कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नख्खु कारागारमा अस्पताल

काठमाडौँ — भोजपुरका विशाल राई मानसिक रोगी हुन् । नख्खु कारागारका कैदीबन्दी उनलाई उपचार गराउन मासिक कम्तीमा एकपटक लगनखेलस्थित मानसिक अस्पताल लैजान्छन् । काभ्रेका कैदीबन्दी रेशम थापालाई पनि मानसिक अस्पताल पुर्‍याइरहनुपर्छ ।

नख्खु कारागारमा अस्पताल

नख्खु कारागार प्रशासनका अनुसार उनीहरू जस्तै दैनिक औषधि सेवन गर्ने मानसिक बिरामी कारागारमा १ सय ८७ छन् । रोग देखा परेका ६० छन् ।

अब कारागारका मानसिक रोगीले उपचार गराउन भने सहज हुने भएको छ । कारागारमा परिसरमा २५ शय्याको मनोसामाजिक (मानसिक) अस्पताल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । नख्खु कारागारका जेलर जीवन दुलाल भन्छन्, ‘रंगरोगन, कारागार प्रांगणको चौर सम्याउने, भेटघाट कक्ष तथा कम्पाउन्ड मात्र बनाउन बाँकी छ । डेढ दुई महिनामा हस्तान्तरण हुन्छ ।’

उनका अनुसार कारागारमा साधनस्रोतको कमी छ । ‘एउटै गाडीले बिरामी कैदीबन्दीलाई अस्पताल पुर्‍याउनेदेखि अदालत उपस्थित गराउन काभ्रेसम्म पुर्‍याउनुपर्छ,’ उनले भने, ‘अस्पताल बनेपछि मानसिक रोगसँगै अन्य रोग पनि उपचार हुनेछ ।’ कारागार परिसरमै उपचार हुन थालेपछि अन्यत्र लैजादा हुने जोखिमबाट समेत मुक्ति मिल्ने उनले बताए ।’

नख्खु कारागार प्रशासनका अनुसार रोगीलाई व्यवस्थापन गर्न आन्तरिक प्रशासनसमेतलाई हम्मेहम्मे पर्ने गरेको छ । आत्महत्या गर्न खोज्ने जस्ता मानसिक रोगी भएका कैदीबन्दी कारागारमा छन् । मानसिक अस्पताल ललितपुरमा रहेकाले विभिन्न जिल्लाबाट नख्खु कारागार सरुवा भएर आउने मानसिक रोगी कैदीको संख्या बढ्दो छ ।

कारागार व्यवस्थापन विभागको आर्थिक सहयोगमा निर्मित भवनको जिम्मा गौरीपार्वती कान्तिपथ कन्स्ट्रक्सनले पाएको हो । उसले २०७५ भित्रमा निर्माण सम्पन्न गर्नेगरी ९ करोड ८० लाख रुपैयाँमा ठेक्का पाएको हो । अस्पताल इमरजेन्सी सेवासहित २४ घण्टै सञ्चालन हुने कारागारले जनाएको छ । कार्यालय प्रमुख राजन श्रेष्ठले अस्पताल सञ्चालनमा नआएसम्म डाक्टर, परामर्शदाता करारमा राखेर उपचार गराइरहेको बताए । ‘थप उपचार गराउनु परे मानसिक अस्पताल रेफर गर्छौ,’ उनले भने, ‘औषधि नि:शुल्क वितरण गर्दै आइरहेका छौं ।’

अस्पतालमा वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिकसहित एक/एक जना नायब सुब्बा, लेखापाल, शाखा अधिकृत, सहायक कम्प्युटर अधिकृत र २/२ जना मेडिकल अधिकृत, अनमी, अहेव र हेल्थ असिस्टेन्ट गरी १३ कर्मचारीको दरबन्दी छ । दरबन्दी अपुग हुने भएकाले सामान्य प्रशासन मन्त्रालयसँग स्टाफ नर्स ४, एक/एक डाक्टर, रेडियोलोजिस्ट, कुचीकार र भान्से तथा २ जना ल्याब टेक्निसियनको दरबन्दी माग गरेको कार्यालयले जनाएको छ ।

कारागारमा सीसीटीभी, सोलार लाइट पनि राखिँदै छ । त्यसैगरी कारागार परिसरमा २ सयजना क्षमताको २ तले आधुनिक महिला बन्दी गृह निर्माण पनि अन्तिम चरणमा पुगेको कारागार प्रशासनले जनाएको छ । कारागार प्रमुख दुलालले महिला बन्दीगृह चालु आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने योजना रहेको बताए । ‘यसबारे कारागार व्यवस्था विभागलाई जानकारी गराइसकेका छौं,’ उनले भने ।

कारागारभित्र पुनर्निर्माण प्राधिकरणले आधुनिक शौचालयसहितको २ तले दुइटा कैदीबन्दी गृह डिआरसी (ड्रग रिहायब सेन्टर) र सीआरसी (कम्युनिटी रिहायब सेन्टर) पुनर्निर्माण गरिरहेको छ । डीआरसीमा २ सय ५१ र सीआरसीमा २ सय ५० कैदीबन्दी बस्दै आएका छन् । यो भवन सञ्चालनमा आएपछि मुलुकको उत्कृष्ट कारागार हुने कारागार प्रशासनको दाबी छ ।

प्रकाशित : आश्विन ५, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?