कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजीभन्दा कम छैनन्

सामुदायिक विद्यालय
प्रशान्त माली

ललितपुर — बुङमतीका गोपाल महर्जनलाई एकाबिहानै फोन आयो । ‘हेलो, सर नमस्कार म आदर्श शौल युवक माध्यमिक विद्यालयबाट बोल्दैछु । तपाईंसँग हेडसरले कुरा गर्न चाहनुभएको छ । आज विद्यालयमा आउनुहोला, धन्यवाद,’ यति खबर दिएर रिसेप्सनिस्टले फोन राखे ।

निजीभन्दा कम छैनन्

गोपालका छोरा सागर आदर्श शौलमा कक्षा १० मा कम्प्युटर इन्जिनियर विषय लिएर पढिरहेका छन् । आफ्नो छोराले केही गल्ती गरेर बोलाएको अनुमान गरेर उनी हतारहतार विद्यालय पुगे ।

‘वास्तविकता भने अर्कै रैछ,’ विद्यालयमा भेट भएका गोपालले सुनाए, ‘छोराको ब्याज कम्प्युटर इन्जिनियरको पहिलो हो । उत्कृष्ट नतिजा ल्याउन अभिभावकले पनि घरमा समय दिनुपर्‍यो भनेर जानकारी दिन बोलाएका रैछन् ।’
सरकारले कक्षा ९ देखि १२ सम्मको कम्प्युटर इन्जिनियरको कोर्स पूरा गरेमा ओभरसेटको प्रमाणपत्र दिने गरेको छ । विद्यालयले कक्षा १० मा प्राविधिक विषय अध्ययनरत श्वेता बाँस्कोटाका अभिभावक कञ्चनलाई पनि विद्यालयमा बोलाएर छलफल गर्‍यो । बाँस्कोटा विद्यालयमा भएको कला प्रतियोगितामा उत्कृष्ट भएकाले विद्यालयको प्रतिनिधित्व गर्दै एउटा संस्थाले अमेरिका लाँदैछ ।

कक्षा १० सेक्सन ‘ए’ का विद्यार्थीको परीक्षाको नतिजा प्रकाशित भएपछि गरिएको अभिभावक भेलामा बुङमतीका अनुज शाक्यले छोरी अनुषा लजालु स्वभावको भएको बताए । उनले सरसँग सोध्न लजाउन र डराउनु हँुदैन भन्दै विद्यार्थीलाई हौसला दिए । भेलामा विद्यालय सञ्चालक समिति सदस्य एवं अभिभावक अमीर शाक्यले घरमा नटेरेको विद्यार्थी विद्यालयमा पनि टेर्न गाह्रो हुने गरेकाले अभिभावक नै बढी जिम्मेवारी हुनुपर्ने बताए ।

विद्यालयले विद्यार्थीको पढाइ थप राम्रो बनाउनुपरेमा विद्यार्थी र अभिभावकसँग छलफल गरेको यो उदाहरण मात्र हो । विद्यालयले यस्तो भेला प्रत्येक सेक्सनको वार्षिक ४ पटक गर्ने गरेको छ । विद्यालयमा पूर्वप्राथमिक तहदेखि कक्षा ४ सम्म २ वटा, ५ देखि ७ सम्म ३ र ८ देखि १० सम्म ४ वटा छन् । विद्यालयमा कक्षा १२ सम्म एक हजार ८ सय ३५ जना विद्यार्थी छन् ।

भैंसेपाटीका शशि कार्कीका छोरा आयुष कक्षा १० मा अध्ययनरत छन् । उनी गत वर्ष ज्ञानोदय स्कुलबाट कक्षा ९ मा भर्ना हुन आएका थिए । अधिवक्ता शशि भन्छन्, ‘भौतिक सरचना राम्रो हुँदैमा पढाइ राम्रो हुन्छ भन्ने हुँदैन । पढाइ राम्रो गर्न विद्यार्थी र शिक्षकमा पनि भर पर्छ ।’ उनले सामुदायिक विद्यालयमा पढेकाले डाक्टर, इन्जिनियर पढ्न छात्रवृत्ति पाउने गरेकाले पनि छोरालाई सामुदायिकमा भर्ना गरिएको बताए ।

