कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

उपकरण खरिद अनियमितता: स्वास्थ्य मन्त्रालयले गरेन कारबाही

कान्तिपुर संवाददाता

काठमाडौँ — चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकरण खरिद गर्दा अनियमितता गर्ने पदाधिकारीलाई स्वास्थ्य मन्त्रालयले अझै कारबाही गरेको छैन  ।

उपकरण खरिद अनियमितता: स्वास्थ्य मन्त्रालयले गरेन कारबाही

उपकरण खरिदमा अनियमितता गरेको विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयको न्यायिक समितिले न्याम्सका तत्कालीन उपकुलपति डा.गणेश गुरुङ, ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद उपाध्याय र न्याम्सको खरिद एकाइ प्रमुख भगवती थपलियालाई आवश्यक कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको थियो । गत वर्ष साउन ३२ गते कारबाही सिफारिस गरिए पनि हालसम्म कुनै कारबाही भएको छैन ।


गत वर्षको असारमा न्याम्सले न्युरो सिटी उपकरण खरिद टेन्डर प्रक्रिया गर्दा आफूलाई अन्याय
गरेको भन्दै हिमालयन मेडिटेक सप्लाई फर्मले सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी
दिएको थियो । हिमालयनले १५ करोड ९५ लाखमा दिन तयार भएको उपकरण टेन्डर अस्वीकृत गरी न्याम्सले बायोमेड इन्टरनेसनल सप्लाई फर्मसँग २० करोड ४९ लाख मूल्यमा टेन्डर स्वीकृत गरेको थियो । सार्वजनिक खरिद ऐनअनुसार जुन फर्मले सस्तो मूल्यमा सामान दिन्छ उसैसँग सम्झौता गर्नुपर्छ । न्युरो सिटी एउटै कम्पनी ब्रेन ल्याबबाट उत्पादित भए पनि न्याम्सले महँगो उपकरण खरिद गरेको थियो । यसअनुसार हिमालयनले पाउनुपर्ने टेन्डर बायोमेडलाई दिएपछि यो विषय विवादमा परेको थियो ।


सार्वजनिक खरिद अनुगमन कार्यालयले उपकरण खरिद प्रक्रिया रोक्न न्याम्सलाई निर्देशन पनि दिएको थियो । न्याम्स र बायोमेडबीचको खरिद सम्झौता खारेज गर्न आदेश दिए पनि न्याम्सले ७० प्रतिशत भुक्तानी गरेर उपकरण वीर अस्पतालमा भित्र्याएर राखेको छ । अस्पतालमा उपकरण भित्रिए पनि अनियमितता विवादका कारण थन्किएर बसेको छ, प्रयोगमा आउन सकेको छैन । अस्पतालको न्युरो विभागका विज्ञ र प्राविधिकसँग छलफल भएको आधारमा उपकरण खरिद गरेको न्याम्सको खरिद एकाइ प्रमुख भगवती थपलियाको दाबी छ । बायोमेडको उपकरणमा खोजेअनुसारको विशेषता भएकाले त्यही उपकरण खरिद गर्ने निणर्य गरेको वीर अस्पतालका निर्देशक भुपेन्द्रकुमार बस्नेत बताउँछन् ।


आफू र न्याम्सबीचको खरिद सम्झौता खारेज गरेको चित्त बुझेन भन्दै बायोमेडले सर्वोच्च अदालतमा मुदा हालेको छ । तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले गत वर्षको भदौ २१ मा खरिद प्रक्रिया यथास्थितिमा राख्नु भन्ने अल्पकालीन आदेश दिएको थियो । एक वर्षदेखि मुद्दा सर्वोच्चमा छ ।


महालेखा परीक्षकको वार्षिक प्रतिवेदन–२०७४ मा पनि न्याम्सको यो उपकरण खरिद प्रक्रिया नियमसम्मत नभएको उल्लेख छ । न्याम्सले मुद्दाको अन्तिम किनारा नलगाई ७० प्रतिशत बायोमेडलाई भुक्तानी दिनु नियमसम्मत नभएको प्रतिवेदनमा लेखिएको छ । यो उपकरण खरिदमा खरिद एकाइ प्रमुख थपलिया र उपकुलपति डा. गुरुङ र ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद उपाध्यायले अनियमितता गरेको भन्दै राष्ट्रिय सतर्कर्ता केन्द्रमा उजुरीसमेत परेको छ । एकाइ कर्मचारीले आफन्तका फर्मबाट मात्रै सामान खरिद गर्ने, सस्तो सामान महँगो मूल्य तिरेर खरिद गर्ने गरेको विषयमा पनि धेरै उजुरी परेका छन् । उपकरण खरिद प्रक्रियामा खरिद एकाइ कर्मचारी, निणर्य गर्ने पदाधिकारी र विज्ञ चिकित्सकले कानुनी र प्रक्रियागत त्रुटि गरेको भन्दै केन्द्रले संलग्न सबैलाई कारबाही हुनुपर्ने जनाएको छ । ‘यसबारे केन्द्रले अझै छानबिन गरिरहेको छ, प्रतिवेदन अख्तियारसम्म जान्छ,’ सतर्कता केन्द्रका सहसचिव तथा प्रवक्ता विष्णुराज लामिछानेले भने ।


उपकरण खरिदमा अनियमितता गर्ने प्रक्रियाबारे केही थाहा नभएको मन्त्रालयमा कर्मचारी बताउँछन् । मन्त्रालयको गुणस्तरमापन महाशाखा प्रमुख डा. दीपेन्द्ररमण सिंह भन्छन्, ‘मन्त्रालयको सबै शाखामा नयाँ कर्मचारी छन्, यसबारे केही बुझ्न सकिएको छैन ।’ न्याम्सका निमित्त उपकुलपति सुबोध अधिकारीले पनि आफू न्याम्समा भर्खरै आएको भन्दै खरिद एकाइको अनियमितताबारे बुझ्न नपाएको बताए ।

प्रकाशित : आश्विन २४, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?