एकीकृत सम्पतिकरले राजश्व संकलन बढ्याे

विद्या राई

काठमाडौँ — काठमाडाैं महानगरपालिकाले एकीकृत सम्पत्ति कर लागु गरेपछि राजस्व संकलन प्रभावकारी देखिएको छ । गतवर्ष साउन महिनामा १५ करोड संकलन भएकोमा यसवर्ष ३० करोड संकलन भएको राजस्व विभागका निर्देशक दिपक अधिकारीले बताए ।

एकीकृत सम्पतिकरले राजश्व संकलन बढ्याे

यही अनुपातमा राजस्व संकलन भए आर्थिक वर्षको अन्त्यसम्ममा अनुमानित लक्ष्य प्राप्ति गर्न सकिने बताए । ‘प्रयत्न जारी राखेका छौ, प्रभावकारी बनाउन जनचेतना जगाउने, घरदैलो कार्यक्रम गर्ने जस्ता अभियानहरु पनि सञ्चालन गरिरहेका छौ,’ निर्देशक अधिकारीले भने ।

महानगरले आर्थिक वर्ष ०७५/०७६ मा १२ अर्ब चार करोड ११ लाख ५७ हजार कर उठाउने लक्ष्य राखेको छ । काठमाडौं महानगरपालिकामा एक लाख १२ हजार ७९ करदाता छन् ।

आन्तरिक स्रोतको प्रभावकारी परिचालन गर्न कर प्रणालीको विकास, सक्षम कर, प्रशासनको निर्माण, करको दायरा विस्तार र राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले याे वर्षलाई महानगरले कर अभियान वर्षका रुपमा मनाउने घोषणा गरेको छ ।

यसै अन्तर्गत करको दर भन्दा दायरालाई फराकिलो बनाएर अधिक कर असुल गर्नका लागि वैज्ञानिक पद्धतिको अभ्यास थालेको बताइएको छ । यसैगरी कर दरलाई पनि मिनाहा गरेको छ । आव २०७२ /०७३ लाई आधार मानेर बक्यौता करको जरिवानासमेत मिनाहा गरेको कारण लक्ष्य अनुसार संकलन भैरहेको बताए ।

करदाताहरु ५/६ वर्ष अघिको बक्यौता तिर्न आइरहेकाे तर नेटवर्किङ्गमार्फत सिष्टममा नराखिएको कारण बक्यौता रकमबारे महानगरलाई यकिन तथ्याङ्ग नरहेको उनले बताए । घरबहाल करलाई प्रभावकारी बनाउन महानगरले पुराना घरधनीको तथ्या‌ंक अध्यावधिक गरिरहेको जनाएकाे छ ।

अधिकांश घरधनीले आफू मात्रै बस्दै आएको भन्दै कर छली गर्दै आएकाले निरीक्षण भइरहेको छ । महानगर भरी एक लाख १२ हजार छ सय ७२ घर भाडामा लगाइएकाे महानगरको तथ्यांक छ । तर, याे तथ्यांक अद्यावधिक गर्न सकेकाे छैन ।

महानगरपालिकाले सम्पति कर, बहाल कर, व्यवसाय कर र सिफारिस दस्तुरमा मिनाहा गरेको र विभिन्न सिफारिसवाफत लि‌ंदै आएको शुल्कलाई पनि खारेज गरेको जनाएकाे छ। ‘समान सम्पत्ति समान कर’ नीति अनुसार रजिष्ट्रेसनका आधारमा कर लगाउने गरी परिमार्जन गरेको निर्देशक अधिकारीले बताए ।

महानगरपालिकाले वार्षिक एक लाख भन्दा कम बहाल उठाउने र आम्दानीको अन्य स्रोत नभएका करदातालाई कर छुट दिएको र स्थानीय सरकार सञ्चालन ऐन र आर्थिक ऐनलाई आधार मानेर समय सापेक्ष बनाएको महानगरले जनाएकाे छ ।

आर्थिक वर्ष ०७४/०७५ मा अनुमानित राजस्व १२ अर्ब ४ करोड ३९ लाख ४७ हजार मध्ये चैतसम्म ३ अर्ब १७ करोड ५१ लाख २२ हजार उठेको थियो ।

अनुमानित कर नउठ्दा महानगरको विकासमा पनि प्रत्यक्ष असर पार्दै आएका कारण यो समस्यालाई सुल्झाउन वैज्ञानिक नीति अपनाएको जनाइएकाे छ । कर तथा आर्थिक नीति बनाउँदा सुविधा, क्षमता, सजिलो, सरलता लगायतका सिद्धान्तलाई आधार बनाएर अघिल्ला वर्षका बक्यौताहरु उठाउने गरी वैज्ञानिक प्रणाली लागु गरिएको महानगरका सहप्रवक्ता नमराज ढकालले बताए ।

प्रकाशित : भाद्र २९, २०७५ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?