एम्बुलेन्स नहुँदा सास्ती

प्रशान्त माली

ललितपुर — एम्बुलेन्स नहुँदा जिल्लाको दक्षिणी भेगका स्थानीय अस्पतालसम्मको कष्टकर यात्रा गर्न बाध्य छन् । एक साताअघि ललितपुरको प्युटारका ५० वर्षीय संगीता लामालाई एक्कासि पेट दुख्यो । दुखाई बढ्न थालेपछि सहनै नसकेर लेले टीकाभैरवस्थित आनन्दवन अस्पतालमा उपचार गर्न गत आइतबार बिहान घरबाट हिँडेकी थिइन् ।

एम्बुलेन्स नहुँदा सास्ती

झन्डै २ घण्टाको ठाडो ओरालो झरेपछि बाटोमा भेटिएको दूध बोक्ने गाडीमा चढेर उनी अस्पताल पुगिन् । एक्कासि दुख्न थालेपछि बाध्यताले हिँडेर आउनुपरेको उनका छोरा रामको भनाइ छ । ‘तेल नभएको भन्दै एम्बुलेन्स आउन नमानेपछि सास्ती बेहोर्नुपर्‍यो’ उनले भने ।


प्युटारकी ५२ वर्षीय काजीमान ब्लोन दमका बिरामी हुन् । उनलाई नियमित चेकअप गराउनुपर्छ । दम बढेर सास फेर्न गाह्रो भएपछि उपचार गराउन दूधको गाडीमा कष्टकर यात्रा गर्दै अस्पताल आउने गरेको ब्लोनले पनि बताए । माल्टाका हरि तामाङले पनि पिसाब नलीको समस्या भएकी श्रीमती राममायाको उपचार गर्न दूधकै गाडीमा पाटन अस्पतालमा ल्याए ।

विशेषगरी, गोटीखेल, आश्राङ, गिम्दी, शंखु, माल्टा, प्युटार, कालेश्वर, चन्दनपुर, घुसेल, मानिखेललगायत ठाउँका बासिन्दा मर्कामा परेका छन् । मकवानपुर र काभ्रेसँग जोडिएका गाउँका बासिन्दाले उपचार नपाउँदा समस्या बेहोर्नुपरेको छ । साधारण घाउचोट लाग्दा पनि उपचार गर्न घण्टौं हिँडेर अस्पताल पुग्नुपर्छ । गाउँमा कोही बिरामी पर्‍यो भने स्ट्रेचरमा बोकी अस्पताल ल्याउन बाध्य छन् । ‘डिस्चार्ज भएर पनि घर फर्कन समस्या हुने गरेको हरि तामाङको भनाइ छ ।


वाग्मती, कोन्जोस्योम र महांकाल गाउँपालिकामा पनि एम्बुलेन्सको सुविधा छैन । जसका कारण कतिपय बिरामीको अकालमै ज्यान जानेको गरेको स्थानीय बताउँछन् । वाग्मतीमा एम्बुलेन्स नभएको ४ वर्ष भइसक्यो । गाविस छँदासम्म भट्टेडाँडामा एम्बुलेन्स थियो । बिग्रिएपछि कसैले बनाउन चासो दिएनन् । गाउँमा जनप्रतिनिधि आएपछि एम्बुलेन्स बन्ने आसमा रहेका सर्वसाधारण निराश भएको भट्टेडाँडाका श्याम तामाङले बताए । वाग्मती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चनले एम्बुलेन्स खरिद गर्न यस वर्ष १० लाख छुट्याएको बताए । ‘खरिद प्रक्रिया अगाडि बढाइसकेका छौं,’ उनले भने । कोन्जोस्योम गाउँपालिका प्रमुख गोपीलाल स्याङ्तानले पनि एम्बुलेन्स खरिद गर्न १५ लाख रुपैयाँ छुट्याएको जनाए ।


अन्तर्राष्ट्रिय मापदण्डअनुसार सिकिस्त बिरामी लिन खबर गरेको ७ मिनेटभित्र एम्बुलेन्स पुग्नुपर्छ । नेपालको ‘एम्बुलेन्स सञ्चालन निर्देशिका २०७३’ मा यस प्रकारको कुनै समयावधि नतोकिएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका एम्बुलेन्स फाँटमा कार्यरत मोहन रिजालले बताए । ‘एम्बुलेन्स खरिद गर्न राज्यले भन्सार छुट दिने गरेको छ,’ उनले भने । ललितपुरमा ४८ एम्बुलेन्स दर्ता छन् । तर कतिपय बिग्रेका तथा थन्किएका छन् भने केहीको नवीकरण गरिएको छैन । ललितपुर महानगर परिसरमा बा४च १८२० नम्बरको एम्बुलेन्स बिग्रिएर थन्किएको छ । महानगरका प्रवक्ता राजु महर्जनले चाँडै नै एम्बुलेन्स सञ्चालनमा ल्याउने योजना रहेको जनाए ।

प्रकाशित : आश्विन ११, २०७५ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?