१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

इन्द्रजात्राको देवी नाच सुरु

प्रशान्त माली

काठमाडौँ — किलाघ: टोलका ४६ वर्षीय बद्री महर्जन जागिरे हुन् । ट्राभल एजेन्सीमा काम गर्ने उनी प्राय: पर्यटक घुमाउन उपत्यकाबाहिर गइरहन्छन् । व्यस्तताका बाबुजुद पनि उनी इन्द्रजात्राको अवसरमा नचाइने मंगलबारबाट सुरु दी प्याखं (देवी नाच) मा भैरव देवगणको रूपमा सहभागी भए ।

इन्द्रजात्राको देवी नाच सुरु

‘दैवी शक्तिको कारणले हो कि कुन्नि जात्राका बेला प्रत्येक वर्ष फुर्सद मिल्ने गरेको छ,’ उनले भने, ‘अरू बेला अफिसबाट छुट्टी पाउन अत्यन्त गाह्रो छ ।’ महर्जनले भैरव भएर नृत्य गरेको २७ वर्ष बितिसक्यो ।


सोही टोलका ३३ वर्षीय गरिबनाथ महर्जन पानी उद्योगका व्यवस्थापक हुन् । उनलाई दैनिक उपत्यकामा वितरण गरेको पानी र कर्मचारीका सम्पूर्ण कामको हिसाबकिताब राख्छन् । नाचका बेला भने फुर्सद निकाल्ने गरेको उनले सुनाए ।

कुमारी भएर नृत्य गर्ने उनी आफू मात्र होइन्, अरूलाई पनि धर्म, संस्कृति परम्परा जोगाउनुपर्छ भनेर सचेत गराउने व्यक्ति हुन् । भन्छन्, ‘नाचमा सहभागी भएर केही आम्दानी छैन । उल्टो आफ्नो खर्च हुन्छ ।’ बाबुराजा महर्जन निजामती कर्मचारी हुन् । निर्वाचन आयुक्तको गाडी चालक बताउने उनले पनि बिदा लिइरहेको बताए ।


उनीहरूजस्तै नाचमा सहभागी ७ ले नै जात्राका बेला सजिलै छुट्टी मिल्ने गरेका बताएका छन् । यसलाई उनीहरूले भगवानो कृपा ठानेका छन् । नाच १० दिन नाच हुन्छ । नाच सञ्चालन गर्न सोमबार भाद्र शुल्क अष्टमी कन्या संक्रान्तिमा गुठियार मिलेर तान्त्रिक विधिपूर्वक नाथ गुरुको पूजा गरेका थिए ।

गुठियारका अनुसार नाच १६ चरणमा मञ्चन गरिन्छ । अब दोस्रो पटक भाद्र शुक्ल द्वादशी असोज ५ लिङ्गो उठाउने दिनमा हनुमानढोका, इन्द्रजात्रामा जैसीदेगल, भाद्र शुक्ल पूर्णिमामा मरुटोलमा नचाइन्छ । अन्तिम दिन नानिचा या:को मा नचाएपछि जात्रा समापन हुन्छ ।


२५ वर्षअघिसम्म किलाघ: टोलबाट दुइटा नाच निस्किन्थ्यो । अहिले ख: प्यांख लोप भइसकेको छ । दी प्यांख नाचका गुठियार नरेन्द्र महर्जन भन्छन्, ‘नाचमा सहभागी गुठियार आफैंले गरगहना, पोसाक, मुकुटमा लगाइने पंखा, ककचाजस्ता सुगन्धित फूल खरिद गर्नुपर्ने बाध्यता छ ।

नाच देखाउन एक महिनासम्म बेलुका अभ्यास पनि आफ्नै खर्चमा गर्नुपर्छ ।’ नाचमा परम्परागत राग गीत गाउनुपर्छ । राग गाउन सिक्न निकै कठिन छ । सिकिसकेपछि पनि निरन्तरता दिन गाह्रो छ ।


यस कारणले युवा पुस्ताको नाचप्रति आकर्षण घट्दै गएको उनको भनाइ छ । ‘नाचलाई राष्ट्रिय सम्पत्तिको रूपमा लिएर सरकारले नै संरक्षण गर्नतर्फ ध्यान दिनुपर्छ,’ उनले भने । नाचमा भैरव, कुमारी, चण्डी, दैत्य, कव:, बेता, ख्या देवगण हुन्छन् । ७ प्रकारका बाजा बजाइन्छ । सातैवटा डबलीमा नृत्य गराइन्छ । नाच एकीकृत मनले हेरेमा मनोकामना पूरा हुने जनविश्वास छ ।


इन्द्रजात्रामा नचाइने पुलुकिसि (इन्द्रका बहान सेतो हात्ती ऐरावत) नाच गर्न तयारी पूरा भएको छ । विशेष किसिमको बाँसबाट हात्तीको शरीर बनाइएको छ । हात्तीको मुकुट मर्मत गर्न चित्रकारकोमा पठाइसकेको पुलुकिसि नाचका गुठियार कबिन्द्र महर्जन बताउँछन् । ‘नाच देखाउन अब लिङ्गो ठडयाउने दिनको पर्खाइमा छौं,’ उनले भने । नाच ७ दिनसम्म हुन्छ ।


हलचोकस्थित आकाश भैरव, चण्डी कुमार र कुमारीको नाचका लागि पनि तयारी पूरा भएको तेजबहादुर चित्रकारले जनाएको छ । भाद्र शुक्ल प्रतिपदा (कुशेऔंसीको भोलिपल्ट) विधिवत् पूजा गरेर मुकुट रंगरोगन गर्न चित्रकारको मांसगल्लीस्थित घरमा पुर्‍याइएको थियो ।

अब भाद्र शुक्ल एकादशी असोज ४ मा हलचोकस्थित आकाशभैरवको आँगनघरमा विधिपूर्वक पूजा गरिन्छ । र, भोलिपल्ट द्वादशीमा नरदेवी टोलमा ल्याई जात्रा प्रारम्भ गरिन्छ ।


जात्रा असोज ५ गते हनुमानढोका दरबार क्षेत्र कालभैरवको मूर्तिअगाडि योसीं ठडयाएसँगै विधिवत् रूपमा सुरु हुन्छ । योसीं ठडयाउने साइत यसपालि बिहान ८ बजेर ५ मिनेटमा छ । नेपाल भाषामा लिङ्गोलाई ‘योसीं’ भनिन्छ । टोल चोकमा इन्द्रको मूर्तिलाई प्रदर्शनीमा राखिनेछ ।


इन्द्रजात्राको मुख्य दिन भाद्र शुल्क चतुर्दशीमा एक विशेष समारोहमा जीवित देवीका रूपमा रहेकी कुमारी, दुई बालक गणेश र भैरवको रूपमा बेग्लाबेग्लै रथमा राखी हनुमानढोका दरबारको दक्षिण पर्ने तल्लो टोलहरू परिक्रमा गराइनेछ ।

त्यसको भोलिपल्ट दरबारको उत्तरतिर पर्ने माथिल्ला टोलहरू र असोज १२ गते अन्तिम दिन नानिचा: या: भनी वसन्तपुरदेखि विभिन्न भाग हुँदै पुन: वसन्तपुर पुर्‍याउनेछ । त्यसै रात इन्द्रध्वजा फहराइएको लिङ्गो ढालेर वाग्मतीमा सेलाएपछि सप्ताहव्यापी इन्द्रोत्सव समाप्त हुनेछ । इन्द्रलाई वर्षा र सहकालका देवताको रूपमा पुजिन्छ ।

प्रकाशित : आश्विन २, २०७५ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?