१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फेरिँदै गयो तीज : व्रतालु

‘हाम्रो समयमा छोरीचेलीको व्यथा सुनाउने गीत गाइन्थ्यो, अहिले दोहोरी धेरै बजाएर नाच्छन्’
लीला श्रेष्ठ

भक्तपुर — डोलेश्वर मन्दिर परिसरमा तीजका व्रतालुमाझ भेटिइन्, दधिकोटकी ४४ वर्षीया शारदा खड्का ।
उनी आफ्नी छोरीलाई साथमा लिई मन्दिर आएकी थिइन् । मन्दिर परिसरमा स्पिकरमा दोहोरी गीत बजिरहेको थियो ।

फेरिँदै गयो तीज : व्रतालु

महिलाहरू त्यही गीतमा झुम्मिदै नाच्दै थिए । त्यही भीडबाट फुत्त निस्किएकी खड्का खिन्न देखिइन् । ‘हाम्रो समयमा छोरीचेलीको व्यथा सुनाउने गीत गाइन्थ्यो, अहिले दोहोरी धेरै बजाएर नाच्छन्,’ उनले भनिन्, ‘तीज अब उस्तै रहेन ।’


बाह्र वर्षको उमेरदेखि खड्काले तीजको व्रत लिँदै आएकी हुन् । अहिले उनीसँगै उनकी छोरी पनि तीजमा व्रत बस्छिन् । तर आफ्नो छोरी पुस्ताले मनाउने तीज फेरिएको महसुस गरेकी छन् । उनले भनिन्, ‘पहिले निराहार पानी समेत नखाई बसिन्थ्यो, अहिले हाम्रा छोरीहरू पानी खान्छन् ।’ हिजोआज तीज आउनुभन्दा हप्तौंअघिदेखि दर खाने चलनप्रति पनि उनी असन्तुष्ट देखिइन् । वेदना र बिलौनाका भाका छोडेर आकर्षक पहिरन अनि उत्तेजक र उन्मुक्त भंगीमा प्रस्तुत भइरहेका गीतले संस्कृतिलाई हास्यास्पद ढंगमा उडाइरहेको उनी बताउँछिन् ।


सिपाडोलकी ६५ वर्षीया जमुना थापालाई तीज मनाएको लामो अनुभव छ । भाउजूले व्रत बसेको देखेर सात/आठ वर्षको उमेरमा नै आफूले तीजमा व्रत बस्न सुरु गरेको उनले सुनाइन् । ‘आमाको अनुहार समेत याद छैन, म वर्षदिनको हुँदा आमाको मृत्यु भयो,’ उनले भनिन्, ‘दिदी/भाउजूसँगै मन्दिर जान पाउने आसले तीजको व्रत बसिन्थ्यो ।’


थापाले पनि पछिल्ला वर्षहरूमा तीज मनाउने तौरतरिका धेरै फेरिएको पाएकी छन् । ‘त्यति बेला तीज र दरको विशेष महत्त्व हुन्थ्यो,’ उनी स्मरण गर्छिन् । महिलाहरू सौभाग्यको सूचक चुरा, पोते, धागो, रातो पहिरन र चोलीमा सजिएर रातो टीकाको साथमा व्रत बस्ने प्रचलन छ । तर, शरीर ढाक्ने गरी लगाएका सुनचाँदीका गहनाहरू, रंगीचंगी साडी, लेहेंगा तथा पार्टी प्यालेसका स्न्याक्स र ड्रिंक्सका विविध रूपले वास्तविक तीजको मोह हराउँदै गएको स्थानीय महिलाहरू बताउँछन् ।


तीजलाई तडकभडक नगरी, संस्कृति जोगाउने तरिकाले मनाउनुपर्ने कतिपय महिलाहरू बताउँछन् । संस्कृतिको निरन्तरता, जगेर्ना भन्दा पनि रमाइलोका लागि भड्किलो तीज मनाउने चलन बढेको दधिकोटकी रीता खड्का बताउँछिन् । ‘विगतमा एक दिन खाइने दर एक महिना अघिदेखि खान थालिएको छ,’ उनले भनिन्, ‘तीजको व्रतमा एक दिन नाचिने नाच धेरै अगाडिदेखि नाच्न थालेपछि तीज भड्किलो हुँदै गएको छ ।’ महिलाहरू समूह/समूह बनाई चन्दा उठाएर महिना दिनदेखि दर खाने, तीज मनाउने परम्पराले समाजमा विकृति भित्रिएकोमा उनले दु:ख व्यक्त गरिन् ।


हरितालिका तीज दिदीबहिनीहरू माइतीमा जम्मा भई अघिल्लो दिन दर खाने, दु:ख/सुखको गीत गाउने, सुख/दु:ख साटासाट गर्दै रमाइलो गर्ने चाड हो । ‘पछिल्लो समय तीज झडिलो बन्दै गएको छ,’ चाँगुनारायणकी सुशीला लामिछानेले भनिन्, ‘केही वर्षयता तीज अत्यधिक भड्किलो बन्दै गएको छ, समाजमा अपाच्य बन्दै गएको छ ।’


दिदी/बहिनीबीच एक–आपसमा सुख–दु:ख साटासाट गर्नेभन्दा पनि नयाँ, महँगा गहना र साडी प्रदर्शन गर्ने चाडको रूपमा विकास हुँदै गएको उनले बताइन् । महँगा र धेरै गहना लगाउने देखासिकी बढ्नु दुर्भाग्य भएको उनको भनाइ छ ।

प्रकाशित : भाद्र २८, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?