कक्षा १० मा अध्ययनरत नख्खुका निरया खपांगी गत वर्ष लिटल एन्जल्सबाट आएका हुन् । यस्ता निजी विद्यालयबाट सामुदायिकमा आउनेक्रम नरोकिएको विद्यालयले जनाएको छ । आदर्श शौलका प्रधानाध्यापक सरोजभक्त आचार्य भन्छन्, ‘सामुदायिक विद्यालयमा राजनीति मुक्त बनाउन सकेमा उत्कृष्ट हुन गाह्रो छैन ।’
विद्यालयले २०७१ मा सामुदायिक विद्यालयतर्फ माध्यमिक विद्यालय राष्ट्रिय शिल्ड प्राप्त गर्‍यो । जिल्ला शिक्षा कार्यालय ललितपुरबाट उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा पुरस्कृत भयो । उनले विद्यालय सफल टिम वर्कले भएको बताए । ‘कमजोरी शिक्षक, विद्यार्थी जो कोहीसँग पनि हुन्छ । तर, सुधार नगर्नु गल्ती हो । हामीले सुधार गर्दै गयौं,’ उनले भने ।

अहिले विद्यालयमा पेपर लेस बनाउन प्रत्येक कक्षामा स्पिकर जडान गरिएको छ । विद्यार्थीलाई सूचना दिनुपरेमा, ध्यान गर्दा धुन बजाउनुपरेमा त्यही स्पिकर बजाउने गरिएको छ । शैक्षिक तथा प्राविधिक विभाग, परीक्षा तथा मूल्यांकन, अनुशासन तथा परामर्श, अन्तक्र्रिया र छात्रवृत्ति गरेर चार वटा विभाग खडा गरिएको छ ।
प्रत्येक विभागमा शिक्षक संलग्न छन् । यसले शिक्षकहरूमा थप जिम्मेवारी बोध हुने गरेको आचार्यको भनाइ छ । ‘निजी विद्यालयले उत्तरपुस्तिका विद्यार्थीलाई नदिँदा नै हामीले चलन बसालिसकेका थियौं,’ उनले भने, ‘बेलाबेलामा शिक्षकहरूलाई विज्ञ बोलाएर तालिम दिने गरेका छौं ।’

विद्यालय बाहिर जानुपरेमा विद्यार्थीलाई अनुशासनमा राख्न एउटा कक्षामा २ वटा पास बनाइएको छ । सरकारी शिक्षकले मात्र नपुगेर विद्यालय स्रोतबाट २५ जना शिक्षकको व्यवस्था गरिएको छ । विद्यालय सञ्चालक समितिको अध्यक्षमा बाबुकृष्ण महर्जन छन् । अभिभावक संघ नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘प्रधानाध्यापकले कुशल व्यवस्थापन गर्न सक्नु नै विद्यालय राम्रो हुनु हो । प्राय: सामुदायिक विद्यालयमा राजनीति घुसेकाले बिग्रिने हो । जुन प्रधानाध्यापकले नियन्त्रण गर्न सक्नुपर्छ ।’

पुल्चोकस्थित त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालय र कुपन्डोलस्थित प्रगति शिक्षा सदन मावि पनि निजीभन्दा कम छैनन् । त्रिपद्ममा शैक्षिक क्यालेन्डरअनुसार विद्यालय सञ्चालन, अंग्रेजी माध्यमबाट पठनपाठन, शिक्षक लगबुक व्यवस्था, बालमैत्री कक्षाकोठा र नियमित अभिभावकसँग अन्तक्र्रिया हुने गरेको छ । विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, इन्टरनेटसहितको पुस्तकालय र चमेनागृह छ । जुन कतिपय निजी विद्यालयमै नभएको त्रिपद्मका शिक्षक विष्णुप्रसाद घिमिरे भन्छन्, ‘शिक्षक तथा विद्यार्थी आचारसंहिता बनाई कार्यान्वयन गरेका छौं ।’ उनले विद्यार्थीको अनुपस्थितिमा अग्रिम जानकारी गराउने नीतिले विद्यार्थी र अभिभावकलाई थप जिम्मेवार बनाएको बताए ।

प्रगति शिक्षा सदनका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले सरकारले ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत मात्र अन्य शिक्षामा जोड दिनसके मात्र समृद्धि सम्भव हुने बताए । उनले विद्यालयबाट ५ वर्षभित्र दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको बताए ।

प्रकाशित : आश्विन २८, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?