजा, नौ ग्रन्थ, नौ प्रकारका गेडागुडी खाने र नौ प्रकारकै पोसाक लगाउने चलन छ ।

यी बाजा बजाउनाले सुषुप्त अवस्थामा रहेको मनलाई जागृत गराउने जनविश्वास छ । यो बौद्ध कला सम्पदा प्रदर्शन गर्ने महिना पनि हो । मानिसहरू उपत्यकाका विभिन्न धार्मिक स्थलमा गएर बुद्धको स्तोत्र पाठ गर्छन् ।

बुद्ध गुनलाई अनुकरण गरेर आफू पनि उद्धार हुने कामना गर्छन् । ज्योति उत्पन्न भएको स्वयम्भूस्थित गोश्रृंग पर्वतमा प्रार्थना पूजा गरेर वाद्यवादन बजाएर खुसी मनाउने चलन छ ।

प्रकाशित : भाद्र २३, २०७५ ०८:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT