कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

माजुदेग पुनर्निर्माण सुरु

दामोदर न्यौपाने

काठमाडौँ — हनुमानढोका दरबार क्षेत्रको मुख्य सम्पदा माजुदेग पुनर्निर्माण सुरु गरिएको छ । २०७२ को भूकम्पले क्षतिग्रस्त मन्दिरको पुनर्निर्माण सोमबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरे  ।

माजुदेग पुनर्निर्माण सुरु

मन्दिर महानगरको खर्चमा पुनर्निर्माण गर्न लागिएको हो । यसको लागत ५ करोड ८८ हजार रुपैयाँ हुने महानगरले जनाएको छ । यसको निर्माणको ठेक्का प्राकृतिक सानु सुवा जेभीले पाएको छ ।

मेयर शाक्य र उपमेयर खड्गीले मन्दिरको माथिल्लो भागमा रहेको शिवलिंगमा पूजा गरेर सुरु गरेका थिए । १० वटा सिँढी चढेपछि मात्रै मन्दिरको जग सुरु हुन्छ । मेयर शाक्यले ‘मन्दिर पुनर्निर्माण गर्न लाग्ने पैसा महानगर आफैंले व्यहोर्ने बताए । उनले भने, ‘साना मन्दिर बनाउन अरूसँग हारगुहार गर्दैनौं ।’ शाक्यले भूकम्पले क्षति पुर्‍याएका अन्य थुप्रै साना सम्प्दा बनाएको बताए । ‘चोक र गल्लीमा थुप्रै पाटीपौवा बनाएका छौं । मन्दिर पुनर्निर्माण गरिसकेका छौं ।’

साना सम्पदा बनाए पनि केही ठूला सम्पदा पुननिर्माण नभएकाले सम्पदामा देखिने गरी काम नभएको शाक्यले बताए । ‘काष्ठमण्डपको काम भइरहेको छ । प्राविधिक प्रतिवेदन आएपछि यसको काम अघि बढ्छ ।’ उममेयर खड्गीले आफ्नै कार्यकालमा वसन्तपुरका सम्पदा बनिसक्ने दाबी गरिन् । ‘देखिने गरी काम भएकै थिएन,’ उनले भनिन्, ‘अब रानीपोखरी बन्छ ।’

काठमाडौं, ललितपुर र भक्तपुरको तुलनामा वसन्तपुर क्षेत्रका सम्पदा पुनर्निर्माणमा ढिलाइ भएको छ । कुनै सम्पदा स्रोतको अभावले, कुनै सम्पदा विवादले बन्न ढिलाइ भएको हो । माजुदेग जस्तै स्वरूपको अर्काे सम्पदा दशअवतार मन्दिर निर्माण सुरु भएको दुई वर्ष नाघ्दासम्म अझै काम भएको छैन । मन्दिरको माथिल्लो भाग नबनाई ठेकेदारले पेटी मात्रै बनाइरहेका छन् ।

वसन्तपुर क्षेत्रका सम्पदा कुनै महानगरपालिका, कुनै पुरातत्त्व विभाग र कुनै गुठी संस्थानको भागमा परेका छन् । महानगरको भागमा काष्ठमण्डप, माजुदेगलगायत परेका छन् । यी मध्ये विवादका कारण काष्ठमण्डप पुनर्निर्माणमा ढिलाइ भएको छ । भूकम्पले भत्किएका १ हजार ५ सय सम्पदामध्ये अझै १ हजार ४ सय १० सम्पदा निर्माण हुन बाँकी छन् ।

भूकम्पको ३ वर्षको अवधिमा १ सय ८५ सम्पदा पुनर्निर्माण सम्पन्न भएको पुरातत्त्व विभागले जनाएको छ । विभागका महानिर्देशक भेषनारायण दाहालले १ सय ५० सम्पदा यही आर्थिक वर्षमा पुनर्निर्माण हुने लक्ष्य राखेको बताए । १ हजार १ सय ४ सप्पदा २०८० सालसम्म बनिसक्ने दाहालको दाबी छ ।

