कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मखमलीले आत्मनिर्भर

भक्तपुर — एकताका चाँगुनारायण नगरपालिका–९ ताथलीका बुद्धिबहादुर वनमालाको पुर्खाले फूल पुर्‍याएपछि मात्र घर/घरमा पूजा सुरु हुन्थ्यो । पछि चलन फेरिँदै गयो ।

मखमलीले आत्मनिर्भर

बुद्धिबहादुरले टोल/टोलमा फूल पुर्‍याउने काम त गरेनन् तर उनले पूर्वमुमा बडामहारानी
रत्नराज्यलक्ष्मी शाहलाई पूजाका लागि फूल दिने काम भने छोडेका छैनन् । ‘मैले फूल पुर्‍याएपछि मात्र पूर्वमुमा बडामहारानीले पूजा गर्नुहुन्छ,’ उनले भने, ‘बगैंचाको स्याहार गर्ने, फूल पुर्‍याउने नै पेसा हो ।’

बुद्धिबहादुरका अनुसार पूर्वमुमा बडामहारानीलाई फूल पुर्‍याएबापत उनले मासिक ५ किलो चिउरा, एक किलो चिनी, चियापत्ती, वार्षिक तीन जोर लुगा/कपडा पाउँछन् । रत्नराज्यलक्ष्मीको बगैंचा दक्षिणढोकामा स्याहार गरेको छुट्टै तलब पनि लिन्छन् ।

दिनहुँ बगैंचा स्याहार गर्ने र पूर्वबडामहारानीलाई फूल पुर्‍याउन उनले मखमली फूलको खेती गरेका छन् । वार्षिक २ हजार देखि ३ हजार मखमली फूलको माला व्यापार गर्दै आएको उनी बताउँछन् । ‘पहिले/पहिले पुर्खाले घर/घरमा फूल पुर्‍याएबापत स्थानीयले दिएको चामल, भेटीबाट गुजारा चल्थ्यो,’ उनले भने, ‘अहिले त्यो जमाना छैन, अब त व्यवसाय गर्नुपर्छ ।’

पुर्खाले सम्हाल्दै आएको पेसालाई उनले आत्मनिर्भर हुने व्यवसायमा ढालेका छन् । वार्षिक कम्तीमा डेढलाख देखि २ लाख कमाइ मखमली फूलबाटै हुन्छ ।

त्यस्तै, ताथली बालाटोलकी सन्तमाया बाला मखमली फूल टिप्न, गाँस्नमा व्यस्त छिन् । विशेषगरी तिहारमा नभई नहुने मखमली फूल टिप्न र गाँस्न यतिखेर ताथली, गुण्डुलगायत क्षेत्रका कृषक व्यस्त छन् । तिहार आउन करिब दुई महिना बाँकी छ तर, मखमली फूल खेती गरेका कृषकले असारको अन्तिम सातादेखि माला गाँसेर बिक्री गर्न थालेका हुन् ।

मखमली फूलका लागि सूर्यविनायक नगरपालिकाको गुण्डु र चाँगुनारायण नगरपालिकाको ताथली प्रसिद्ध छन् । केही वर्ष अघिदेखि यस भेगका कृषकको मुख्य आयस्रोत मखमली फूल खेती बनेको कृषकहरू बताउँछन् । ‘मखमली फूल खेतीले आत्मनिर्भर बनाएको छ,’ सन्तमायाले भनिन्, ‘दसैं–तिहारका लागि अन्यत्र खर्च खोज्नु पर्दैन, चाडपर्व मनाएर पनि बचत निकाल्न सकिन्छ ।’ मखमली फूल खेतीसँगै अन्यजातका फूल, फूलबारीमै भटमास, मकै लगाएको उनी बताउँछिन् ।

