२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

लुटपाटमा संलग्न गिरोह पक्राउ

प्रशान्त माली

ललितपुर — लेले टीकाभैरवका श्यामकृष्ण खड्का स्थानीय औषधि उद्योगमा मजदुरी गर्थे । एक महिनाअघि उनलाई लुम्बिनी बैंकमा गार्डको जागिर गर्न प्रस्ताव आयो । आर्थिक, समाजिक हिसाबले उद्योगमा भन्दा बैंकको जागिर राम्रो हुने श्रीमतीले पनि स्वीकार गरिन् ।

लुटपाटमा संलग्न गिरोह पक्राउ

सहकारीमा लुटपाट भइरहने भएकाले सतर्क हुन उनलाई श्रीमतीले बेला बेलामा सम्झाउँथिन् । नभन्दै साउन ६ गतेबाट जागिरे जीवन सुरु गरेको एक महिना १२ दिनमा घटना घट्यो । ‘भाद्र १८ गते घटना घटेको दिन नाइट ड्युटी परेको थियो । कृष्णजमाष्टमी भएकाले बेलुकासम्म टीकाभैरवस्थित मन्दिरमा भजनकीर्तनको आवाज सुनिन्थ्यो,’ उनले सुनाए, ‘बैंकको दोस्रो तलामा दुइटा कुर्सी जोडेर सुतिसकेको थिएँ । ४ जना लुटेरा राजकुलो हुँदै पछाडिको छतबाट दोस्रो तलमा आएछन् । त्यसपछि उनीहरू झ्यालको ग्रिल फोडेर भित्र पसेछन् ।’

रूमालले मुख छोपेर आएका लुटेराले खड्काका हातखुट्टा समाएर खुकुरी नियन्त्रणमा लिएपछि उनी निकै आत्तिए । ‘तँलाई केही गर्दिनँ । काउन्टरको साँचो खोलेर सेफ देखा । हो–हल्ला गरिस् भने बँच्दैनस् भनेर थर्काए,’ उनले सुनाए, ‘सेफ फोर्न एक घण्टाजति प्रयास गरे । तर सकेनन् ।’ यस्तो घटना पहिलोपटक भोगेका खड्काले बाँच्ने आस मारिसकेका थिए । ‘आफूहरूलाई चिन्छ भन्ने डरले मार्छन् जस्तो लागेको थियो,’ उनले भने, ‘अन्तिम पटक छोराछोरी र श्रीमती सम्झें ।’ तर उनलाई भने लुटेराले केही गरेनन् । तर बैंक सञ्चालकले डकैतीमा संलग्न भएको आरोपसमेत लगाउने चिन्ताले त्यो दिनदेखि भने राम्रोसँग निद्रा नलागेको खड्काले बताए ।

प्रहरीले बंैकमा लुटपाट गर्ने गिरोहलाई सोमबार पक्राउ गरेपछि खड्का ढुक्क भए । प्रक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ कोदोखोरिया फाखेलका २६ वर्षीय सोमलाल स्याङ्तान, २३ वर्षीय सोमलाल थिङ, १९ वर्षीय अमृत भन्ने राजु लामा र २३ वर्षीय कुमार लामा छन् । उनीहरूले साउन ३१ गते राति सिद्धिपुरस्थित सत्य बचत तथा ऋण सहकारी संस्थामा पनि लुटपाट गरेको प्रहरीले जनाएको छ ।

महालक्ष्मी नगरपालिका–६ को सहकारीका दुइटा ढोका फोडेर एक लाख २५ हजार २ सय ३९ रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाइ छ । सत्य बचतका अध्यक्ष हरि महर्जन भन्छन्, ‘लुटेराहरू कार्यालयभित्र छिरेपछि सेफ फोड्न प्रयास गरिरहेका बेला घरधनीले चाल पाएछन् । निडर स्वभावका उनले चोर भगाएका थिए,’ उनले सुनाए ।

प्रहरीका अनुसार सोही गिरोहले शृंखलाबद्ध ढंगले चोरी गर्ने गरेको छ । महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी रवीन्द्रबहादुर धानुकका अनुसार आइतबार राति लेलेस्थित गंगाराज थापाको स्टेसनरीमा ढोका फोडेर १० हजार रुपैयाँ चोर्ने गिरोह पनि यही हो । ‘लेलेमा चोरी गरिसकेपछि टीकाभैरव–बुङ्मतीको बाटो भएर छम्पी आएछन्,’ उनले भने, ‘छम्पीमा सोमबार राति प्रह्लाद विष्टको घरमा चोरी गर्ने सोचले झ्यालको ग्रिल फोडेर भित्र प्रवेश गरेपछि घरधनीले थाहा पाएर प्रहरीलाई खबर गरे ।’

उनले घटनामा संलग्न व्यक्तिको खोजतलास गर्न सादा पोसाकमा विशेष प्रहरी परिचलान गरेको जनाउँदै भने, ‘अन्तत: चोरी गर्ने ४ लाई भैंसेपाटीबाट गाडीसहित पक्राउ गरियो ।’ उनका अनुसार चोरहरूले रड, मार्तोल, हतौडाको सहायताले ग्रिल फोड्ने तथा गार्डलाई तर्साउने गरेका थिए । धानुकले रातिका समयमा सहरको सुरक्षा व्यवस्था थप कडा पारेको दाबी गरे ।

उनले उक्त गिरोहको अन्य लुटपाटमा पनि संलग्नता भएको हुनसक्ने भन्दै अनुसन्धान भइरहेको जनाए । प्रहरीले उनीहरूको साथबाट बा१५च ६०८१ नम्बरको डीआई पिकअप गाडी, ५ थान मोबाइल सेट, ९ हजार २ सय ३८ रुपैयाँ नगद, क्यामेरा, गंगाराज थापाको चेक र विभिन्न संस्थाका नामका बिल बरामद गरेको छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ परिच्छेद–२० अनुुसार कसैले अन्य व्यक्तिको स्वामित्व, कब्जा, नियन्त्रण वा जिम्मामा रहेको चल सम्पत्ति आफ्नो बनाउने, उपभोग गर्ने वा लिन/खानका लागि त्यस्तो व्यक्तिको मञ्जुरीबिना बेइमानीका नियतले लिएमा चोरी गरेको मानिनेछ । चोरी गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षदेखि सात वर्षसम्म कैद र २० हजारदेखि ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रकाशित : आश्विन २, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?