२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

असुरक्षित गर्भपतन गराउने बढे

फातिमा बानु

काठमाडौँ — उच्च शिक्षाका लागि नुवाकोटबाट राजधानी आएकी २४ वर्षीया एक महिला ‘लिभिङ टुगेदर’ मा बस्छिन् । सहपाठीसँग छोटो समयमै नजिकिएपछि उनीहरू सँगै बस्न थालेका हुन् । उनी भन्छिन्, ‘हामी प्रेममा छौं, सँगै बस्दा कहिलेकाहीँ शारीरिक सम्बन्ध हुन्छ ।’

असुरक्षित गर्भपतन गराउने बढे

लिभिङ टुगेदरमा बस्न थालेपछि मात्रै उनले ३ पटक गर्भपतन गरिसकिन् ।

गर्भनिरोधक चक्की पनि उत्तिकै खाइरहन्छिन् । उनी भन्छिन्, ‘अहिले बिहे गर्ने, बच्चा जन्माउने योजना छैन, सम्बन्धबारे घरमा पनि थाहा छैन ।’ गर्भपतन र गर्भनिरोधक चक्की आकस्मिक अवस्थाका लागि मात्रै हो भनेर पनि थाहा नभएको उनले सुनाइन् ।

नियमित गर्भनिरोधक चक्की र धेरै पटकको गर्भपतनका कारण उनी कमजोर भएकी छन् । गर्भपतन गरेको महिनौं दिनसम्म रगत बगेर कलेज जान सक्दिनन् । उनी भन्छिन्, ‘छुट्टै बस्न पनि सकिँदैन, सँगै बस्दा समस्या हुन्छ ।’

टोखाकी २५ वर्षीया एक महिला नवविवाहित हुन् । उनी अहिले स्नातकोत्तरको थेसिस गर्दैछिन् । उनले पढाइ सकेर राम्रो जागिर भेटेपछि मात्रै बच्चा जन्माउने योजना रहेको बताइन् । बिहे गरेको वर्ष दिनमै उनले दुईपटक गर्भपतन गराइसकिन् । एकपटक दुई महिनाको, अर्को पटक तीन । उनी भन्छिन्, ‘तीनमहिने सुई पनि लगाइरहेकी छु, सुईले गर्दा महिनावारी नियमित थिएन ।’ सुईकै कारण महिनावारी रोकिएको भनेर बस्दा उनले गर्भवती भएको थाहा पाइनन् । अनि गर्भपतन गराइन् ।

मुलुकी ऐनले गर्भपतनलाई महिलाको प्रजनन अधिकार मानेको छ । महिलाको मञ्जुरीमा १२ सातासम्मको तथा जबरजस्ती वा हाडनाता करणीबाट रहन गएको १८ सातासम्मको गर्भ पतन गराउन मिल्ने कानुनी व्यवस्था छ । त्यसैगरी गर्भको बच्चाका कारण महिलाको जीवन खतरामा पर्नसक्ने अवस्थामा पनि कानुनले गर्भपतनको स्वीकृति दिएको छ । तर, कानुनी व्यवस्थाको दुरुपयोग गर्दै पछिल्लो समय असुरक्षित गर्भपतन बढेको छ ।

धेरैपटक गर्भपतन गर्नु पनि असुरक्षित नै हो । यसले महिला र किशोरीको स्वास्थ्यमा गम्भीर असर पर्ने स्त्रीरोग विशेषज्ञहरू बताउँछन् । स्त्रीरोग विशेषज्ञ डा. नूतन शर्मा भन्छिन्, ‘गर्भपतन महिलाको अधिकार हो, तर यौन शिक्षाको कमीले यसको गलत प्रयोग भइरहेको छ ।’ असुरक्षित गर्भपतनका कारण बाँझोपन हुने, पाठेघर संक्रमण हुने र महिलाको ज्यानसमेत जाने स्थिति आउन सक्ने उनले बताइन् । उनले भनिन्, ‘कलिलै उमेरमा यौनकार्यमा संलग्न हुने तथा परिवार नियोजनका अस्थायी साधन प्रयोग नगर्नेहरू गर्भपतन गर्न आउँछन् ।’ यस्तो असुरक्षित गर्भपतन रोक्न विद्यालय तहमा यससम्बन्धी पाठ्यक्रम राख्नुपर्ने, अशिक्षित समाजमा जनचेतना फैलाउनुपर्ने उनको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा ४७ हजार महिलाको मृत्यु असुरक्षित गर्भपतनकै कारण हुन्छ । विशेषगरी किशोरी, लागूपदार्थ प्रयोगकर्ता महिला र नवविवाहित महिला यसको मारमा छन् ।जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा १३ हजार ५७ ले गर्भपतन गराएका छन् । त्यसमध्ये २० वर्षमुनिका किशोरीको संख्या ९ हजार ९ सय ४४ छ । कार्यालयका अनुसार गर्भपतन गराउनेको संख्या विगतका वर्षमा भन्दा २४ प्रतिशतले बढेको छ ।

एकै वर्षमै गर्भपतन गराउने किशोरीको संख्या अत्यधिक बढ्नु समाजको डरलाग्दो चित्रण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका समन्वय समिति महाशाखा प्रमुख महेन्द्र श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘अधिकांशलाई गर्भपतन अधिकार हो भन्ने थाहा छ, तर कलिलो उमेरमा गर्दा हुने स्वास्थ्य जोखिमबारे थाहा छैन ।’

अधिकांश लागूपदार्थ प्रयोगकर्ताका यौन साथी लागूपदार्थ प्रयोगकर्ता हुने हुँदा उनीहरू परिवार नियोजनको साधनतर्फ ध्यान दिँदैनन् । अनिच्छित गर्भ रहन्छ । लागूपदार्थ सेवनका कारण उनीहरूको नियमित महिनावारी हुँदैन, अनि गर्भ रहेको थाहा पाउँदैनन् । पेट बढेको देखेपछि मात्र उनीहरू स्वास्थ्य संस्था पुग्छन् र असुरक्षित गर्भपतन गर्न बाध्य हुन्छन् । असुरक्षित गर्भपतनका कारण समस्या जटिल बनेका महिला पनि अस्पतालमा धेरै भेटिन्छन् । परिवार कल्याण महाशाखाका पूर्वनिर्देशक डा. विकास देवकोटा भन्छन्, ‘५० प्रतिशत गर्भपतन अझै असुरक्षित रूपमा भइरहेको छ, चेतनाको कमीले गर्भपतनलाई परिवार नियोजनको साधनका रूपमा लिने प्रवृत्ति बढ्दो छ ।’ यसलाई घटाउन परिवार नियोजनको साधनको पहुँच र चेतना बढाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : आश्विन ६, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?