२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

पर्यटकीय गन्तव्य बन्दै गुप्तेश्वर क्षेत्र

ललितपुर — वन अनि ठाडो उकालो सिँढी बिछयाइएको बाटो । दायाँबायाँ फुलेको जमानेमान्द्रो बुटी, सुनगाभा, जाही, जुही । यस्तै मनमोहक दृश्यले उकालो लागेका जोकोहीलाई ५ किलोमिटरको ठाडो बाटो डेढ घन्टामा उक्लिएको भेउसमेत पाउँदैनन् । जंगल पारेपछि डेढ दुई सय जना अट्ने समतल चौर आउँछ ।

पर्यटकीय गन्तव्य बन्दै गुप्तेश्वर क्षेत्र

चौरको दक्षिणपश्चिमतर्फ एउटा रूख छ । त्यही रूखकै फेदमा मान्छे छिर्न मिल्ने प्वाल देखिन्छ । हो, उही रूखको फेदमा रहेको प्वाल नै गुप्तेश्वर महादेवको मन्दिर पुग्ने गुफाको प्रवेशद्वार हो । मन्दिर कोन्ज्योसोम गाउँपालिका ५ भारदेउमा पर्छ ।

गुप्तेश्वर मन्दिर पुजारी कृष्ण नगरकोटी भन्छन्, ‘हिन्दु धर्मअनुसार सत्ययुगमा भस्मेश्वर राक्षसले महादेवलाई लखेट्ने क्रममा भागेर यही ओडारमा आई गुप्तवास बसेका थिए । यसरी ईश्वर गुप्त भएको ठाउँ भएकाले यसलाई गुप्तेश्वर भनिएको किंवदन्ती छ ।’ गुफाभित्र प्रवेश गरेलगत्तै गणेशको शिर, गाईको थुनजस्ता अनौठो आकृतिहरू देख्न सकिन्छ । ५० मिटर गुफाभित्र प्रवेश गरिसकेपछि गुप्तेश्वर महादेवको मन्दिर छ ।


गुफाभित्र धर्मढोका रहेको र पाप गरेकाहरू उक्त ढोकाबाट भित्र जान सक्दैनन् भन्ने विश्वास छ । गुफाको फेदीमा नौखण्डे खोला बगेको छ । त्यहाँ स्नान गरेर गुप्तेश्वर महादेवलाई दूध चढाएमा संकटबाट मुक्त मिल्ने विश्वास छ । त्यसैले यहाँ बालबालिकादेखि वृद्धवृद्धासम्म मनोकांक्षा पूरा गर्न भनेर टाढाटाढाबाट आउने गर्छन् ।


कोन्ज्योसोम गाउँपालिकाले मन्दिर क्षेत्रलाई पर्यटकीय गन्तव्यस्थल बनाउन डीपीआर तयार गरिरहेको छ । कोन्ज्योसोम गाउँपालिका प्रमुख गोपी स्याङताङ भन्छन्, ‘यहाँ ४५ फिट अग्लो बुद्ध मूर्ति स्थापना गरिनेछ । यसका लागि ४ करोड रुपैयाँ बजेट विनियोगित गरिसकेका छौ ।’ उनले बुद्ध मूर्ति निर्माण गर्न ठेक्कापट्टा गर्ने प्रक्रियामा रहेको बताए ।

‘समुद्र सतहदेखि २५१८ मिटरको उचाइमा अवस्थित यस गुफाभित्र प्रवेश गरिसकेपछि अक्सिजन नपुग्ला कि भन्ने डर छैन । सजिलैसँगै श्वास–प्रश्वास गर्न सकिन्छ,’ उनले भने । हिन्दु र बौद्ध धर्मावलम्बी, लामा र झाँक्रीहरू अन्तध्र्यान र दैवीशक्ति प्राप्तिको आकांक्षासहित गुप्तेश्वर महादेवको दर्शन गर्न जाने गरेको पाइन्छ ।

यस क्षेत्र भएर धार्मिक, पौराणिक मन्दिर, गुम्बा, पुरातात्त्विक वस्तु अवलोकन गर्दै हाइकिङ गर्ने स्थल हो । यहाँको गुन्द्रुक, लोकल भाले, लोकल सुकुटी, ट्राउट माछा, ढिंडोको स्वाद लिन सकिन्छ । शान्त र स्वच्छ वातावरणमा विभिन्न चराहरूको आवाज सुन्न सकिन्छ । यस क्षेत्रबाट तराई क्षेत्र स्पष्ट देख्न सकिन्छ । गुफाभित्र ध्यान गर्न सकिन्छ ।

पिकनिक स्पट, खानेपानी, बिजुली र सुरक्षाको व्यवस्थापन गर्न सकेमा पर्यटकलाई थप लोभ्याउन सकिने स्थानीयवासी बताउँछन् । यहाँ प्रत्येक वर्ष वैशाख पूर्णिमा र माघे संक्रान्तिमा ठूलो मेला लाग्ने गर्छ । लगनखेलबाट दुई घन्टाको सवारी यात्रापछि भारदेउ पुग्न सकिन्छ ।

प्रकाशित : आश्विन १, २०७५ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?