कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

साइकलमा अल्झेको मन

प्रशान्त माली

ललितपुर — कालिमाटीका सेलेन्द्र डंगोलले मोटरसाइकल थन्काएर साइकल चढ्न थालेको एक दशक भयो । बजार होस् वा अफिस, नजिक होस् वा टाढा जहाँ जानुपरे पनि उनी साइकलमा यात्रा गर्छन् ।

साइकलमा अल्झेको मन

अझ बिदाको दिनमा त २/४ जना साथीभाइ जम्मा भएर ‘साइक्लिङ कल्चर’ प्रवद्र्धन गर्न कहिले दक्षिणकाली वा शिवपुरी त कहिले ललितपुरको गोदावरी, लेले तथा लाकुरीभञ्ज्याङसम्म पुग्छन् ।

वातावरणप्रति सचेत उनीसँग लुम्बिनी तथा पोखरासम्म साइकलमा यात्रा गरेको अनुभव छ । साइकल सिटी नेटवर्क नेपालका अध्यक्षसमेत रहेका डंगोल भन्छन्, ‘सुरु–सुरुमा निकै गाह्रो भयो । अहिले दैनिक ३० किलोमिटरसम्म सजिलै साइकलमा यात्रा गर्छु ।’

नेदरल्यान्ड्समा सरकारले निर्माण गरेका फराकिला सडकमा सवारी दुर्घटनामा धेरै मानिसले ज्यान गुमाए । दुर्घटना न्यूनीकरण गर्न ठूला सडकको विकल्पमा मेट्रो, रेल र साइकल लेन बनाउन थालियो । यसले पेट्रोल तथा डिजेल खरिदको रकमसमेत जोगियो । नेदरल्यान्ड्स साइकलको देश भनेर विश्वमै प्रख्यात छ । प्रधानमन्त्रीसमेत कार्यालय जान साइकल चढ्ने गरेका छन् । त्यहाँ सरकारले सन् २०४० सम्ममा डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनमा प्रतिबन्ध लगाउने घोषणा गरिसकेकाले साइक्लिङ गर्नेलाई उच्च सम्मान छ ।

तर नेपालमा त्यस्तो छैन । उनी थप्छन्, ‘नेपालमा साइकललाई गरिबले चढ्ने साधनका रूपमा अथ्र्याइएको छ । सबभन्दा पहिला सरकारका उच्च तहका कर्मचारी तथा नेतालाई साइक्लिङबारे जनचेतना जगाउन जरुरी छ ।’ उनले नेटवर्कले स्कुल, कलेजका विद्यार्थीलाई साइक्लिङको फाइदाबारे जानकारी गराउँदै आएको बताए । ‘नेपालका अधिकांश जिल्लामा सडक सुविधा पुगेको छैन । गरिब मुलुकमा ग्रामीण र हिमाली पर्यटन विकास गर्न साइकल एकमात्र भरपर्दो विकल्प पनि हो,’ उनले भने, ‘कम खर्चबाट यात्रा गर्न सकिने माध्यम साइकल भएकाले सरकारले पनि प्रोत्साहन गर्नुपर्छ ।’ भैंसेपाटीका दिवास प्रधानले सार्वजनिक सवारीसधान चढ्न छाडेको ७ वर्ष भयो । वातावरणप्रति सचेत उनी पनि जता जानुपरे पनि साइकलबाट यात्रा गर्छन् । अरूलाई पनि साइकल चलाउन सुझाव दिन्छन् । साइकल सिटी नेटवर्क नेपालका बोर्ड सदस्य प्रधान भन्छन्, ‘पछिल्लो समय बढी मृत्युका कारण प्रदूषण र सवारी दुर्घटना हुन थालेको तथ्यांक छ । काठमाडौंको सवारी चाप, साँघुरा सडकमा साइकल एक मात्र विकल्प हो ।’ उनले साइक्लिङले ट्राफिक जाम, पार्किङ समस्या पनि समाधान हुने बताए । ‘नयाँ पुस्तालाई साइकल यात्राप्रति जागरुक बनाउन आवश्यक छ,’ उनले भने, ‘बजारमा ६ हजारदेखि ८/१० लाख रुपैयाँ मूल्य पर्ने साइकल छन् । एक वर्षको पेट्रोलमा हुने खर्च जोगाएर त्यसमा २० प्रतिशत थप गरेर किन्ने हो भने राम्रो साइकल आउँछ । मर्मत गर्नुपरेमा सामान सहज र राम्रो गुणस्तरको पाइन्छ ।’

