१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

मन्दिर छैन, पेटी बनाइँदै

काठमाडौँ — सम्पदा पुनर्निर्माणमा सरकार गम्भीर छैन । यसको पछिल्लो उदाहरणको हो वसन्तपुरको त्रैलोक्यमोहन मन्दिर । दसअवतार मन्दिर नामले पनि चिनिने त्रैलोक्यमोहनको निर्माण सम्झौताअनुसार भएको भए सकिइसक्थ्यो । तर, मन्दिर नबनाई यसको पेटी मात्र निर्माण गरिंदै छ ।

मन्दिर छैन, पेटी बनाइँदै

‘हामी छक्क परेका छौं,’ सम्पदा संरक्षण संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ भन्छन्, ‘हामीलाई मन्दिर चाहिएको हो । पेटी होइन । मन्दिर निर्माण गर्दा पेटी फेरि भत्कँदैन । कस्तो गैरजिम्मेवारपूर्ण काम हो ? सम्पदामा जे गरे पनि हुने ?’

पुरातत्त्व विभागले २०७३ भदौमै यो मन्दिर पनर्निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । यसको निर्माणको ठेक्का प्राकृतिक सानो सुवाल (एसपी जेभी) ले पाएको हो । टेन्डर परेको ६ महिनासम्म पनि यसको पुनर्निर्माण सुरु भएको थिएन । गत वर्ष यसलाई चारैतिर छोपेर पुनर्निर्माण सुरु गरिएको थियो । छोपेर काम सुरु गरेपछि काम रोकिएको थियो ।

स्थानीयवासीले ठेक्कामा काम दिन नहुने भन्दै तालाबन्दीसमेत गरेका थिए । ‘पहिला स्थानीयवासीले ताला लगाए । ठेकेदारलाई दिनु हुँदैन भने,’ पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘फेरि उही ठेकेदारलाई उही ताला लगाउनेहरूले काम गर्न दिए ।’ ‘यो मन्दिर इन्द्रजात्रासँग जोडिएको छ,’ इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम बज्राचार्य भन्छन्, ‘यसको निर्माण किन यसरी भयो ? हामीलाई किन सोधिएन ? केही थाहा पाएको छैन ।’ इन्द्रजात्राका अवसरमा वसन्तपुर दरबार क्षेत्रका सबै मठमन्दिरमा कुनै न कुनै उत्सव मनाइन्छ । ‘हरेक मठमन्दिरमा संस्कृति पनि जोडिएको छ । एउटा इँटा राख्न र हटाउन सोच्नुपर्छ,’ उनी भन्छन् । उनले आफूहरूलाई सहभागी नगराई ठेकेदारले बार लगाएर काम गरेको भन्दै असहमति जनाए ।

मन्दिरको ठेक्का प्रक्रिया र लागत पारदर्शी नभएको स्थानीयको गुनासो छ । स्थानीयको विरोधपछि पुरातत्त्व विभागले आयोजनाको लागत र सम्पन्न गर्ने मितिसहितको सानो बोर्ड राखेको छ । तर, उल्लिखित र ठेकेदारले सर्वसाधारणलाई भन्ने गरेको लागत फरक रहेको स्थानीयले बताए । पुरातत्त्व विभागका अनुसार मन्दिर पुनर्निर्माण गर्न ३ करोड ७५ लाख ९ हजार रुपैयाँमा ठेक्का दिइएको हो । सम्झौताअनुसार निर्माण कार्य २०७५ असोज मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने हो । तर, मन्दिरको भने निर्माण नै सुरु भएको छैन ।

प्रकाशित : भाद्र ३१, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?