कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सुनाकोठी बस्तीमा हाई भोल्टको तार

प्रशान्त माली

ललितपुर — टीकाथलीमा पाँच दिनअघि विद्युत् पोलले थिचेर ५८ वर्षीय रामकेशर बोगटीको मृत्यु भयो । चलचित्र कलाकार संघ अध्यक्ष बोगटी मंगलबार बिहान घरनजिकै रूख काटेको हेर्न गएका थिए । रूख ढलेर पोलमा लाग्दा खम्बा भाँचिएर उनलाई लागेको थियो । पोल डन्डीको सट्टा तार मात्र राखेर बनाइएको थियो ।

सुनाकोठी बस्तीमा हाई भोल्टको तार

यो घटना सेलाउन नपाउँदै बिहीबार बेलुका सुनाकोठी चौतारामा पनि पोल भाँचियो । ललितपुर महानगरपालिका–२७ हितनाल टोलस्थित हाइटेसन लाइनबाट भ्याली होममा हाई भोल्टको तार तान्नेक्रममा भाँचिएको थियो । पोल भाँचिए पनि मानवीय क्षति भने भएन । स्थानीयले छलफल नगरीकन घनाबस्तीबाट ११ हजारको हाई भोल्टको लाइन तानेको भन्दै विरोध जनाउने डरले हतारमा तान्दा भाँचिएको बताएका छन् । होमलाई स्थानीयले उक्त क्षेत्रबाट तार तान्दा दुर्घटना हुन खतरा रहेको भन्दै २०६७ मा रोक लगाएको थियो ।


चौताराका राकेश महर्जनको घर भाँचिएको पोल नजिकै पर्छ । उनको घरसँगैको पोलबाट तार तानिएको छ । उनको घर फलामको तीनतले छ । विद्युत् नियमावली, २०५० परिच्छेद ५ को ४८ मा तारदेखि भुइँसम्म हुनुपर्ने न्यूनतम दूरीमा सडक वारपार गर्दा ५.८ मिटर, सडकको छेउ ५.५ र अन्य स्थानमा ४.६ मिटर हुनुपर्छ । दफा ५० अनुसार विद्युत् प्रसारण तथा वितरण लाइन लैजानुपर्दा घर वा रूखबाट २३०/४०० देखि ११ हजार भोल्टसम्म १.२५ मिटर दूरीमा लैजानुपर्ने कानुनी प्रावधान छ । तर, होममा लगिएको तार त्यति छोडिएको छैन । महर्जन भन्छन्, ‘घरबाट हातले लाइन तार समाउन सक्ने दूरीमा छ ।’


होमले विद्युत् तार लैजान खोजेकोमा सुनाकोठीवासीले सुरुमा २०६४ मा विरोध जनाएका थिए । त्यतिबेला बालकुमारी चौरबाट बौद्ध जनविहारको जमिन मुनिबाट लाइन जडान गरेर लैजान खोजिएको थियो । लाइन लैजान ७० मिटर अन्डरग्राउन्ड तारसमेत बिछ्याइसकेको थियो ।


स्थानीयले मलामी रुटमा खाली खुट्टा हिंड्नुपर्ने भएकाले दुर्घटना हुन सक्ने भन्दै विरोध जनाए । विद्युत् प्राधिकरणका इन्जिनियर मनोज घिमिरेले समेत कुनै पनि दुर्घटना भएमा प्राधिकरणले जिम्मेवारी लिन नसक्ने बताएका थिए । त्यसको ३ वर्षपछि हितनाल टोलस्थित हाइटेन्सन लाइनबाट चौतारा हुँदै लैजान खोजे । २०७० मा बांगेधारा, त्यसपछि बुङमतीस्थित छ्यासीकोटबाट नख्खु खोला हँुदै लैजान खोजे । यो पनि सफल भएन ।


अहिले पुन: केही व्यक्तिलाई प्रभावमा पारेर हितनाल टोलबाटै लैजान तार बिछ्याएको स्थानीय सिद्धिबहादुर महर्जनको भनाइ छ । उनले जबरजस्ती गरेमा कडा रूपमा प्रस्तुत हुने बताए । होमले असार ५ मा लाइन जडान गर्न ललितपुर महानगर २७ वडा कार्यालयमा अपनाउनुपर्ने सुरक्षाबारे जानकारी गराइदिन भनी निवदेन दिएको थियो । यसबारे वडा कार्यालयले प्राधिकरणलाई पत्र लेख्यो । र प्राधिकरणले अन्डरग्राउन्ड गर्दा न्यूनतम १.२५ मिटर गहिरो खाडल खन्नुपर्ने जवाफ दियो । तर, हितनालस्थित हाइटेन्सन लाइनबाट जडान गरेर चापागाउँ मूल सडकसम्म ल्याइएको तार अन्डरग्राउन्ड गरिएको छैन ।


‘स्थानीयसँग छलफल नगरीकन लाइन जडान गर्न सिफारिस नदिन वडा कार्यालयमा पटक पटक पत्र बुझाइसकेका छौं,’ स्थानीय नवजनजित युवा क्लब अध्यक्ष शेरसिंह रैखोलाले भने, ‘त्यतिबेला गाविस हुँदा सचिवले रोके । तर, अहिले वडाध्यक्षले सिफारिस दिए ।’ रैखोलाका अनुसार होम सञ्चालन गर्न उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय ललितपुरसँग सर्वसाधारणलाई अप्ठ्यारो नपर्ने गरेर काम गर्ने सर्तमा सम्झौता गरेका छन् । तर, अहिले ज्यानसँग खेलवाड हुने गरेर तार ल्याइएको छ,’ उनले भने, ‘जनप्रतिनिधिलाई चासो छैन ।’


ललितपुर महानगर– २७ वडाध्यक्ष बाबुराजा महर्जनले विद्युत् प्राधिकरणको नियमानुसार लाइन जडान नगरिएमा रोक्ने दाबी गरे । ‘होमले यसबारे कार्यालयमा विस्तृत योजना बुझाएको छ,’ उनले भने, ‘भजन मण्डल, पीपलको रूख भएका स्थानमा अन्डरग्राउन्ड गरेर लैजानेछ । नेपाल विद्युत् प्राधिकरण लगनखेल वितरण केन्द्र प्रमुख
वीरेन्द्र सिंहले मापदण्ड नपुर्‍याइकन लाइन विस्तार गरे रोक्ने बताए ।


‘मिटर जडानमा पनि रोक लगाइनेछ,’ उनले भने । उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्त कार्यालय ललितपुरका इन्जिनियर पूर्ण महर्जनले प्राधिकरणको मापदण्ड पूरा गरेर मात्र विद्युत् लाइन जडान गर्न पाउने बताए ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?