यम्वो:द्यो उभ्याएर भक्तपुरमा इन्द्रजात्रा सुरु
भक्तपुर — नगरको टोलटोलमा बिहानै यम्वो:द्यो ठड्याएसँगै धार्मिक तथा सांस्कृतिक महत्वको इन्द्रजात्रा सुरु भएको छ । आठ दिन मनाइने इन्द्रजात्राको पहिलो दिन भक्तपुर नगरको टोलटोलमा सानो–सानो लिंगो ठड्याइन्छ । नेपाल भाषामा यसलाई यम्वो:द्यो भनिन्छ ।
यम्वो:द्योलाई स्वर्गका राजा इन्द्रका छोरा जयन्तको प्रतिकको रुपमा लिईन्छ । स्थानीय मङ्गलभक्त त्वायनाबासुका अनुसार धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार स्वर्गका राजा इन्द्रकी आमा बसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाए ।
पारिजात फूल खोज्दै जाने क्रममा दैत्यहरुको बगैंचामा परिजात फूल टिप्दै गरेको देख्छ र राक्षसले जयन्तलाई पक्राउ गरी दुई हात पछाडि बाँधेर राखे । त्यसैको प्रतिक भक्तपुरमा यम्वो:द्यो ठड्याउने प्रचलन रहेको उनी बताउँछन् ।
जयन्तलाई छुटाउन देवता र दैत्यहरुबीच युद्ध भई देवताको जित भएको खुसियालीमा इन्द्रजात्रा मनाउँदै आएको किंवन्दती रहेको उनले बताए । शुक्रबार भक्तपुरको इताछे., तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछें, सूर्यमढी, खौमा, इताछेंलगायतका स्थानहरुमा यम्वो:द्यो ठड्याइएको छ ।
भक्तपुरमा आठ दिन विभिन्न सांस्कृतिक जात्राका साथ इन्द्रजात्रा मनाइने परम्परा छ । पहिलो दिन यम्वो:द्यो ठड्याइन्छ भने दोस्रो दिनलाई दिकु भनिन्छ । इन्द्रजात्राको तेस्रो दिन खौमास्थित इन्द्रायणी देवीलाई साँझ पख विभिन्न बाजागाजा, दाफा भजनसहित इन्द्रदहले समेत परिचित सिद्धपोखरीमा लगिन्छ । इन्द्रायणी देवीलाई सिद्धपोखरीको आधा भाग मात्र परिक्रमा गराई विधिवत पूजा गरिन्छ । त्यसरात देवीलाई त्यही राखिन्छ र भोलीपल्ट अथवा चौथो दिनमा सिद्धपोखरीको बाँकी भाग परिक्रमा गराएर साँझ पुन: खौमास्थित मन्दिरमा ल्याईन्छ । यसदिन सिद्धपोखरीमा ठूलो मेला लाग्दछ ।
यसैदिन यम्वो:द्यो ठड्याएको स्थानमा होम गरी प्रसादको रुपमा सम्येबजी बाँड्ने र खाने प्रचलन छ । पाँचांै दिनलाई पनि दिकु भनिन्छ । इन्द्रजात्राको छैंटौं दिन सांस्कृतिक महत्वको मुपात्र जात्रा शुरु हुन्छ ।
मुपात्र जात्रा निस्कनुअघि सकुलान टोलका मानन्धरहरुले दत्तात्रयस्थित भिमसेन मन्दिरमा दुईवटा या:मता (आकाश दिप) बालिन्छ । यसदिन तचपालस्थित साला गणेशलाई खटमा राखी भक्तपुर शहर परिक्रममा गराइने परम्परा छ । मुपात्र राक्षसको प्रतिक हो । पुराणमा उल्लेख भएअनुसार देवराज इन्द्रका छोरा जयन्तलाई पारिजात फूल टिपेको आरोपमा राक्षसहरुले समातेर बाँधेर राखेपछि देवताहरुले युद्ध गरेर राक्षसहरुलाई पराजित गरी राक्षसलाई नगरपरिक्रमा गराएको प्रतिकस्वरुप मुपात्र जात्रा निकालिएको बंशगोपालका विश्वराज शिल्पकार बताउँछन् ।
जात्रामा मुपात्र बन्ने व्यक्तिले मुपात्र बनेबापत पानी नचल्ने दण्ड भोग्नुपर्ने मान्यता रहेको स्थानीय बताउँछन् । तर, पनि मुपात्र जात्रा अहिले सम्मपनि उतिकै हर्ष उल्लासका साथ मनाइन्छ । यस जात्रामा मूपात्र प्रमुख राक्षस र धि:चा नामक अन्य दुई सहायक राक्षससहित तीनजनालाई राक्षसको पोसाक लगाई अनुहारमा विभिन्न रङ्ग लगाई शृगांरपटारका साथ तरवार समात्न लगाएर नगर परिक्रममा गराउने प्रचलन छ । मुपात्रहरुलाई नगर परिक्रमा गराउने बेला भक्तपर नगरको टोलटोलमा ठड्याइ राखेको यम्वो: द्योलाई तीनपटक घुमेर तरवारले हान्ने गरिन्छ ।
सातौं दिनमा चोछें टोलको छुमा गणेशलाई दरबार स्क्वायरस्थित तलेजु भवानीको दर्शन गराउन लग्ने परम्परा छ । गोल्मढीका मानन्धर समुदायले यसदिन तलेजु भवानीको भक्तिभाव स्वरुप या: मता बाल्ने गर्दछ । आठौ दिन अथवा जात्राको अन्तिम दिन आश्विन कृष्ण चौथीका दिन स्थानीय टौमढी टोलमा रहेको भैरवनाथ मन्दिरमा गुठी संस्थान कार्यालयबाट ल्याईएको सरकारी पुजाअर्चना सम्पन्न गरी सकेपछि बंशगोपाल मानन्धरहरुले बुलुचास्थित ढुङ्गेधारा अगाडि दुईवटा या:मता बालेर भैरवको जात्रासंगै नगर परिक्रमा गराइन्छ । भक्तपुरको इन्द्रजात्राको अर्को आकर्षण पुलुकिसी जात्रा भएको बंशगोपालकै राधेश्याम शिल्पकारले बताए ।
भक्तपुरको लाकुलाछें टोलका स्थानीयले बाँसको मान्द्रो माथि निलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सुंढ समेत राखी पुलुकिसी तयार गरिन्छ । उक्त पुलुकिसीलाई चारजनाले काँधमा बोकेर नगरपरिक्रमा गराइन्छ भने पुलुकिसी भित्र एक जना बसेर घण्टा बजाईन्छ । पुलुकिसीलाई भैरवनाथ देवतालाई भक्तिभावका साथ पुजा गर्न लगाई जात्रा सुरु गरिन्छ ।
जात्राको क्रममा पुलुकिसीलाई बंशगोपालमा धान खुवाउने, दरवार स्क्वायरमा आगो तपाउने, सूर्यमढीको तला तुन्छी (इनार)मा पानी खुवाउने प्रचलन छ । देवराज इन्द्रका विश्वासिलो सेवक पुलुकिसीलाई ऐरावत हात्तीको रुपमा मानिन्छ ।