कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

एचआईभीपीडितले सुनाए प्रधानमन्त्री पत्नीलाई कथा-व्यथा  

कान्तिपुर संवाददाता

काठमाडौँ — कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनको साँघुरो स्पेस । कुनै स्टेज थिएन । तर, चाँदनी मल्ल (नाम परिवर्तन) कम्मरमा हात मर्काउँदै अघि बढिन् र मोडलले र्‍याम्प नापेजस्तै भुइँ नाप्न थालिन् ।

एचआईभीपीडितले सुनाए प्रधानमन्त्री पत्नीलाई कथा-व्यथा  

यसपछि सबैको अघिल्तिर उभिएर यी १३ वर्षीयाले भनिन्, ‘म भविष्यमा मोडल बन्न चाहन्छु ।’

यसपछि प्रतिष्ठा पन्त अघि बढिन् । उनले मीठो लय झिकिन्–


यही धर्तीमा जन्मे, यहीँ हुर्के, तर म अटिनँ

एक्लै छोडी कहाँ गयौ आमा, किन मलाई लगिनौं


माहोल भावुक बन्यो । अघिल्तिर थिइन् प्रधानमन्त्रीपत्नी राधिका शाक्य र उपप्रधानमन्त्री ईश्वर पोखरेलकी पत्नी मीरा ध्वँजुलगायत । भावुकताकै बीच सन्देश रेग्मीले रमाइलो चुट्किला सुनाए, हाँसोको फोहरा छुट्यो । यसपछि क्रमैसँग गीत र कविता सुनाउने क्रम जारी रह्यो । दसैंको उपहारसहित प्रधानमन्त्रीपत्नी शाक्यको टोली एचआईभी शिक्षा सदन पुगेको थियो, जहाँ पहिचान खुलेकै कारण पश्चिम नेपालको विभिन्न गाउँका स्कुलबाट लखेटिएका दुई दर्जन एचआईभीपीडित विद्यार्थीहरु अध्ययनरत छन् । उनीहरुले शाक्य अघिल्तिर आआफ्ना कथा–व्यथा सुनाए ।


पीडामा मलम लाउँदै कवि अनिता लामाले दुर्गालाल श्रेष्ठको गीत ‘फूलको आँखामा फूलै संसार...’ सुनाउन थालिन् । प्रधानमन्त्रीपत्नी शाक्य झन् भावुक भइन् । ‘जसले जे पाएको हुँदैन, उनीहरुका लागि त्यही मूल्यवान हुन्छ’, शाक्यले भनिन्, ‘सानैमा आमा–बुबाको ममताबाट बञ्चित हुनुपरेकाहरुलाई सबैभन्दा बढी मायाको खाँचो हुन्छ ।’ एचआईभीपीडितले सम्मानपूर्वक बाँच्ने सामाजिक चेतना तयार पार्न सबैले उनीहरुलाई माया दिनुपर्ने शाक्यले सुझाइन् । उनले तीजमा पनि प्रधानमन्त्री निवासमा यी बालबालिकालाई निम्त्याएर दर खुवाएकी थिइन् भने शनिबार निवासमै दसैंको टीका लगाइदिइन् । टीका लगाउँदै गर्दा प्रतिष्ठाले प्रधानमन्त्री केपी ओलीलाई फेरि गीत सुनाइन् ।

सदनका संस्थापक अध्यक्ष राजकुमार पुनका अनुसार आफ्नै शब्द रहेको यो गीत दृष्टिविहीन संगीतकार रमेश सुवेदीको संगीत र प्रतिष्ठाकै स्वरमा छिट्टै रेकर्ड हुँदैछ । एचआईभीपीडितहरुले पहिचानसहित सम्मानित जीवन जिउन पाउनुपर्छ भन्ने मान्यतासहित आफूहरुले ८ वर्षअघि विद्यालय स्थापना गरेको उनले जनाए । दाङ, प्युठान, सुर्खेत, कैलाली, दैलेख, बर्दियालगायतका एचआईभीपीडित विद्यार्थीहरुमात्रै अध्ययन गर्ने विद्यालयबाट यस वर्ष पहिलो ब्याचले एसईई दिन लागेको संस्थापक उपाध्यक्ष उमा गुरुङले बताइन् ।


कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनका विद्यार्थीहरुको गीत सुन्दै प्रधानमन्त्री पत्नी राधिका शाक्यलगायत । तस्बिर : कान्तिपुर

प्रकाशित : कार्तिक ५, २०७५ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?