कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पूर्वाधार छ, विद्यार्थी छैनन्

लीला श्रेष्ठ

भक्तपुर — केही वर्ष अघिसम्म भक्तपुरको न्याचो पौवा आधारभूत विद्यालयमा ४ सयभन्दा बढी विद्यार्थी अध्ययनरत थिए  । चाँगुनारायण मन्दिर क्षेत्रकै राम्रो विद्यालयका रूपमा न्याचो पौवा प्रावि (आधारभूत विद्यालय) लाई लिइन्थ्यो  ।

पूर्वाधार छ, विद्यार्थी छैनन्

हाल उक्त विद्यालयको कक्षाकोठामा ताला लागेको छ । विद्यार्थी खेल्ने, दौडने चउर घाँसे मैदानमा परिणत छ । ‘२०५६ मा मेरो कक्षामा ८० विद्यार्थी थियो, विद्यार्थी धेरै भएर कक्षामा ठाउँ नै पाइँदैन थियो,’ पूर्वविद्यार्थी उदय तामाङ सम्झन्छन् ।

२०४१ मा स्थापित न्याचो पौवामा विद्यार्थीको संख्या दिन प्रतिदिन घट्दै गयो । दुई वर्षदेखि विद्यालयमा विद्यार्थी छैनन् । शिक्षकहरू अन्य विद्यालयहरूमा काजमा पठाइएको छ । एक शिक्षक विद्यालयको रेखदेखका लागि राखिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित आशापुरी आधारभूत विद्यालय परिसरमा घाँसेझाडी छ । विद्यालयमा कम्पाउन्ड पर्खाल छैन । शौचालयको अवस्था नाजुक छ । फोहोरका कारण बालबालिका शोचका लागि छिर्नसमेत सक्दैनन् । विद्यालयलाई भौतिक पूर्वाधारको कमी छैन । तर, विद्यालयमा विद्यार्थी बढाउन कुनै पहल भएको देखिँदैन ।

कक्षाकोठा फोहोर छ । कक्षा ५ सम्म पढाइ हुने आशापुरी आधारभूत विद्यालयमा ईसीडीमा ६, कक्षा १ मा २, कक्षा २ मा ८, कक्षा ३ मा ४ गरी १७ विद्यार्थीको तथ्यांक छ । कक्षा ४ र ५ मा विद्यार्थी नै छैनन् । ईसीडीलगायत ६ शिक्षक छन् । शौचालय, कक्षाकोठालगायत भौतिक पूर्वाधार राम्रो भए पनि संरक्षण हुन सकेको छैन । विद्यालय व्यवस्थापन तथा शिक्षकहरूले विद्यार्थी टिकाउन कुनै पनि पहल गरेको पाइँदैन ।

त्यस्तै, भूकम्पका कारण क्षतिग्रस्त चन्द्र सूर्योदय आधारभूत विद्यालय घ्याम्पेडाँडाको संरचना पुनर्निर्माण गरी रंगरोगन गरेको छ । शैक्षिक सामग्री, कम्प्युटर, कक्षाकोठाको कमी छैन तर विद्यालयमा पढ्ने विद्यार्थीको संख्या ५ मात्र छ । तीन शिक्षक चन्द्र सूर्योदयमा अध्यापन गराउँछन् । विद्यालयका प्रधानाध्यापक आनन्द राजथलाका अनुसार घ्याम्पेडाँडामा ७७ घरधुरी छन् । स्थानीय बालबालिका बस चढेर निजी विद्यालय पढ्न जान्छन् । सामुदायिक विद्यालयमा सुधारका लागि स्थानीय अभिभावकले बेवास्ता गरेकै कारण विद्यार्थी न्यून रहेको उनी बताउँछन् ।

चाँगुनारायण नगरपालिका अन्तर्गत पर्ने चेतना आधारभूत विद्यालयको अवस्था पनि उस्तै छ । विद्यालयमा भौतिक पूर्वाधारको कमी छैन तर विद्यार्थी शून्य । नगर क्षेत्रभित्रका विद्यार्थी नभएका र न्यून रहेका चाँगुनारायण आधारभूत, बालभक्त आधारभूत, पञ्चकन्या आधारभूत छालिङ, कृष्ण आधारभूत, चेतना आधारभूत र न्याचो पौवा आधारभूत विद्यालय सुडाललाई नजिकको विद्यालयसँग समायोजन गर्ने तयारी गरेको शिक्षा शाखा प्रमुख माधव पोखरेल बताउँछन् ।

सरकारले विद्यालय उमेर समूहका बालबालिका पढाइबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नयाँ शैक्षिक सत्र सुरु भएसँगै अभिभावकत्व ग्रहण गर्ने र सामुदायिक विद्यालय सुधार तथा व्यवस्थापन गर्ने भने पनि आधारभूत तहसम्म पढाइ हुने अधिकांश विद्यालयको अवस्था नाजुक छ ।

जिल्लाका चारवटै स्थानीय तहमा सञ्चालित सामुदायिक विद्यालयमा भौतिक संरचना, जनशक्ति, शैक्षिक सामग्रीको कमी छैन । विद्यालय सुधार तथा व्यवस्थापनका लागि पर्याप्त बजेट छ तर, समुदाय र सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकहरूमा उत्तरदायित्व तथा अपनत्वको कमीले आधारभूत तहका विद्यालय दयनीय बन्दै गएको शिक्षा विकास तथा समन्वय इकाई भक्तपुर प्रमुख हरिप्रसाद दाहाल बताउँछन् । जिल्लामा सञ्चालित माध्यमिक विद्यालयहरूको अवस्था भने राम्रो भएको इकाईले जनाएको छ । ‘आधारभूतको तुलनामा माध्यमिक विद्यालयको अवस्था सुधारयोग्य छ,’ इकाई प्रमुख दाहालले भने, ‘अभिभावकले आधारभूत विद्यालयलाई विश्वास गर्न सकेको छैन ।’

संस्थागत विद्यालयले बालबालिकाको सुरक्षाका लागि घर/घरमा सवारीसाधनको सुविधा दिने, विद्यार्थी विद्यालयमा उपस्थिति नहुँदा खबर गर्ने, शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रमहरू गर्नेलगायत कार्यले अभिभावकको रोजाइमा निजी विद्यालय परेको दाहालले बताउँछन् ।

स्थानीय तह लागू भएपश्चात विद्यालय सञ्चालन तथा व्यवस्थापनको जिम्मा स्थानीय तहको हातमा पुग्यो । जनप्रतिनिधिले स्थानीय तहको नेतृत्व सम्हालेको डेढ वर्षमा बल्ल विद्यालयको अनुगमन थालेको छ । केही विद्यालयबाहेक आधारभूत तहका सामुदायिक विद्यालयको अवस्था नाजुक पाइएको सूर्यविनायक नगरपालिका सामाजिक विकास समिति/‍परीक्षा समिति संयोजक एवं वडा नम्बर ८ का वडाध्यक्ष किरण थापाले बताए ।

सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार तथा व्यवस्थापनका लागि नगरपालिकाहरूले जनप्रतिनिधिलाई विद्यालय व्यवस्थापनको जिम्मा लगाएको छ । जनप्रतिनिधिले विद्यालय सुधारका लागि भौतिक संरचना निर्माण, खाजाको व्यवस्थाको पहल गरेको उनले थापाले बताए । न्यून विद्यार्थी भएका विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गर्ने प्रक्रिया सुरु भएको जनाएको छ ।

प्रकाशित : कार्तिक १०, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?