कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढुंगेधाराको अस्तित्व मेटिँदै

लीला श्रेष्ठ

भक्तपुर — एकताका तलेजु भवानीको नित्यपूजा सुन्धाराको जल चढाएपछि सुरुवात हुन्थ्यो । तलेजु भवानीका मूल नाइके नरेन्द्रप्रसाद जोशी स्मरण गर्छन्, ‘सुन्धारामा पानी आउने कुरा इतिहास भइसक्यो ।’ करिब १५ वर्षअघिसम्म भक्तपुर दरबार क्षेत्रको सुन्धारामा आउने पानीले नित्यपूजा गरेको उनी सम्झन्छन् ।

ढुंगेधाराको अस्तित्व मेटिँदै

‘२०५० माघबाट तलेजुको नाइके छु, धेरैपछिसम्म सुन्धारालगायत भक्तपुरका अधिकांश ढुंगेधारामा पानी आउँथ्यो,’ उनले भने । सुन्धारामा पानी आउन छोडेपछि बासन्ती चोकस्थित इनारको पानीबाट नित्यपूजालगायतको कार्य गर्दै आएको उनी बताउँछन् ।


करिब २ दशकअघिसम्म भक्तपुर नगरका बासिन्दाले ढुंगेधाराकै पानी उपभोग गर्थे । अहिले नगरको विभिन्न चोक, टोलमा अवस्थित ऐतिहासिक ढुंगेधारा सुक्खा छ । ढुंगेधाराबाट पानी आउन छोडेपछि संरक्षण हुन पनि छोड्यो । संरक्षणको अभावमा भक्तपुरका अधिकांश ढुंगेधारा अलपत्र छन् । अव्यवस्थित बसोबास, नयाँ बस्तीको विकास सँगसँगै मूल राजकुलो
मासिँदा ढुंगेधारा अलपत्र परेको इतिहासविद्हरू बताउँछन् ।


इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार राजकुलो लिच्छविकालदेखि प्रबन्ध हुँदै आएको हो । भक्तपुरको राजकुलोको मूल नगरकोटको शिरस्थानमा रहेको महादेव पोखरी नै हो । महादेव पोखरीको पानीले भक्तपुर नगरको प्राण दिएको उनी स्मरण गर्छन् । वि.सं. १७३५ मा भक्तपुरका राजा जितामित्र मल्लले थन्थु राजदरबार बनाउन लगाएको र १७४० मा थन्थु राजदरबारकै सुन्धारा चोक, सिद्धिचोकमा पानी ल्याउनका निमित्त राजकुलो निर्माण गरेको कुरा सुन्धारा चोकको उत्तरपट्टि शिलालेखमा उल्लेख भएको इतिहासविद् श्रेष्ठले बताए । त्यसैगरी, राजकुलोलाई जीवन्तता राख्न राजा जितामित्रले १० रोपनी जग्गा छुट्याएका थिए । उनका छोरा भूपतिन्द्र मल्लले पनि राजकुलोको जीर्णोद्धारको मर्मत सम्भार गर्नतर्फ ध्यान दिएको पाइएको इतिहासविद् श्रेष्ठ बताउँछन् । राजकुलो संरक्षणका लागि शाहकालमा भीमसेन थापाले पनि निरन्तर प्रयास गरेको र राणा प्रधानमन्त्री जुद्धशमशेरले पनि राजकुलो बचाइराख्न विशेष व्यवस्था प्रबन्ध गरेको स्वर्णद्वार अघिल्तिरको ताम्रापत्रमा उल्लेख भएको उनले बताए ।


