थापाथलीमा ट्राफिक बत्ती जडान 

अब १७ स्थानमा ट्राफिक बत्ती 
दीपेन्द्र विष्ट

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उपत्यका ८ स्थानमा ट्राफिक बत्ती बाल्ने भएको छ । ट्राफिक बत्तीको अभावमा सवारी व्यवस्थापन गर्न कठिन भएको भन्दै मन्त्रालयले ८ वटा स्थानमा मर्मत तथा नयाँ जडान गरेर ट्राफिक बत्ती बाल्ने तयारी गरेको छ ।

थापाथलीमा ट्राफिक बत्ती जडान 

सडक विभागका अनुसार सिंहदरबार,पदमोदय मोड,बागबजार,कालिमाटी र तीनकुनेमा रहेका पूराना बत्तीलाई मर्मतका लागि टेण्डर आह्वान गरेको छ । त्यसैगरी गौशला, मित्रपार्क र पुरानो बानेश्वरमा नयाँ जडानको लागि टेण्डर आह्वान गरेको विभगाका ट्राफिक व्यवस्थापन महाशाखा प्रमुख दीप वराहीले जानकारी दिए ।

‘२५ गते टेण्डर आह्वान गरेका छौँ,’उनले भने,‘धेरै ढिलो भए ३ महिनाभित्र बत्ती जडान हुन्छ । तर, थापाथलीमा भने ट्राफिक बत्ती जडान भइसकेको उनले बताए । निजी क्षेत्रको कम्पनीले थापाथलीमा बत्ती जडान गरेको उनले बताए । १० वर्षदेखि उक्त स्थानको सवारी व्यवस्थापन ट्राफिक प्रहरीले हातकै इशारामा गर्दै आएका छन् ।


‘अब सबै स्थानमा बत्ती जडान गर्छौँ,ट्राफिक व्यवस्थापन निकै अस्तव्यस्त भएको छ’ उनले भने,‘त्यसका लागि विभागले गृहकार्य गरिराहेको छ ।’ करिब ५ महिनाअघि उपत्यका ट्राफिक महाशाखा प्रमुख हुँदा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाका ७ स्थानमा १० वर्षपछि ‘स्मार्ट ट्राफिक’ बत्ती बालेका थिए ।

महाराजगन्जस्थित नारायणगोपाल चोक,सोल्टी मोड,नयाँ बानेश्वर चोक र पुतलीसडकस्थित पद्मोदय मोडमा मर्मत तथा नयाँ जडान गरिएको थियो । त्यस्तै कुमारी बैंक र काठमाडौं महानगरपालिका अगाडि स्मार्ट ट्राफिक लाइट जडान गरिएको थियो ।

लाइट नहुँदा ट्राफिक प्रहरीलाई निकै सास्ती भएको ट्राफिक महाशाखाका प्रमुख बसन्त पन्तले खनालले बताए । ‘लामो प्रयासपछि लाइट बाल्न सफल भएका छौँ, अब ट्राफिक जाममा केही घट्छ ।’ उनले भने,‘ट्राफिक लाइट नहुँदा सवारी व्यवस्थापन गर्न निकै फितलो भएको छ । बत्ती हुनैपर्छ । ट्राफिकलाई उपत्यकाको धूलो-धूवाँले निकै हैरानी गरेको छ । लामो प्रयासपछि लाइट बाल्न सफल भएका छौँ ।’


एक ठाउँमा भएको ट्राफिक जामले पूरा उपत्यकामा दिनभर असर पार्ने उनले बताए । पछिल्लो समय १० लाखभन्दा बढी सवारीलाई १ हजार २ सय ट्राफिक प्रहरीले हातको इसाराले नियन्त्रण गर्नुपरेको छ ।

नयाँ मर्मत गरिएका/गरिने बत्ती १० वर्षअघि जापान सरकारको सहयोगमा जडान गरिएका थिए । तर, सरकारको लापरबाहीले गर्दा मर्मत र सम्भार हुन सकेका थिएन । भक्तपुरको ३ स्थानमा भने जापान सरकारले जडान गरेको बत्तीले काम गरिराखेको विभागले जानाएको छ ।

लाइट जडानपछि ट्राफिक प्रहरीलाई केही राहत हुने पन्तले बताए ।माइतीघर, तीनकुने, जयनेपाल हल,थापाथली चोक,जावलाखेल चोकमा लाइट जडान गरिनेछ। त्यस्तै त्रिपुरेश्वर, दरबारमार्ग, भकाली,कमलपोखरी,जमल,लैनचौरलगायत क्षेत्रमा पनि जडान गरिनेछ ।

प्रकाशित : आश्विन २८, २०७५ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?