दिदीबहिनी/दाजुभाइको आत्मीय संगम तिहारमा दिदीबहिनीले दाजुभाइलाई कहिल्यै नओइलाउने मखमली फूलको माला लगाएर आशीर्वाद दिने चलन छ । सोही चलनअनुसार मखमली फूलको मालाको माग बढेको उनीहरू बताउँछन् । ‘मखमली फूलको माला खोज्न साउनदेखि नै आइसके,’ ताथलीकी सरिता बालाले भनिन्, ‘मखमली फूलको विकल्पमा सयपत्री लगायत अन्य फूलको माला लगाइदिने चलन पनि छ तर मखमली फूललाई विशेष मानिन्छ ।’ चैत/वैशाखमा ब्याड राख्ने, जेठमा रोप्ने मखमली फूल असारको अन्त्यबाटै टिपेर माला गाँसी झुन्ड्याएर राख्ने गरेको उनी बताउँछिन् ।

प्रत्येक वर्ष यसभेगका महिलाले मखमली फूलबाट ५० हजार देखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । ‘विशेषगरी पुरुषहरू अन्य काममा व्यस्त हुन्छन्, फूलखेतीको विशेष श्रेय महिलाहरूलाई नै जान्छ,’ स्थानीय रामदेवी बालाले भनिन्, ‘बालबच्चा हुर्काउँदै पारिवारिक जिम्मेवारीसँगै महिला मखमली फूलखेती गरेर आत्मनिर्भर बन्दै छन् ।’ घरमा बसीबसी माला गाँस्छौं, फूल गाँस्न अन्य क्षेत्रका मानिसहरू पनि आउँछन् ।’ ‘प्रतिमाला गाँसेको पाँच रुपैयाँ ज्याला पाउँछन्,’ उनले भनिन् ।

एक रोपनी जग्गामा लगाएको मखमली फूलको करिब ६ हजार माला बन्ने समेत उनले बताइन् । प्रतिमाला २० देखि २५ रुपैयाँका दरले बिक्री गर्दै आएको समेत उनीहरू बताउँछन् । गुण्डु र ताथलीका महिलाहरूले वर्षमा दुईदेखि सात हजार माला बेच्दै आएको जनाए ।

विशेषगरी तिहारका लागि मात्र प्रयोग हुँदै आएको मखमली फूल छठपर्वका लागि समेत माग हुँदै आएको कृषक बताउँछन् । भक्तपुरको मखमली फूलको माग स्वदेशमा मात्र नभई विदेशमा समेत उत्तिकै छ ।

‘प्रत्येक वर्ष तिहारका लागि जापान, क्यानडा, अस्ट्रेलिया, अमेरिका लगायत देशहरूमा भक्तपुरको माला पुग्ने गरेको छ,’ कृषक इन्द्रबहादुर वनमालाले भने, ‘तिहारका लागि विदेशमा बस्ने नेपालीहरूले मखमली फूल माग गर्छन् ।’ मखमली फूलमा लागेको मेहनतको तुलनामा आम्दानी भने सोचेजस्तो नभएको कृषकको गुनासो छ । ‘मखमली फूलको बिरुवा जोगाउनै मुस्किल पर्छ’, रामदेवी बालाले भनिन्, ‘जरा कुहिने, डढुवा रोग लाग्ने हुँदा औषधि तथा भिटामिनको प्रयोग अत्यधिक गर्नुपर्छ ।’ ‘फूल खेती गर्न अत्यधिक मेहनत चाहिन्छ, प्रोत्साहन गर्न कुनै निकाय तयार छैनन्,’ उनले भनिन् । खटिए अनुसारको बजार भाउसमेत नपाएको कृषकहरूको गुनासो छ ।

‘कृषकले दिएको दोब्बर भाउमा बाहिर बिक्री भइरहेको हुन्छ,’ मोतिबहादुर बालाले भने, ‘कृषकले भन्दा बिचौलियाले दोब्बर आम्दानी गर्छन् ।’ प्रत्येक वर्ष गुण्डु र ताथलीका करिब ७ सय महिलाले ३ करोड रुपैयाँभन्दा बढीको मखमली फूल बिक्री गर्दै आएका छन् ।

प्रकाशित : आश्विन ४, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?