१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

पेटीमै बेड राखेर उपचार

फातिमा बानु

काठमाडौँ — थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा दिनहुँ बिरामी र गर्भवतीको चाप बढ्दो छ । चाप धान्न नसक्दा अस्पतालले पेटीमा न्यानो म्याट्रेस ओछ्याएर सेवा दिइरहेको छ ।

पेटीमै बेड राखेर उपचार

अस्पतालकी प्रशासन प्रमुख रानु थापा भन्छिन्, ‘यहाँ आइसकेपछि हामीले अन्त कतै रिफर गर्न मिल्दैन, कोही फिर्ता जाँदैन, आएजति सबै बिरामीलाई जसोतसो सेवा दिन्छौं ।’

बढ्दो गर्मीका कारण शल्यक्रिया गरिएका बिरामीको घाउ ढिलो निको हुने हुँदा बिरामीको ‘डिस्चार्ज’ पनि ढिलो हुन्छ । भर्ना गर्नुपर्ने नयाँ बिरामीले पालो पाउन कुर्नपर्ने अवस्था छ । केही दिनयता राजधानीको फोहोर नउठ्दा आलो घाउमा संक्रमण बढेपछि ‘डिस्चार्ज’ भइसकेका बिरामी पनि पुन अस्पताल आउने क्रम बढ्दो छ ।

तीन वर्षअघिको भूकम्पका कारण ६० वर्ष पुरानो प्रसूति गृहको मुख्य भवन कामै नलाग्ने भयो । त्यसयता उपचार सेवा प्रवाहमा समस्या छ । भूकम्पअघि ४ सय १५ बेडमा सञ्चालित अस्पताल भूकम्पपछि ३ सय ५० मा सीमित छ । अस्पतालको आकस्मिक कक्षमै बेड अभाव भइरहन्छ । अस्पतालले पेटीमै बेड थपेर पनि उपचार सेवा दिइरहेको छ ।

भवन काम नलाग्ने भएपछि शैक्षिक प्रयोजनका लागि निर्माण गरिएको भवनमा समेत सेवा दिन सुरु गरिएको छ । पुरानो भवनको आकस्मिक कक्ष, ब्लड बैंक, आईसीयू सबै सारिएको छ । बिरामीको चाप कम गर्न अस्पतालले यस वर्षदेखि ललितपुरको भैंसेपाटीमा शाखा खोलेर सेवा दिन सुरु गरिसकेको छ ।

बिरामीको चाप बढेकै कारण अस्पतालको भण्डारण कोठा र प्रयोगमा नआएका कोठामा समेत म्याट ओछ्याएर सेवा दिइरहेको अस्पतालको भनाइ छ । भवन भत्किएसँगै बिरामी र कर्मचारी दुवैले सास्ती खेपिरहनु परेको थापा बताउँछिन् ।

सीमित श्रोतसाधन हुँदा पनि अभावबीच अस्पतालले महिला प्रजनन स्वास्थ्य तथा नवजात शिशु स्वास्थ्यका लागि विभिन्न तालिम, अनुसन्धान कार्यलाई अघि बढाइरहेको छ । अस्पताल नमुना केन्द्र र सरकारको मुख्य तालिमकेन्द्रका रूपमा स्थापित छ । अस्पतालजन्य संक्रमित व्यवस्थापन आफैं गर्दै आइरहेको छ । जोखिमरहित फोहोर बेचेर अस्पताललले मासिक ५० हजार रुपैयाँ आर्जन गरेको छ ।

गर्भवती महिलाले लामो समय लाइनमा उभिन नपरोस् भनेर यसै वर्षबाट अस्पतालले टोकन प्रणाली लागू गरेको छ । आफ्नै फार्मेसी तथा नि:शुल्क गर्भपतन सेवा पनि अस्पतालका नयाँ र उपलब्धिमूलक सेवा हुन् ।

आमा सुरक्षा कार्यक्रम, नवजात शिशु उपचार, पाठेघर उपचारमा अस्पतालले विशेष सेवा दिँदै आइरहेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत अस्पतालले स्त्रीरोग सम्बन्धी स्नातकोत्तर र प्रसूति नर्सिङ (मिडवाइफ) कक्षा चलाइरहेको छ । अस्पतालमा वार्षिक २० हजारको हाराहारीमा प्रसूति हुने गरेको छ भने ६ हजार मुख्य शल्यक्रिया हुन्छन् ।

प्रमुख थापा भन्छिन्, ‘यो वर्ष आमा सुरक्षा कार्यक्रमअन्तर्गत दिइने रकम बढेकाले पनि होला, यही अस्पतालमा प्रसूति गराउनेको चाप बढेको छ,’ उनले जुनसुकै अवस्थामा पनि बिरामीलाई सेवा नदिई नफर्काउने बताइन् । अस्पतालमा राजधानी बाहिरबाट जटिल गर्भवतीका बिरामी तथा अन्य अस्पतालबाट रिफर भएर पनि आउने गरेका छन् । उनी भन्छिन्, ‘विशेषगरि धादिङ, नुवाकोट, काभ्रे र रामेछापबाट बढी रिफर भएर आउने गरेका छन् । अस्पतालमा दैनिक औसतमा ६० महिलाको प्रसूति गराइन्छ । दैनिक ८० को हाराहारीमा नयाँ बिरामी थपिन्छन् ।’

प्रसूति गृहमा बिरामीको बढ्दो चापलाई ध्यान दिँदै अस्पतालले सेवा थप गर्न लागेको निर्देशक डा.जागेश्वर गौतमले बताए । एमआरआई उपकरण, प्रसूति र अन्य शल्यक्रियाका लागि छुट्टाछुट्टै शल्यक्रिया कक्ष, नवजात शिशु उपचारको अध्ययन, रोबोटबाट शल्यक्रिया सेवा अस्पतालका नयाँ योजनामा छन् ।

भूकम्पले भत्काएको प्रसूति गृहको भवन जापान सरकारको सहयोगमा पुननिर्माण भइरहेको छ । अर्को वर्षसम्म भवन हस्तान्तरण भइसक्ने उनले जनाए । नयाँ भवन बनेसँगै चाप व्यवस्थापनमा सहज हुने गौतमले बताए ।

प्रकाशित : भाद्र २८, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?