राउटेले प्रधानमन्त्री भेट्न पाएनन्

प्रशान्त माली

काठमाडौँ — प्रधानमन्त्रीलाई भेटी दसैं खर्च माग्न पाँच दिनअघि राजधानी आएका राउटे भेट नपाएपछि शनिबार फर्कंदै छन्  । सुर्खेतबाट आएका चार जना राउटेहरू गत वर्षजसरी भेट नपाउँदा निराश भएर फर्किने तयारीमा लागेका हुन्  ।

राउटेले प्रधानमन्त्री भेट्न पाएनन्

राउटेहरू सँगै आएकी राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले प्रधानमन्त्री कार्यालयका सचिवले समेत भेट नदिएको बताइन् । २०६७ सालदेखि राउटेहरू दसैंमा राजधानी आएर प्रधानमन्त्री–मन्त्रीहरूलाई भेट्दै आएका छन् ।


गत वर्ष पनि राउटेले प्रधानमन्त्रीलाई भेट्न पाएका थिएनन् । खड्काका अनुसार भेट नपाए पनि गतवर्ष सरकारले राउटेलाई रु.५ लाख सहयोग गरेको थियो । ‘यसपालि उपराष्ट्रपति नन्दकिशोर पुनले व्यक्तिगत रूपमा ५० हजार रुपैयाँ दिनुभयो,’ उनले भनिन्, ‘राउटेको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न राज्यले पहल गर्नुपर्‍यो । राउटे बस्तीमा राज्यले स्वास्थ्यचौकी शिविर, शिक्षा चलाउनुपर्‍यो ।’


बिहीबार पाटन औद्योगिक क्षेत्रमा भेटिएका सुर्खेत लेकबेंसीका मुखिया हरिबहादुर शाहीले भने, ‘राजधानीमा हामी माग्न आएको होइन । राउटे जातिको उत्थान गर्न गाँस, बाँस र कपासको व्यवस्थापन गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन हुनुपर्‍यो ।’ शाहीले भने, ‘रकम पाए महिलालाई चोली, फरिया र पुरुषका लागि लगौंटी, कछाड र फेटा किन्ने योजना छ ।’ उनले लोपोन्मुख जातिलाई दिएको मासिक भत्ता दुई हजारबाट बढाएर ५ हजार रुपैयाँ पुर्‍याउनुपर्ने पनि बताए ।


उनीहरूले बिहीबार पाटन र बालाजु औद्योगिक क्षेत्रको अवलोकन गरेका थिए । ‘यस्तो काठका बुट्टा म पनि कोर्न सक्छु,’ २५ वर्षीय राउटे सुविराम शाहीले अरूले बुट्टा भरेको देख्नेबित्तिकै भने । उनले पाटनमा आधुनिक मेसिन पनि अनौठो मानेर चलाए ।


नमुनाका रूपमा काठका कठौरी, ठेकी संकलन गरे । र भने, ‘राउटेको पेसा दैनिक संकटमा पर्दै गएको छ । हामीले बनाएका काठका सामान पनि यहाँ बिक्री गर्न पाए हुन्थ्यो ।’ बालाजुमा गोल्डस्टार जुत्ता बनाएको देख्दा उनीहरू अचम्मित बनेका थिए ।


एकै ठाउँमा नबस्ने फिरन्ता राउटेहरू पछिल्लो समय जंगलमा भइरहेको अतिक्रमणले चिन्तित छन् । ‘राउटे बस्ने जंगल फाँडिएको छ, यो रोकाइदिनुपर्‍यो,’ राजधानी आएका शिवराज शाहीले भने । उनले सामुदायिक वन राउटेको जिम्मा लगाउनुपर्ने बताए । ‘हामी कुकाठ मात्र प्रयोग गर्छौं,’ उनले भने । फिरन्ते समुदायका राउटे अहिले सुर्खेत लेकबेंसी नगरपालिका ५ गंगटे खोला किनारको जंगलमा बस्दै आएका छन् ।

प्रकाशित : आश्विन २७, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?