१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स्मार्ट लाइसेन्स छाप्ने जिम्मा मालिकालाई दिइँदै

मुलुकभरबाट दैनिक ४ हजार कार्डको माग
४५ दिनभित्र ५ लाखभन्दा बढी कार्ड छाप्ने सहमति
दीपेन्द्र विष्ट

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्ने ठेक्का मालिका इन्कर्पोरेटलाई दिने तयारी गरेको छ । मालिका अमेरिकामा स्मार्ट लाइसेन्स छाप्ने जेब्रा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता हो ।

स्मार्ट लाइसेन्स छाप्ने जिम्मा मालिकालाई दिइँदै

यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालका अनुसार ५ लाखभन्दा बढी कार्ड छाप्ने जिम्मा मालिकालाई दिन लागिएको छ । विभागले फास्ट ट्रयाकबाट छपाउन विभिन्न प्रिन्टिङ कम्पनीलाई अनुरोध गरेको थियो । त्यसपछि ७ वटा कम्पनीलाई अनुरोध गरे पनि मालिका प्रिन्टिङ गर्न इच्छुक देखिएपछि त्यसलाई छनोट गरिएको उनले बताए । ‘प्रतिकार्ड १५ रुपैयाँमा छाप्ने भनेपछि छनोट गरेका हौं,’ उनले भने, ‘त्यससम्बन्धी प्रस्ताव मन्त्रालयमा पठाएका छौं ।’


मालिकाले २० वटा प्रिन्टर प्रयोग गरी पाइपलाइनमा रहेका करिब ५ लाख स्मार्ट लाइसेन्स छाप्ने छ । ढकालले एक वर्षदेखि छाप्न नसकिएका सबै कार्ड छापिने उल्लेख गर्दै अब सेवाग्राहीले लाइसेन्सको झन्झटबाट मुक्ति पाउने बताए । विभागमा भएका प्रिन्टरले मागअनुुसार कार्ड छाप्न नसकेपछि बाहिरी कम्पनीलाई ठेक्का दिन लागिएको हो । मालिकालाई कार्ड छाप्न दिने प्रस्ताव अन्तिम स्वीकृतिका लागि मन्त्रालयद्वारा मन्त्रिपरिषद्मा लगिने जानकारी उनले बताए ।


एसियाली विकास बैंक (एडीबी) को १५ करोड रुपैयाँको सहयोगमा सन् २०१३ अक्टोबरमा सुुरु भएको इन्फर्मेसन कम्युुनिकेसन टेक्नोलोजी (आईसीटी) परियोजनाअन्तर्गत स्मार्ट कार्ड ड्राइभिङ लाइसेन्स लागू भएको उनले बताए ।


विभागले २०७२ मंसिरदेखि वाग्मती अञ्चलबाट स्मार्ट लाइसेन्स वितरण सुुरु गरेको थियो । हाल मुलुकभर स्मार्ट कार्ड लागू भइसकेको छ । त्यसपछि ग्लोबल टेन्डर आह्वान गरी विभागले मद्रास सेक्युरिटी प्रिन्टर्सलाई कार्ड छाप्ने जिम्मा दिएको थियो । विभागले पहिलोपटक स्मार्ट कार्ड छाप्न सुरु गर्दा १ लाख ६० हजार र पुन: तीनपटक गरी ४ लाख ८ हजारभन्दा बढी कार्ड प्राप्त गरेको थियो ।


पहिलो चरणमा मद्रासले ५ वटा प्रिन्टर खरिद गरेको थियो । ती प्रिन्टरबाट मद्रासले ७ लाख कार्ड छाप्ने जिम्मा पाएको थियो । पहिला खरिद गरेका प्रिन्टरले दैनिक ४ सय र नयाँ एक प्रिन्टरले दैनिक एक हजार स्मार्ट कार्ड छाप्ने गरेको विभागले दाबी गरे पनि स्रेवाग्राहीको बढ्दो मागलाई पूरा गर्न सकेको छैन । मुलुकभरबाट दैनिक ४ हजार सेवाग्राहीले कार्डको माग गर्दै आएका छन् ।


विभागका अनुसार इन्कर्पोरेटले प्रयोग गर्ने प्रिन्टरको जम्मा मूल्य भ्याटबाहेक ६ लाख ७५ हजार रुपैयाँ हो । यसरी प्रिन्टरको ५ लाख रुपैयाँ र इन्कुुडर (चिप्स राख्ने मेसिन) १ लाख ७५ हजार रुपैयाँ हो । ‘पहिले त सस्तो भयो भनेर मालिकाले मानेको थिएन’ विभागका एक अधिकारीले भने, ‘पछिल्लो समय इन्कर्पोरेटले अनुरोध मानेको छ, उससित ४५ दिनभित्र ५ लाखभन्दा बढी कार्ड छाप्ने सहमति भएको छ ।’


इन्कर्पोरेटले फर्मल (स्मार्ट लाइसेन्सको कार्ड) छाप्न प्रयोग हुुने प्रविधिका आधारमा स्मार्ट लाइसेन्स छपाइ गर्ने ती अधिकारीले बताए । मद्रासले रेजर इन्ग्रेडिङ प्रविधिका आधारमा कार्ड छाप्ने गरेको उनले बताए । ‘फर्मल प्रविधि आधुनिक प्रविधि हो,’ ती अधिकारीले भने, ‘फर्मल प्रविधिबाट लाइसेन्स छाप्दा चिप्स उप्किने समस्या आउँदैन । ’

प्रकाशित : भाद्र २८, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?