२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

टोखा गणेश र कुमारीको परम्परा नासिँदै

प्रशान्त माली

काठमाडौँ —  काठमाडौं, भक्तपुर र ललितपुरमा जीवित देवी कुमारी प्रथा छ । टोखामा भने कुमारीसँगै जीवित देवी गणेशको फरक परम्परा छ । तर, अहिले यो परम्परा भने संकटमा परेको छ । नेवा: गुठी टोखाका अनुसार ५ वर्षअघि मगंलदास डंगोलकी छोरी गणेशबाट निस्किए । त्यसपछि एक वर्ष जात्रा गरिएन ।

टोखा गणेश र कुमारीको परम्परा नासिँदै

अर्की कन्या निस्किएपछि ५ वर्ष कुमारी जात्रा बन्द भयो । कुमारी र गणेशबाट निस्केर जात्रा बन्द भएको यो पहिलो पटक होइन् ।


सानुबाबु डंगोलकी छोरी गणेशबाट निस्किएपछि पनि गणेश र कुमारीका लागि तलेजुबाट कुनै कन्या केटी पाउन सकिएन । ८ वर्षसम्म जात्रा पर्वहरूमा गणेश र कुमारीको मुकुट मात्र रथमा राखेर जात्रा गरियो । अहिले पनि यही समस्या देखा पर्न सक्ने संकेट देखिएको छ । परम्पराअनुसार विजयादशमी र नवमीमा इन्द्रायणी दाफा: र पो: (एक प्रकारको बाजा) खल: (खलक) र तलेजुबाट गणेश र कुमारी पर्व सञ्चालन गर्नुपर्छ । भक्तपुरेहरूले निकालिने खड्ग जात्रामा सरिक गराउनुपर्छ ।


तर, यस वर्ष कुनै सुरसार छैन । ‘जात्रा पर्वमा हुने सम्पूर्ण खर्च देवगणका परिवार आफैंले बेहोर्नुपर्छ,’ पूर्वगणेश देवगणका बुबा सुशान्त डंगोल भन्छन्, ‘साधारण एउटा नृत्य पूजामा कम्तीमा पन्ध्र सय २ हजार खर्च हुन्छ । सबै पूजा भ्याउँदा मासिक कम्तीमा ६ हजार खर्च हुन्छ ।’ उनले आर्थिक समस्याकै कारण कुमारी र गणेश प्रथा संकटमा पर्दै गएको बताए । गणेश र कुमारी हुने देवगणलाई प्रत्येक साताको शनिबार र मंगलबार सगुन दिई विधिपूर्वक पूजा गर्नुपर्छ । महिनाको पूर्णिमा र चतुर्दशीमा प्रसादसहित विशेष पूजा गर्नुपर्ने
परम्परा छ ।


वैशाखमा हुने बिस्केट जात्रामा दुवै देवीलाई घर र तलेजु मन्दिरबाट विशेष पूजा दिनुपर्छ । सिन्दूर जात्रा र सातवटा हुने खट जात्रामा सम्मिलित गराउँदा हुने खर्च पनि परिवार आफैंले बेहोर्नुपर्ने समस्या रहेको उनको भनाइ छ । जात्रा पर्वबाहेक गणेश र कुमारीलाई लत्ताकपडा, शैक्षिक, चित्तादारसमेतलाई गरी वार्षिक ६ लाख रुपैयाँ आवश्यक पर्ने उनले प्रश्न तेर्साउँछन्, ‘कमाएको पैसाले संस्कृति बचाऊँ वा परिवार पालौं ?’


अहिले जेनतेन गणेश र कुमारीको प्रथा सञ्चालन हुँदै आइरहेको नेवा गुठी टोखाका अध्यक्ष देवराज डंगोल भन्छन्, ‘राज्यले बसन्तपुर, भक्तपुर, पाटन र नुवाकोटका कुमारीलाई शौक्षिक, जीवनयापनलगायत भत्ताको समयसापेक्ष व्यवस्था गरेको छ । तर, टोखामा केन्द्रीय र स्थानीय स्तरबाट हेला भएको छ ।’ उनले विश्वसामु परिचित हुँदै गएको मुलुकको कुमारी संस्कृति जोगाइराख्न मुस्किल परेको बताए ।

प्रकाशित : आश्विन १६, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?