कात्तिक नाच गर्न तयार

प्रशान्त माली

ललितपुर — बडादसैंको फूलपाती आउन दुई साता मात्र बाँकी छ । २० वर्षअघि यतिबेला प्रसिद्ध कात्तिक नाच मञ्चन गर्ने कलाकारहरू तयारीमा जुटिसकेका हुन्थे । पाटन दरबार क्षेत्रस्थित दसैं घरमा फूलपाती भित्र्याउँदा र गोरखा दरबारबाट झम्सीखेलस्थित कोतघरमा ल्याएको फूलपाती लिन जान नृत्य प्रस्तुत गरिन्थ्यो ।

कात्तिक नाच गर्न तयार

अहिले फूलपाती त भित्र्याइन्छ । नाच भने बन्द छ । कात्तिक नाचका कलाकार ४९ वर्षीय भूपेन्द्र अमात्य सम्झन्छन्, ‘त्यतिबेला फूलपाती भित्र्याउन ३० कलाकार सहभागी हुन्थे । हेर्न आउनेको भीड लाग्थ्यो । दरबारमा बेग्लै रौनक हुन्थ्यो ।’


उनका अनुसार दरबारको सबभन्दा पुरानो जात्रा लिच्छविकालीन खड्ग जात्रा हो । ‘यो पर्व लोप भएसँगै फूलपाती भित्र्याउँदा नाच प्रस्तुत गर्ने चलन पनि बन्द भयो,’ उनले भने ।


ललितपुर महानगरले आर्थिक व्यवस्था गरेमा फूलपाती भित्र्याउँदा कात्तिक नाच पनि पुन: मञ्चन गर्न तयार रहेको कात्तिक नाच संरक्षण समितिका पदाधिकारीको भनाइ छ । ‘फूलपाती भित्र्याउँदा नाच प्रस्तुत गरेको लामो अनुभव छ,’ समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले भने, ‘गुठी संस्थानले २ सय रुपैयाँ दिन्थ्यो । नाथ पूजा गरेर प्रसादग्रहण गर्नुपथ्र्यो । अहिले फूलपाती भित्र्याउँदा नाच प्रस्तुत गर्न मात्रै ५० हजार रुपैयाँ खर्च हुन्छ ।’ ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले फूलपाती भित्र्याउने बेलामा कात्तिक नाच पुन: सञ्चालनमा ल्याउन कलाकारहरूसँग छलफल गरिने बताए । ‘लोपोन्मुख नाच संरक्षण गर्न महानगरपालिका तयार छ,’ उनले भने ।


कात्तिक नाच दरबारमा दुई पटक नचाउने चलन छ । फूलपाती भित्र्याउने बेलामा बाहेक दसैको कोजाग्रत पूर्णिमाको भोलिपल्ट प्रतिपदादेखि एक महिना कात्तिक पूर्णिमासम्म यो नाच प्रस्तुत गरिन्छ । दरबार क्षेत्रस्थित कात्तिक डबलीमा एक महिना सञ्चालनपछि बुङमतीस्थित मत्स्येन्द्रबहाल डबलीमा कामसिंह राजाको नृत्य प्रस्तुत गर्ने चलन छ ।


अहिले यो चलन बन्द भएको पनि दशकौं बितिसक्यो । ज्येष्ठ पूर्णिमामा दरबारमा गाउने ३२ राग पनि बिस्तारै घट्दै गएको छ । नाच सुरुमा सिद्धिनरसिंह मल्लले राष्ट्र र जनताको कल्याणका लागि श्रीकृष्णलीलामा आधारित श्रीबराह र श्रीनरसिंह नाच गरेर ८ दिन चलाए ।


उनका छोरा श्रीनिवास मल्लले बा:थ प्याँख (बाठा मानिसहरूको नाटक) ७ दिन थपेर १५ दिन र श्रीनिवासका छोरा योगनरेन्द्रले माधवानर र उषाहरण नाच १५ दिन थपेर कात्तिक महिनाभर नाच सञ्चालन गर्ने चलन बसालेका थिए ।


ऐतिहासिक नाच अहिले आर्थिक अभावका कारणले क्रमश: घट्दै गएको छ । गत वर्ष १२ दिन मात्र सञ्चालन भयो । यस वर्ष पनि १२ दिन मात्रै हुने नाच संरक्षण समिति अध्यक्ष किरण चित्रकार बताउँछन् । ‘संस्कृति मन्त्रालयबाट दिँदै आइरहेको रकम पनि यस वर्षदेखि बन्द भयो,’ उनले भने, ‘अब नाच सञ्चालन गर्न झन् कठिन हुने भयो ।’


लोप भएका जात्रा पुन: सञ्चालन हुने
खड्गजात्रा पाटन दरबारस्थित मू छेँ आगन घरका गुठीयारले सञ्चालन गर्ने परम्परा छ । आँगन घर १९९० को भूकम्पले ध्वस्त बन्यो । मन्दिर अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । भूकम्पयता उक्त मन्दिरको लिच्छविकालीन माजु द्य: (मानमानेश्वरी देवी) पाटन संग्रहालयको स्टोर रुममा राखियो ।


यस वर्ष लोप भइसकेको जात्रा पुन: सञ्चालन गर्न मू: छेँ आँगन घरका गुठीयार, कुम्भेश्वरका पुजारीलगायत मिलेर मन्दिरको भग्नावशेष पन्छाएर मूर्ति प्रतिस्थापन गरिसकेका छन् । खड्गजात्रा पुन: सञ्चालनसँगै ठेचोको नवदुर्गा नाच र पाटन नकबहिलको अष्टमातृका नाचको हवन पर्व पनि पुन: सञ्चालन हुने भएको छ ।


यी सबै नाच आर्थिक संकटले बन्द भएका थिए ।

प्रकाशित : आश्विन १८, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?