भोलानाथ पौडेलले ५ दशकअघि पूर्णिमा मासिकमा ‘भक्तपुरको राजकुलो’ शीर्षक अनुसन्धानात्मक लेखमा उल्लेख गरेअनुसार जितामित्र मल्लले बनाउन लगाएको राजकुलो २८१ वर्षसम्म पनि जीवन्त रहेको प्रस्ट हुन्छ । मुहान पोखरीबाट मिश्रित हुँदै नगरकोटको खोल्सा, खरिपाटी भेगका साना/ठूला पोखरीमा जम्मा भएर डुंर, नल हुँदै भक्तपुर सहरको सुन्धारा, सिद्धिचोकको धारा र भक्तपुर राजदरबारका अन्य ढुंगेधारालगायत खौमा, सुकुलढोका, तुलाछेंलगायत विभिन्न ढुंगेधारामा राजकुलोकै पानी आउने गरेको उनी बताउँछन् ।


आधा शताब्दीको अन्तरालमा आइपुग्दा बढ्दो जनसंख्या, अव्यवस्थित बस्ती विकास, डिप बोरिङ र सम्पदाप्रतिको नैराश्यताका कारण राजकुलो मासिँदै गयो । राजकुलो मासिएपछि ढुंगेधाराको अस्तित्व मेटिँदै गएको छ । राजकुलोले ढुंगेधाराको अस्तित्व जोगाउने काम मात्र नगरी दैनिक जीवनयापनसमेत चलेको थियो । जितामित्र मल्लले राजकुलो सञ्चालनसँगै ढलपा (राजकुलो व्यवस्थापक/पाले) को समेत व्यवस्था गरेको इतिहासविद् श्रेष्ठ औंल्याउँछन् । ‘पानीको मुख्य स्रोत राजकुलो थियो,’ उनले भने, ‘दैनिक उपभोग गर्ने, खाने, सिँचाइ गर्ने कार्य राजकुलोबाटै हुन्थ्यो ।’ ‘सिँचाइका लागि पालैपालो पानी लैजाने व्यवस्था ढलपाले गर्थे,’ उनले भने । पुर्खाको जीवनको धमनी राजकुलो मेटिएको इतिहासविद्हरू बताउँछन् ।


त्यस्तै, सूर्यविनायक–२ बालकोटस्थित लिच्छविकालीन राजकुलो माथि घर बनेको छ । राजकुलोलगायत परम्परागत पानीका स्रोतहरू अतिक्रमित हँुदा डुबानको समस्या आएको स्थानीय अनिल श्रेष्ठले बताए । ‘आधुनिकताका नाममा ऐतिहासिक सम्पदालाई भुल्यौं, राजकुलोले पुर्खाको प्राण बचाएको थियो,’ उनले भने, ‘बस्ती बाक्लिँदै गयो, नयाँ घर थपिँदा परम्परागत कुलो पुरियो, जथाभावी सडक खनियो ।’ राजकुलो, खोला अतिक्रमणका कारण बस्ती डुबानको समस्या झेल्नुपरेको उनी बताउँछन् ।


राजकुलोमा ह्युमपाइप
सूर्यविनायक नगरपालिका सिपाडोल, दधिकोट, चित्रपुर, चरखण्डी, कटुञ्जे, सोमलिंगेश्वर लगायतका बासिन्दाले वर्षाैंदेखि उपभोग गर्दै आएको राजकुलोमा ह्युमपाइप राखेर सडक निर्माण गरेको छ । ‘कुनै पनि राजकुलो मासिएको छैन, राजकुलोमा ह्युमपाइप राखेर सडक सञ्चालन गरेको छ,’ सूर्यविनायक–९ का वडाध्यक्ष किरण थापाले भने, ‘सिँचाइका लागि ह्युमपाइप जडान गरेको छ ।’ दोर्लाङ घट्टेखोलाबाट चख्खु, लाब्सल, नहर कुलो, सिमगाल, माक ढल, बाला, भुलांचालगायत स्थानमा राजकुलो सञ्चालित छ । सडक विस्तारका क्रममा ह्युमपाइप राखे पनि सिँचाइको व्यवस्था भएको उनी बताउँछन् ।

प्रकाशित : भाद्र ३०, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?