भैंसेपाटीका हरि थापा प्राय: बिहान घरबाट साइकलमा निस्कन्छन् । उनले साइकल कुदाउन थालेको १० वर्ष भयो । उनी दैनिकजसो अमृत खड्का, शशि कार्की, चन्द्रश्याम डंगोललगायत साथीभाइलाई जम्मा पारेर ५ किलोमिटर दूरीमा रहेको चोभारस्थित आदिनाथ मन्दिर दर्शनमा पुग्छन् । थापा भन्छन्, ‘साइक्लिङ गर्न रमाइलो लाग्छ । यसले शरीरका सबैजसो भागको व्यायाम पनि हुन्छ ।’

पछिल्लो समय युवामा साइकलप्रति सौख बढ्न थालेको छ । उपत्यकालाई साइकल सिटीका रूपमा विकास गर्नसक्ने सम्भावना छ । नेटवर्क नेपालका अध्यक्ष डंगोल भन्छन्, ‘यसका लागि स्थानीय सरकारले साइक्लिङ प्रवद्र्धन गर्न बजेटको व्यवस्था गर्नुपर्‍यो । नेपालले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ प्रतियोगिता गर्दै जानुपर्छ ।’ ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अन्य नगरपालिकासँग समन्वय गरेर साइकल रूट तयार गर्ने र साइक्लिङका लागि बजेटको व्यवस्था गर्ने योजना रहेको बताए ।

साइकल रूट
उपत्यकामा प्रमुख तीर्थस्थल शिवपुरी, गोकर्ण, गोदावरी, नागार्जुन, चोभार, स्वयम्भू, बूढानीलकण्ठ, चारुमती, पशुपतिनाथ, गुह्येश्वरी, बौद्ध स्तूपालगायत जस्ता उत्कृष्ट साइक्लिङ गन्तव्य छन् । २० किमि रूटमा काष्ठमण्डपबाट सुरु भएर बल्खु, चाल्नाखेल, बुङमती हँुदै खोकनासम्म पुग्न सकिन्छ ।

५० किमि रूटमा पाटन–चोभार–कीर्तिपुर–नैकाप–सीतापाइला–बालाजु–धापासी–कपन–बौद्ध रूट छन् । ७५ किमिमा कीर्तिपुर–मच्छेगाउँ–बलम्बु–इचंगुनारायण–बालाजु–टोखा–बाँसबारी–बौद्ध पर्छन् । सय किमिको रूटमा बौद्ध–सुन्दरीजल–भक्तपुर पर्छ । त्यस्तै ललितपुरको दक्षिण पहाडी भेगमा १२ दिनसम्मको प्याकेज टुर गर्न मिल्ने स्थान छन् । साइक्लिङबाट जंगल सफारी, भारदेउको गुप्तेश्वर गुफा, गिम्दीको चमेरे गुफा, गोटिखेलबाट काभ्रेको पनौती निस्कने महादेव गुफा र प्युटारको नागगुफा उत्कृष्ट गन्तव्य स्थल पुग्न सक्ने रूट छन् ।

बाटोमा मृग, खरायो, कालिज, हरिण, जरायो र मृग जस्ता वन्यजन्तु अवलोकन गर्न सकिन्छ । अहिले यी रूट ओझेलमा छन् । पहिचान गरेर व्यवस्थित बनाउन सके पर्यटन प्रवद्र्धन सम्भावना छ । चीन, जर्मनी र डेनमार्कमा साइक्लिङ रूट विकास तीव्र गतिमा भइरहेको छ । विकसित मुलुकमा विद्यालय जान बालबालिका साइकलको प्रयोग गर्छन् । पुरुषभन्दा महिलाले बढी साइकल चलाउँछन् ।
प्रत्येक वर्ष काठमाडौंदेखि खोकनासम्म साइक्लिङ गरिँदै आएको छ । साइकल यात्री काष्ठमण्डपबाट बल्खु–चोभार–फर्पिङ पावरहावस–बुङमती हुँदै खोकना २० किलोमिटर यात्रा गर्ने गरेका छन् । सोसियल टुर्स संस्थाले पनि पर्यटन प्रवद्र्धन र जनसेवा गर्ने उद्देश्यले ८ वर्षदेखि ‘काठमाडौं कोरा २०१८ साइक्लिङ च्यालेन्ज’ आयोजना गर्दै आइरहेको छ । यस वर्ष आयोजना गरेको च्यालेन्जमा २ हजार २ सय १३ जना सहभागी भए । यात्रामा ५६ जना विदेशी पनि सहभागी थिए । यसले काठमाडौंमा साइक्लिङ रूट पहिचान र अफ सिजनमा पर्यटन प्रवद्र्धन सम्भावनाको सन्देश दिने गरेको छ । साइक्लिङले धार्मिक परम्परागत रूट पहिचान गर्न मद्दत गर्ने र उपत्यकामा साइक्लिङ गर्नेको संख्या पहिचान र उनीहरूको बर्सेनि भेटघाटसमेत हुने गरेको आयोजकको भनाइ छ ।

