कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हत्यारा पक्राउ परेनन्

काठमाडौँ — स्वयम्भूमा नातिको किरिया बसेका थिए ८० वर्षीय लोकबहादुर जीसी । भदौ १० मा हराएका संगीन जीसीको शव १७ गते भेटिएकाले सोही दिन मृत्यु भएको मान्दै परिवारले मृत्यु संस्कार र काजकिरिया गर्‍यो ।

हत्यारा पक्राउ परेनन्

बाग्लुङ बुर्तिबाङ घर भएका जीसीको हत्या भएको यतिका दिन बितिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै परिवारले आक्रोश व्यक्त गरेका छन् ।

प्रहरीले भदौ १७ साँझमा स्वयम्भूको जंगलमा एक शव फेला पार्‍यो । उक्त क्षेत्रमा खेलिरहेका बालबालिकाले शव देखेपछि कुरो प्रहरीसम्म पुगेको थियो । टाउको एकातिर शरीर अर्कोतिर रहेको उक्त शवको प्रकृतिले स्थानीयलाई पनि त्रसित बनायो । टाउकोमा मासु थिएन, केवल खप्पर थियो । दाँत पनि दुईवटा मात्र बाँकी थियो ।


प्रहरीले त्यस समय अघि हराएका सबैको हुलिया मिलायो र २२ वर्षीय संगीन जीसीको शव रहेको आशंकामा परिवारजनलाई सनाखतका लागि बोलायो । पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा पुर्‍याइएको शवलाई चिन्न सोही साँझ संगीनको परिवारलाई खबर गरिएको थियो । उनका बुबा निमबहादुर आए, शवको प्रकृति हेर्दा उनको मनमा ‘यस्तो वीभत्स र क्रूर तरिकाले पनि हत्या हुन सक्छ ?’ भन्ने प्रश्न आयो । घाँटी काटिएकाले शव चिन्न गाह्रो भयो ।

तर पनि उनका बुबाले काटिएका स्थानमा कीरा परिसकेको शवका हात–खुट्टाका औंला र दाँत हेरे । छातीमा सानो शल्यक्रियाको दागजस्तो पनि थियो । त्यसपछि संगीनको मृत्यु भइसकेकोमा दुईमत रहेन । पोस्टमार्टमपछि पनि प्रहरीको लापरबाहीको आरोप लगाउँदै परिवारले शव बुझ्न मानेन । सोमबार मात्र शव घर ल्याई दाहसंस्कार गरियो ।


परिवारका अनुसार जनैपूर्णिमाका दिन ‘एकै छिन घुमेर आउँछु’ भनेर निस्किएका उनी साँझसम्म फर्किएनन् । फोन गर्दा रिंग जान्थ्यो तर उठदैनथ्यो । पछि थाहा भयो, उनले मोबाइल घरमै छोडेर गएका रहेछन् । उनी हराएको भोलिपल्टसम्म पनि सम्पर्कमा नआएपछि परिवारले प्रहरीमा हराएको निवेदन दिएको थियो । तर, उनको शव भने निवेदन दिएको एक सातापछि मात्र भेटियो ।

‘प्रहरीले पोस्टमार्टम रिपोर्टमा हत्या गरिएको यकिन केही नदेखिएको भनेको छ,’ मृतक संगीनका काका शक्तिराज जीसीले भने, ‘साताअघि नै हत्या भएको र हत्याको २ घण्टा जति अघि खाना खाएको रिपोर्टमा देखियो ।’ जीसीका अनुसार स्वयम्भू प्रहरी पोस्टको २/३ सय मिटर पर मात्र शव भेटिएको हो । घटना भएको बेला राजधानीमा बिमस्टेक सम्मेलन चलिरहेकाले पनि प्रहरीले खोजी गर्न तदारुकता नदेखाएको परिवारको आरोप छ ।

मृत्युपछि पनि वरपर थप अंग र प्रमाण खोज्न लापरबाही गरेको उनीहरूको आरोप छ । हत्याको साता दिनमै टाउकोमा मासु नरहनु रहस्यमयी भएको काका शक्तिराजको भनाइ छ । ‘हराएका व्यक्तिसँग मिल्ने शव भेटिएपछि परिवारलाई खबर नै नगरी मुचुल्का उठाइएको छ, जुन गलत हो,’ उनले भने ।

चार भाइबहिनीमा जेठा संगीनको हत्यारा पत्ता लगाई कारबाहीका लागि उनीहरूले बाग्लुङका सांसद र गृहमन्त्रीलाई समेत आग्रह गरिसकेका छन् । केही दिनअघि संघीय संसद्लाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले उक्त घटनाबारे अनुसन्धान भइरहेको जनाएका थिए ।

थापाले प्रारम्भिक मेडिकल रिपोर्टले संगीनको हत्या नभई आत्महत्या गरेको देखिएको बताएका थिए । तर परिवारजनले भने संगीनको शव टाउको अलग भएको अवस्थामा भेटिएकाले हत्या भएको दाबी गर्दै आएका छन् । महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी भिसेरा रिपोर्ट आएपछि मात्र थप तथ्य खुल्ने बताउँछन् । उनले भने, ‘शरीरमा कुटपिट वा बल प्रयोग गरेको कुनै चिह्न छैन । हामी अनुसन्धान गर्दै छौं, केही समय लाग्ने देखिन्छ ।’

प्रकाशित : आश्विन १, २०७५ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?