१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

महानगरमै थन्किए धूलो पखाल्ने मेसिन

विद्या राई

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सडकको धूलो पखाल्न जेट मेसिन खरिद गरेको डेढ महिना भइसक्दा पनि प्रयोगमा ल्याएको छैन ।

महानगरमै थन्किए धूलो पखाल्ने मेसिन

खरिद प्रक्रियापछिका केही आन्तरिक काम बाँकी रहेकाले सञ्चालनमा ल्याउन नसकेको वातावरण विभागका प्रमुख हरि कुँवरले दाबी गरे । ‘आन्तरिक परीक्षण तथा चेक भइरहेकाले आकस्मिकबाहेक पूर्ण रूपमा प्रयोगमा ल्याइएको छैन,’ उनले भने ।


महानगरले डेढ महिनाअघि ५ वटा जेट मेसिन ल्याएको हो । बिमस्टेक बैठकका बेला दुइटा प्रयोग गरिएको थियो । हाल दुइटा मेसिन महानगरको वातावरण विभाग परिसर र ३ वटा सभागृहको पार्किङमा थन्काइएका छन् । अत्यधिक धूलोका कारण महानगरमा सासै फेर्न गाह्रो भएपछि जेट मेसिन खरिद गरिए पनि दैनिक प्रयोगमा ल्याइएको छैन ।


वातावरण विभागका अनुसार सडकको धूलो सफा गर्न प्रयोग हुने ब्रुमर पनि थप ल्याएपछि मात्रै प्रयोग गरिनेछ । महानगरले चीन सरकारको अनुदानमा ती ब्रुमर भित्र्याउन लागेको हो । महानगरले चीन सरकारलाई १२० दिने कार्यादेश पठाएको छ । उसले साउन अन्तिम साता २ महिनाभित्रै ब्रुमर ल्याउने बताएको भए पनि हालै मात्र कार्यादेश पठाएको हो ।


प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा गएका बेलाको प्रतिबद्धताअनुरूप महानगरले ब्रुमर भित्र्याउन लागेको हो । २ महिना अगावै चीन सरकारको छेङ्दु नगर एसोसिएसनका कार्यकारी उपाध्यक्ष जियाङ बिनले महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादर कुँवरलाई ब्रुमरको साँचो हस्तान्तरण गरिसकेका छन् ।


महानगरलाई प्राप्त हुन लागेका ब्रुमर युरो मापदण्ड ४ का हुन् । बु्रमर ८.६ मिटर लम्बाइ र ३.५ मिटर चौडाइका छन् । तौल १५.८ मेट्रिक टनका छन् । धूलो र कसिंगर संकलन गर्न सकिने बु्रमर आधुनिक प्रविधिका छन् । ७ घनमिटर धूलो संकलन गर्न सक्ने क्षमताका छन् । उही अनुपातमा पानी बोक्ने क्षमता छ । सडक बढार्नुअघि पानी छम्केर धूलो नउड्ने बनाएपछि धूलो र कसिंगर संकलन गर्न सकिन्छ । बु्रमर ९८ किलोमिटर प्रतिघण्टा गतिका छन् । तर सडकको अवस्था र फोहोरको मात्रा हेरेर प्रतिघण्टा ३ देखि ५ किलोमिटरसम्म सडक सफा गर्न सक्नेछन् ।


जेट मेसिन युरो मापदण्ड ४ अनुसारका १३० हर्सपावर र ५ हजार लिटर क्षमताका छन् । ती मेसिनमा ५ हजारमध्ये ४ हजार लिटर सफा पानी र १ हजार लिटर ढलको फोहोर पानी अट्ने छुट्टाछुट्टै ट्यांकी छन् ।


जेट मेसिनले थुनिएको ढल खोल्ने काम पनि गर्छन् । सानो ट््यांकीमा थुनिएको ढल तानेर राखिन्छ भने ठूलो ट््यांकीको सफा पानीले फोहोर भएको ठाउँको सफाइ गर्न सकिन्छ । मेसिनमा रहेको हाई प्रेसर पम्प र १२० मिटरको जेटिङ पाइपको सहायताले ढल खोल्ने काम पहिलेको भन्दा छिटो समयमा गर्न सकिन्छ । जेटमा भएको स्प्रे गनले बिरुवामा भएको धूलो पखाल्न तथा सडक आसपास क्षेत्रमा सफा गर्न सकिन्छ । हाल महानगरसँग पुराना ४ र नयाँ ५ गरी ९ जेट मेसिन छन् ।


गत वर्ष जनप्रतिनिधि आएपछि काठमाडौंमा बढ्दो धूलो व्यवस्थापन गरी स्वच्छ, सफा, हराभरा सहर बनाउने भनी उक्त अभियान ल्याएका थिए । तर महानगर भने वातावरण स्वच्छ पार्ने चुनौतीका रूपमा रहेको धूलो व्यवस्थापन गर्ने ब्रुमर ल्याउने प्रक्रियामै अल्झेको छ । आफैंले किन्न लागेका अन्य ५ बु्रमरको योजना बनाएको मात्रै एक वर्ष बढी भइसक्यो । ल्याएको जेट मेसिन पनि थन्काएर राखेको छ ।


यसले गर्दा महानगरको क्लिन सिटी अभियान पनि कागजमै सीमित छ ।


बर्सेनि लाखौं रुपैयाँ खर्च हुन्छ तर सडकमा धूवाँ–धूलो व्यवस्थापन हुनुको साटो अस्तव्यस्त बन्दै गएको छ । समुदाय परिचालन कार्यक्रमअन्तर्गत गत वर्ष क्लिन द सिटी अभियान सञ्चालनका लागि ५० लाखको कार्यक्रम सञ्चालन गरेको थियो । यस वर्ष पनि सोही बराबरको रकम विनियोजन गरेको छ ।

प्रकाशित : आश्विन १५, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?