साइकल सिटी सपना
अमेरिकामा १२ हजार किमिभन्दा धेरै साइक्लिङ रूट छ । डेनिसमा ५० प्रतिशत यात्रु साइकल प्रयोग गर्छन् । हरेक १० डेनिसमध्ये ९ जनासँग साइकल हुन्छ । विद्यालय जाने बालबालिकाबीच पनि साइकल लोकप्रिय छ । पुरुषभन्दा महिलाले बढी साइकल चलाउँछन् । यहाँ पैदलयात्री र साइकलयात्री सबैभन्दा असुरक्षित सडक प्रयोगकर्तामा पर्छन् ।

अमेरिकामा साइक्लिङ र पैदल ट्रयाकसम्बन्धी डिजाइन गर्दै आइरहेका इन्जिनियर सागर ओन्त भन्छन्, ‘साइकल लेन बनाउँदा सामान्यतया: ५ सिद्धान्त अपनाउनुपर्छ । रूटमा यात्रा समय कम लाग्ने सीधा बाटो, छोटो दूरी, सुरक्षा, सुविधा र बनावट आकर्षक हुनुपर्छ ।’ उनले यही अन्तर्राष्ट्रिय मान्यताअनुसार नेपालमा पनि साइकल लेनको चौडाइ १.२ देखि दुई मिटरसम्मको हुनुपर्ने बताए । ‘उपत्यकामा करिब १ हजार ६ सय किमि सडक सञ्जाल छ । तर साइकल रूटको अवस्था दयनीय छ । साइकल लेन मात्र नभई पैदल यात्रु सुरक्षित नहुने र साइकिल पार्किङ सुविधा छैन,’ उनले भने, ‘नेपालमा बर्सेनि झन्डै १ सय २५ अर्बको इन्धन आयात हुन्छ । साइकललाई प्रयोगमा ल्याउन सकेमा इन्धनको खर्च अन्य विकास निर्माणमा प्रयोग गर्न सकिन्छ ।’

आकर्षण
साइकलसँग मेरो साइनो जोडिएको कक्षा ६ पढ्दादेखि हो । म पाटनमा जन्मेर, हुर्केको मान्छे हुँ । विश्वमा नेपाली भाषा, कला र संस्कृतिलाई चिनाउने भन्दै विश्व साइकल भ्रमणमा निस्केका पाटन ट्यागल निवासी ३८ वर्षीय ज्ञान महर्जन अहिले युरोप भम्रणको तयारीमा छन् । उनको यो आठौं देशको यात्रा हो । चीनको ग्रेटवालबाट ६ वर्षअघि यात्रा सुरुवात गरेका उनले विश्वका १ सय ५१ राष्ट्र पुग्ने लक्ष्य लिएको बताए । हामी जहाँ पुग्यांै, नेपाली झन्डा देखेर त्यहाँ रहेका नेपालीले निकै सहयोग र सम्मान गरे । उनले यात्रामा सरकारी क्षेत्रबाट सहयोग नभए पनि विदेशमा रहेका नेपाली र देशभित्रका संघसंस्थाले आफूलाई सक्दो सहयोग गरेको बताए । ‘सबैको सहयोगले नै हालसम्मको यात्रा सम्भव भएको हो,’ उनले भने, ‘यात्राका क्रममा घरको पुख्र्याैली ७ लाख रुपैयाँ खर्च भइसक्यो ।’ उनले विगत ६ वर्षदेखि साइकलमा यात्रा गर्दै नेपालको झन्डा र नेपालीको परिचयलाई विश्वमा चिनाउँदै आएका छन् ।

प्रकाशित : आश्विन ६, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?