१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अझै भूत लखेट्छन् थिमिबासी

कान्तिपुर संवाददाता

भक्तपुर — एक समय यस्तो थियो, जहिले भूतप्रेत पिशाच, ख्याक तथा कंकाल (बउचा) ले थिमिका मानिसलाई असाध्यै दु:ख दिन्थ्यो । स्थानीय बासिन्दा अति पीडित भएपछि भूतप्रेत, पिशाच, ख्याकलगायतलाई पक्रेर जिब्रो छेडी नगर परिक्रमा गरेपछि दु:ख दिन छोड्यो ।

अझै भूत लखेट्छन् थिमिबासी

सोही प्राचीन काललाई सम्झँदै मध्यपुर थिमिका बासिन्दा जिब्रो छेड्ने जात्रा मनाएर भूतप्रेत लखेट्छन् ।


आजकल भूतप्रेतमा खासै विश्वास गरिँदैन तर, ऐतिहासिक, सांस्कृतिक सभ्यतालाई बचाउन जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिँदै आएको स्थानीय संस्कृतिकर्मी प्रदीप श्रेष्ठ बताउँछन् । संस्कृति बचाउन अघि सर्दै मंगलबार साँझ मध्यपुर थिमि–५ चोंडेका ४० वर्षीय बालकराम नानी श्रेष्ठले जिब्रो छेडाएका छन् ।


मध्यपुर थिमिमा हालसम्म कतिले जिब्रो छेडाए । थिमिमा कहिलेदेखि येंया पुन्हिया मेय् प्वा: खनेगु (जिब्रो छेड्ने) जात्रा सुरु भयो । यसको इतिहास कोहीसँग छैन । येंया पुन्हिया मेय् प्वा: खनेगुको इतिहास बालकुमारी मन्दिर परिसरको खम्बामा मात्र देख्न सकिन्छ । ‘मन्दिर परिसरमा ठोकेको सुइरोको प्रकृति हेर्दा ३ सय ५० वर्षभन्दा पहिलेदेखि नै जिब्रो छेड्ने जात्रा सुुरु भएको अनुमान गर्न सकिन्छ,’ संस्कृतिकर्मी श्रेष्ठले भने, ‘एकै वर्षमा १७ जना व्यक्तिले जिब्रो छेडेको प्रमाण मन्दिर परिसरको खम्बामा छ ।’


स्थानीयका अनुसार २०५० सालअघि क–कसले कतिपल्ट जिब्रो छेडाए भन्ने यकिन तथ्यांक नभए पनि २०५० देखि २०६३ सम्म तीनपल्ट मध्यपुर थिमि चोडेका कृष्ण नानिचा श्रेष्ठले छेडाए । श्रेष्ठले २०५० मा २५ वर्षदेखि लोप भएको थिमिको जिब्रो छेड्ने जात्रालाई प्राण दिएका थिए । उनले जिब्रो छेड्ने जात्रालाई वर्षैपिच्छे निरन्तरता त दिन सकेनन् । तर, पुन: ०५७ र ०६३ मा गरी दस वर्षमा तीनपल्ट जिब्रो छेडाएका थिए । एघार वर्षपछि गत वर्ष थिमिको जिब्रो छेड्ने जात्रा बचाउन वीरेन्द्रभक्त अघि सरे । यस वर्ष तीनपल्ट जिब्रो छेडाएर संस्कृति बचाएका कृष्ण नानिचा श्रेष्ठका भतिज बालकरामले जिब्रो छेडाएका हुन् ।


इन्द्रजात्राको भोलिपल्ट अर्थात् भाद्र शुक्लपक्ष पूर्णिमाको साँझ थिमिको दिगुु टोलस्थित दिगुभैरव मन्दिरअगाडिको डबलीमा जिब्रो छेडाउने परम्परा छ । आर्थिक अभावले लोप भएको थिमिको जिब्रो छेड्ने जात्रा स्थानीयको सक्रियतामा ‘जात्रा व्यवस्थापन समिति– नेपाल संवत् ११३७’ गठनले गत वर्षबाट जात्रा सञ्चालन गर्न सुरु गरेको जनाएको छ ।


जात्राको चार दिन अघिदेखि लगातार सम्पूर्ण परिकार बनाई नगरका मानिसहरूलाई भोज खुवाउनुपर्ने कार्य जिब्रो छेडाउने व्यक्तिले गर्नुपर्ने उनी बताउँछन् । जिब्रो छेडाउन थिमिमै बनाएको माटोको पाला, सुपारी, जिउँदो माछासहित दिगु भैरव मन्दिरमा पूजा गर्नुपर्ने र आठ दिनअघि देखि एक छाकमात्र खाएर शुद्ध भई बस्नुपर्ने, पशुपन्छीलाई छुन नहुने, जिब्रो छेडाउने एक दिनअघिदेखि श्रीमतीको अनुहार हेर्नसमेत नहुने उनी बताउँछन् ।


जिब्रो छेड्ने दिन थिमि लायुका नायो प:माहरू गई हनुमान ढोका लायु (दरबार) बाट राजाको चिनो (खड्ग) लिएर आएपछि मात्र जिब्रो छेडाउने चलन रहेको छ । नकर्मीले डेढ महिनाअघि बनाएर तेलमा डुबाइराखेको करिब १० इन्च लामो फलामको सियो देवगणको पूजा एवम् प्रार्थना गरी भाद्र शुक्लपक्ष पूर्णिमाको साँझ दिगु भैरव मन्दिरको मण्डपमा जिब्रो छेडाउने प्रचलन छ ।


जिब्रो छेडाएपछि मानन्धर थरका व्यक्तिहरूले बालेको या:मता (लामो तीनवटा बत्ती) अघि–पछि राखी जिब्रो छेडाउने व्यक्तिले चन्द्राकारको मसालजस्तो बनाइएको भ्वाय् अर्थात महाद्वीप बोकेर नगरपरिक्रमा गर्ने प्रचलन रहेको श्रेष्ठले बताए । जिब्रो छेडाएपछि विभिन्न भगवानको शक्ति उत्पन्न हुने र आफूले चाहेको स्थानमा जान सक्नेसमेत उनी बताउँछन् । जिब्रो छेडाउने व्यक्ति मध्यपुर थिमिको श्रेष्ठ थरकै व्यक्ति हुनुपर्ने हुन्छ ।

प्रकाशित : आश्विन १०, २०७५ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?