कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

मुकुट रंगरोगनमा व्यस्त

कान्तिपुर संवाददाता

काठमाडौँ — पाटन हौगका ५९ वर्षीय सुमन चित्रकारले मुकुन्डोमा चित्रकला भर्न थालेको २ दशक बढी बितिसक्यो  । काम गरेबापत उनले पैसा पाउने गरेका छैनन्  ।

मुकुट रंगरोगनमा व्यस्त

तैपनि आफ्नो पेसाप्रति उनको लगाव उत्तिकै छ । संस्कृति जोगाउन चित्रकारलाई श्रीमती मेनुका र भान्जा चन्डन चित्रकारले साथ दिइरहेका छन् । काठमाडौंमा जन्मेकी मेनुकालाई विवाह अघि चित्रकालको बारेमा केही जानकारी थिएन । महिला भएर पनि अहिले उनी श्रीमान्सँगै मुकुन्डोमा चित्रकला भर्न गुठीगुठीमा धाउने गरेकी छन् ।


पाटन हौगोलमा परम्परागत देवी नाच ‘मास्क डान्स’ का लागि मुकुन्डोमा चित्रकला भर्ने, मर्मत गर्ने छुट्टै हौगो गुठी छ । गुठीमा ८ जनाको तीन क्व: (ग्रुप) छन् । गुठियारहरूले प्रत्येक वर्ष पालो थाप्ने चलन छ । आफ्नो पालो नभए पनि दशकैअघिदेखि ललितपुर महानगरपालिका–१९ का सुमन मुकुन्डोमा चित्रकला भर्न लागिपरेका छन् । ‘गुठियार १२ जनाबाट घटेर ८ जनामा सीमित छन्,’ उनले भने, ‘त्यसमाथि युवापुस्ताले काम नजान्दा संस्कृति जोगाउन आफैंले गुठी सम्हाल्दै आएको छु ।’


श्रीमती मेनुका र भान्जा चन्डन भने गुठियार होइन् । मेनुका भन्छिन्, ‘श्रीमान्लाई सहयोग गर्दागर्दै आफूले चित्रकला सिकेको पत्तै भएन् ।’ चित्रकला पेसाप्रति युवापुस्ताले चासो नदेखाएपछि आफंै अग्रसर भएको उनको भनाइ छ । उपत्यकाका लोप भइसकेका कला संस्कृति जोगाउन पाटनका चित्रकार दम्पती सक्रिय छन् । शनिबार चित्रकार दम्पतीले बडादसैंको अवसरमा पाटन दरबार क्षेत्रस्थित मूल चोकमा नचाइने गोदावरी नगरपालिका–१२ ठेचोस्थित नवदुर्गा देवीदेवताको मुकुन्डो रङ्गाउने तथा मर्मतमा गरेका छन् ।


यो काम गरेबापत चित्रकार दम्पतीले मुख्य देवता भैरव, काली, बाराही, कुमारी, गणेश देवगणको तर्फबाट डेढ/डेढ माना मासको दाल र कुखुराको अण्डा दुई/दुईवटा मात्र पाउँछन् । ब्रह्मायणी, महादेव, विष्णुदेवी, महालक्ष्मी, सिङ्गिन र ब्याघिनीको मुकन्डो रङरोगन गरेबापत एक/एक माना मासको दाल र अण्डा पाउँछन् । गुठी संस्थान, ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाबाट केही व्यवस्था छैन ।


यसअघि खोकनाको सिकाली (सिद्धिकाली) जात्रा मनाउन बस्तीबाट अलि पर सिकाली चौरमा अवस्थित सिद्धिकाली मन्दिर प्रांगणको करिब ६ फिट अग्लो सिंह र ब्याघिनीमा चित्रकला भरेका थिए । यो काम गरेबापत दम्पतीले खोकनाको सिम्बा गुठीबाट २ धार्नी मासु मात्र पाएका थिए । यी दुई उदाहरण मात्र हुन् । उपत्यकाका लोप भइसकेका कला संस्कृति जोगाउन पाटनका चित्रकार दम्पती सक्रिय छन् । गुठीले रातो मत्स्येन्द्रनाथको धमा: (मत्स्येन्द्रनाथ रथ तल्लो भागमा राखिने लामो काठ) को टुप्पोमा भैरव र भैरवरूपी चार पाङ्ग्रामा विभिन्न चार भैरवको मुखाकृति, मीननाथ, मंगलबजारको भीमसेन मूर्ति, खोकनाको सिद्धिकाली, हरिसिद्धि भवानी देवी (१२ वर्षमा एक पटक), ठेचोको नवदुर्गाभवानी देवी गुठीद्वारा सञ्चालित देवीनाचमा प्रयोग हुने विभिन्न देवीदेवताहरूका मुकुन्डो नयाँ बनाउने, मर्मत गर्ने र रङ्गाउने गर्छन् । २० वर्षदेखि रोकिएको पाटन दरबार स्क्वयारस्थित मूल चोकमा नचाइने ठेचोको नवदुर्गा नाच यसपालि दसैंमा पुन: सञ्चालन हुने भएपछि उनमा थप उत्साह थपिएको छ । ठेचोको लोप भइसकेको नाच पुन: सुचारु हुने भएपछि पाटनको अष्टमातृका नाचको हवन पर्व, खड्ग जात्रा पनि पुन: सुचारु हुने भएको छ । ललित कला प्रज्ञा प्रतिस्थानबाट २०६९ मा राष्ट्रिय लोककलाबाट पुरस्किृत भइसकेका सुमन भन्छन्, ‘७/८ वर्ष छँदा छिमेकी गुरु केशव चित्रकारसँग चित्रकला सिकेको थिए । मुकुन्डो बनाएबापत गुठियारहरूले दिने जिन्सी सामानले रङ किन्न पनि पैसा पुग्दैन । तर, पुख्यौली पेसा र गुरुको वचन राख्न काम गरिरहेका छौं ।’


उनका अनुसार मुकुन्डोमा रङ भरिसकेपछि हातले छुदा नटासिओस्, दिगो होस् भनेर सरेस (राँगाको छालाको मिश्रणबाट बनाइने एक प्रकारको केमिकल) प्रयोग गरिन्छ । जे पायो त्यही रङ प्रयोग गर्नु मिल्दैन,’ उनले भने, ‘मुसाले खाएर बिग्रेको मुकुट बनाउन अत्यन्त संवेदनशील काम हो ।’ सुमनका भान्जा चन्डन भन्छन्, ‘जनप्रतिनिघिले संस्कृति जोगाउन सहयोग गर्ने आशमा छु ।’

प्रकाशित : आश्विन ३१, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?