२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

एसिड आक्रमण: मृत्युसँग लड्दै वसन्ती

फातिमा बानु

काठमाडौँ — एसिड र चक्कु प्रहारबाट गम्भीर घाइते भएकी नवलपरासी डण्डाबजारकी २८ वर्षीया वसन्ती परियार मृत्युसँग लड्दैछिन् । उनको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

एसिड आक्रमण: मृत्युसँग लड्दै वसन्ती

एसिडले उनको अनुहार पूरै जलेको छ । दुवै पाखुरा पनि जलेका छन् । टाउको ढाडमा पनि चक्कुको घाउ छ । चक्कु आक्रमणबाट उनको दायाँ गालाको हड्डी नै फुटेको छ । बायाँ छातीमा प्रहार भएको चक्कु करङ छेडेर फोक्सोको नजिक पुगेको थियो । संक्रमित आन्द्रा काटेर प्लास्टिकको आन्द्रा गाँसिएको उनको उपचारमा संलग्न चिकित्सक बताउँछन् ।


चक्कुले काटेका भागमा टाँका लगाइएको छ । जलेको भागमा उनकै छाला काटेर अनुहार प्रत्यारोपण गरिएको छ । अनुहारभरि ब्यान्डेज बेरिएको छ । अनुहारमा लगाउन छाला ताछिएकाले तिघ्रा पनि घाइते छन् । आँखा र मुख मात्रै देखिन्छ । नाकबाट पाइपको सहाराले झोल पदार्थ खान्छिन् । प्रतिक्रियाको नाममा दुख्यो, पोल्यो मात्रै भन्छिन् । कुर्नका लागि उनका श्रीमान् यमनारायण परियार र बहिनी सुनीता छन् । चितवन भरतपुर अस्पतालमा एक साता उपचार गरेपछि उनलाई भदौ १५ गते हेलिकप्टरबाट शिक्षण अस्पताल ल्याइएको हो, रेफर गरेर । भरतपुरमै उनको दुईवटा शल्यक्रिया भइसकेका थिए ।


असोज आठ गते साँझपख वसन्ती तरकारी किन्न बजार गएकी थिइन् । साथमा मामाकी छोरी अञ्जली पनि थिइन् । तरकारी किनेर घर फर्कंदा झिसमिसे अँध्यारो भइसकेको थियो । बाक्लो गाउँ भएकाले अँध्यारो नै भए पनि उनीहरूलाई डर लागेको थिएन । आफ्नै तालमा हिँडिरहेका बेला अचानक झाडीबाट कोही हुत्तिएर आयो, को हो भन्न नपाई कपाल समातेर अनुहारमा ज्वलन्त पदार्थ एसिड खन्याउन थाल्यो । अनुहार, छाती र पेटमा छुरा हानेर त्यो व्यक्ति फरार भयो । वसन्ती गुहार माग्न थालिन्, बहिनी अञ्जलीको तिघ्रा र हातमा पनि एसिड लाग्यो ।


अञ्जली दौडेर घर पुगिन्, हस्याङ, फस्याङ गरेर दिदीलाई छुरा हान्यो, छुरा हान्यो मात्रै भन्न भ्याइन् । वसन्ती एसिडको जलनमा छट्पटिदाँ र रगताम्य हुँदा गाउँले मूकदर्शक मात्रै भएको परिवार बताउँछन् । अञ्जलीले गुड्दागुड्दैको टेम्पु जबरजस्ती रोकेर वसन्तीलाई कावासेतीको मध्यविन्दु अस्पताल पुर्‍याइन् । श्रीमान् यमनारायण भन्छन्, ‘मैले वसन्तीलाई अस्पताल पुर्‍याएपछि मात्रै देखेको हो, मैले देख्दा उनको शरीर रगताम्य थियो, कपडा पनि च्यातिएको थियो, देखेपछि एकछिन मेरो दिमागले काम गरेन ।’ एसिड आक्रमणपश्चात चार दिनपछि मात्रै वसन्ती बोल्न सकेकी थिइन् ।


यमनारायण आफैं बिरामी छन् । सुगर र पायल्स भएकै कारण उनी मलेसियाबाट फर्किएका थिए, एक महिना अगाडि । आफ्नो उपचारका लागि वैदेशिक रोजगारीबाट फर्किएका उनी श्रीमतीको उपचार गरिरहेका छन् । उनी भन्छन्, ‘उनको ज्यान बचिदिए हुन्थ्यो, उनको पीडा कम भइदिए हुन्थ्यो ।’

यमनारायण र वसन्तीले १४ वर्षअघि प्रेमविवाह गरेका थिए । १३ र सात वर्षका छोराछोरी पनि छन्, खुसी र सुखी परिवार थियो । उनी भन्छन्, ‘घरबाट बच्चाहरूको फोन आइरहन्छ ममी खै भन्छन्, म ममीलाई ठीक छ काठमाडौं घुमेर घर आउँछौं भनेर झुक्याउँछु ।’


वसन्तीको उपचारमा बर्न भिक्टिम सर्भाइबर संस्थाले सघाइरहेको छ । उनीहरूलाई खान, बस्न समस्या भइरहेको सुनाउँछन् । वसन्तीलाई उनकै छिमेकी विमल शिर्पालीले एसिड हानेका हुन् । विमलले घटना भएकै राति स्थानीय प्रहरीमा आत्मसमर्पण गरिसकेका छन् । दोषीले कडाभन्दा कडा सजाय पाउनुपर्ने वसन्ती परिवारको माग छ । साथै, सम्पूर्ण उपचार खर्च पनि दोषीले व्यहोरिदिनुपर्ने उनीहरू बताउँछन् । पारिवारिक स्रोतअनुसार विमलले वसन्तीलाई एकोहोरो प्रेम गर्थे, भागेर विवाह गर्ने प्रस्ताव गरिरहन्थे । ‘भनेको नमाने मारिदिन्छु भनेर धम्काएको रैछ वसन्तीलाई, उसले मलाई भनेकी थिई, मारिहाल्ला जस्तो त लागेको थिएन,’ यमनारायणले भने ।

प्रकाशित : आश्विन २२, २०७५ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?