२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

खानी सञ्चालन गर्न अध्ययन सुरु

भक्तपुर — चाँगुनारायण नगरपालिकाले बालुवा, ढुंगा र पांगोमाटो खानी सञ्चालन गर्न अध्ययन प्रक्रिया सुरु गरेको छ ।

खानी सञ्चालन गर्न अध्ययन सुरु

नगर क्षेत्रभित्र साविकमा खानी तथा भूगर्भ विभाग र तत्कालीन जिल्ला विकास समिति (जिविस) कार्यालयबाट अनुमति लिई बालुवा, ढुंगा र पाँगोमाटो खानी सञ्चालन गर्दै आएका व्यवसायीबारे अध्ययन गर्न कागजात मागेको नगरपालिकाले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ फागुन १५ मा छानबिनका लागि भन्दै जिल्लामा सञ्चालित बालुवा, ढुंगा तथा पाँगोमाटालगायत २६ खानीको फाइल नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै जिविसले भक्तपुरमा सञ्चालित सम्पूर्ण खानी बन्द गरेको थियो । वैधानिक रूपमा खानी बन्द रहे पनि चोरी निकासी भने हुँदै आएको छ ।

छानबिनका लागि अख्तियारले लगेको फाइल फिर्ता गरेपछि नगरपालिकाले ‘स्थानीय सरकार सञ्चालन ऐन–२०७४’ अनुसार खानी सञ्चालन प्रक्रिया सुरु गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए । नगरकार्यापालिकाको बैठकले ‘खानी तथा नदीजन्य पदार्थको संकलन, उत्खनन, ओसारपसार र बिक्री वितरणसम्बन्धी कार्यविधि–२०७५’ पारित भइसकेकाले अध्ययनका लागि व्यवसायीसँग कागजात मगाइएको मिश्रले जनाए ।

जिल्लामा सञ्चालित अधिकांश खानी चाँगुनारायण नगरपालिकाभित्र पर्छन् । अख्तियारले फाइल फिर्ता गरेलगत्तै व्यवसायीले जिल्ला समन्वय समितिमा पहिले पेस गरेका फाइल र्फिता गर्दै नगरपालिकामा पेस गरेका छन् । ‘पहिले सञ्चालित खानी स्वीकृतिको प्रमाणपत्र, नवीकरणको कागजात र खानीसँग सम्बन्धित प्राविधिक प्रतिवेदनलगायतका कागजात माग गरेका छौं,’ उनले भने । मिश्रका अनुसार असोज मसान्तपछि खानी सञ्चालन स्वीकृति दिने गरी सञ्चालकका लागि १५ दिने सूचना प्रकाशित गरिएको छ । उनका अनुसार नगरसभाले पहिले सञ्चालनमा रहेका खानीलाई समेत स्वीकृति दिने निर्णय गरेको छ ।

खानी सञ्चालनका लागि वातावरण प्रभाव मूल्यांकन (ईआईए) गराउने र खानी क्षेत्रको अध्ययन तथा अनुगमन गर्ने तयारी भएको समेत नगरपालिकाले जनाएको छ । अख्तियारले फाइल कब्जा गरेको बहानामा कार्यविधि नै नबनाई माटो खानी सञ्चालन गरिएको भन्दै बालुवाखानी व्यवसायीले पनि अनुमति माग गरेका थिए ।

प्रकाशित : आश्विन १, २०७५ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?