३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

निद्रा पुग्छ, गन्तव्यमा पुगिन्न

भक्तपुर — दिउँसो २ बजेको थियो । चाँगुनारायण ३ झौखेलकी रीता थापा बिहीबार हतारहतार भक्तपुर दूधपाटीबाट बागबजारसम्म चल्ने बस चढिन् ।

निद्रा पुग्छ, गन्तव्यमा पुगिन्न

घरी घडीतिर आँखा डुलाउँथिन् त घरी झ्यालबाट टाउको निकालेर बाहिरको जाम नियाल्थिन् उनी । ३ बजे पुतलीसडक पुग्नुपर्ने भन्दै सुस्काइरहेकी उनी ३ बज्दा लोकन्थलीमै थिइन् ।


उनी मात्रै होइन, हालैका दिनमा समयमै गन्तव्यमा पुग्ने योजना बनाएर घर वा कार्यालयबाट निस्किएका यात्रु दिनहुँ सूर्यविनायक–तीनकुने ६ लेन सडकमा पर्ने जाममा फस्ने गरेका छन् । ‘जामको समय निकालेर गन्तव्य पुग्ने योजना बनाउनुपर्छ,’ उनले भनिन्, ‘घरबाट समय अडकलेर निस्कियो, जहिल्यै जाममा फसिन्छ ।’


राजधानीको पूर्वी भेग जाने सडकको कोटेश्वर–कौशलटार खण्डमा सधैजसो गाडीको जाम हुने गरेको छ । कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार हुँदै गठ्ठाघर चोकसम्मको करिब ४ किलोमिटर सडकमा दिनहुँ घण्टौं जाम हुने गरेको छ । ४ किलोमिटर यात्रा गर्न २ देखि साढे २ घण्टा बढी समय लाग्छ । कार्यालय सुरु हुने समय बिहान साढे ९ देखि ११ बजे र साँझ कार्यालय सकिने समयमा त यात्रुले सास्ती खेप्नुपरेको छँदै छ । सूर्यविनायक–तीनकुने ६ लेन सडक विस्तार हुनुअघि काटेश्वर–भक्तपुर सडकमा यस्तै जामको समस्या हुने गथ्र्याे । सडक विस्तारपछि जाम करिब हटेको थियो ।


सिन्धुली बर्दिबास सडकमा पूर्वी क्षेत्रमा जाने सवारीको चाप बढेपछि सूर्यविनयाक–कोटेश्वर सडकमा यात्रुहरू जामको चपेटामा परेका हुन् । पूर्वी भेगको झापासम्मका सवारी साधन सूर्यविनायक, बनेपा हुँदै बीपी राजमार्ग अन्तर्गत सिन्धुली–बर्दिबास सडक चल्न थालेपछि पनि धेरै जाम भएको जानकारहरू बताउँछन् । ‘सडकको दूरी कम र समयको सदुपयोगका लागि सिन्धुलीबाट जाने यात्रु बढी छन्,’ कमलामाई नगरपालिका डाडीगुराँसेका दिलीप बस्नेतले भने ।


कोटेश्वरबाट पूर्व चल्ने लामो रुटको सवारी महानगरीय ट्राफिक प्रहरी वृत्त कोटेश्वरअगाडि रोक्ने र छोटो रुटको लोकल सवारी जडिबुटी पम्प रोकेर यात्रु चढाउने र ओराल्ने गर्दा जाम हुने गरेको छ । त्यस्तै जडिबुटीबाट लगनखेल र तीनकुनेतर्फ आउने सवारीले लेन अनुशासन पालना नगर्ने भएकाले पनि जाम भएको हो । यसको व्यवस्थापन कोटेश्वर ट्राफिक प्रहरीले गर्न सकेको छैन । सडकमा ट्राफिक लाइट व्यवस्थित छैन । ट्राफिक प्रहरीको इसाराको भरमा ट्राफिक व्यवस्थापन चलेको छ ।


कोटेश्वरबाट जडिबुटी हुँदै लोकन्थलीतर्फ जाने क्रममा जामको समस्या छैन । तर, लोकन्थलीबाट काटेश्वरतर्फ आउने क्रममा जाम हुने गरेको छ । ‘६ लेन सडक बनेयता कार्यालय समयमा मात्रै जडिबुटीबाट कोटेश्वरसम्म थोरै जाम हुन्थ्यो,’ कौशलटारकी राधिका श्रेष्ठले भनिन् । ‘करिब डेढ वर्षदेखि कौशलटारबाटै जाम हुन थालेको छ । कौशलटारबाट कोटेश्वर आउन डेढ घण्टा लाग्यो,’ उनले भनिन् ।


काठमाडाैं उपत्यकामा दिन प्रतिदिन बढदै गएको जनसंख्या तथा सवारी चाप, सीमित साँघुरा सडक सवारी नियम तथा ट्राफिक संकेतसम्बन्धी सडक प्रयोगकर्तामा रहेको ज्ञानको कमीले ट्राफिक जाम बढेको जनाइएको छ । कोटेश्वरबाट पूर्व चल्ने लामो रुटको सवारी साधनको चाप तथा वैकल्पिक सडकको व्यवस्थापन हुन नसक्दा जाम बढेको महानगरीय ट्राफिक प्रहरी वृत्त कोटेश्वर पूर्वप्रमुख कृष्णराज सापकोटाले बताए ।

प्रकाशित : भाद्र २९, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?