विभागले आर्थिक वर्ष २०७२/७३ बाटै सम्पदा पुनर्निर्माण सुरु गरेको थियो । त्यो वर्ष ४९ वटा सम्पदा पुनर्निर्माण गर्ने अनुमति राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको थियो । यसका लागि ३४ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको थियो । ३६ वटा सम्पदा बहुवर्षीय योजनाअन्तर्गत स्वीकृत भएका थिए । आर्थिक वर्ष २०७३/७४ मा १ सय ३३ वटा सम्पदा पुनर्निर्माण गर्ने अनुमति पाएको थियो ।

यसका लागि ५० करोड रुपैयाँ खर्च गर्ने अनुमति प्राधिकरणले दिएको थियो । यही वर्ष २० वटा सम्पदा बहुवर्षीय योजनाअनुसार निर्माण गर्ने अनुमति दिइएको थियो । यसका लािग ४८ करोड ७२ लाख रुपैयाँ स्वीकृत भएको दाहालले जनाए । भुइँचालो गएको पहिलो वर्षदेखि सुरु भएका १ सय ११ सम्पदाको निर्माण भइरहेको विभागले जनाएको छ ।

निर्माण सम्पन्न भएकोमा त्रिपुेरेश्वर महादेव मन्दिरको चार कुनाको मन्दिर सत्तल संरक्षण, नागार्जुनको जमाचोस्थित पाटी संरक्षण, इचंगुनारायणको मन्दिर संरक्षण, गोकर्णको सरस्वती तथा भीमसेन मन्दिर पुनर्निर्माण, बज्रवाराही मन्दिर संरक्षण, नुवाकोटको गणेश मन्दिर, देवल भद्रेश्वर महादेव मन्दिर संरक्षण, कालिका मन्दिरको छाना संरक्षण, ओखलढुंगाको शिवमन्दिर पुनर्निर्माण, रामेछापको खाँडादेवी मन्दिर पुनर्निर्माण, धादिङको कंकालिनी मन्दिर पुनर्निर्माण सम्पन्न भएका छन् ।

त्यसैगरी गोकर्णको पदम मुक्तेश्वर शिवालय, सिन्धुपाल्चोकको नैनेश्वर महादेव मन्दिर सत्तल पुनर्निर्माण दोलखाको कमलामाई मन्दिर संरक्षण, महांकाल मन्दिर पुनर्निर्माण, बाँसखर्क भीमसेन, कैलेश्वर महादेव मन्दिर संरक्षण कार्य सकिएको छ ।

त्यसैगरी गोरखा दबारको रोटपाटी पुननिर्माण, श्रीविद्या मन्दिर, बुंकोटको गोरखकाली मन्दिर, पद्माख्या मन्दिर, गुम्दाको छोरतेन संरक्षण सम्पन्न भएका छन् । हनुमानढोका दरबार क्षेत्रको ताना देवी मन्दिर, साँखुको कृष्ण मन्दिर, खोकनाको रुद्रायणी सत्तल, शंखमूलको आगो ताप्ने पाटी, कीर्तिपुरको याक फाल्चा, चिलंगो चैत्य, गुत्पौ, पाटी, दिगु फाल्चा, साखुको नर्वदेश्वर महादेव मन्दिर पुनर्निर्माण, चाँगुरनारायणको छिन्नमस्ता, भक्तपुरको गोपीनाथ मन्दिर संरक्षण, चाँगुनारायण मन्दिर परिसरको सरस्वती मन्दिर, हनुमान ढोका परिसरको तलेजु भवानी संरक्षण, भक्तपुर दरबार क्षेत्रको पुलिस हाउस संरक्षण कार्य सम्पन्न भएको विभागले जनाएको छ । बहुवर्षीय योजनाअनुसार निर्माण सुरु भएका ९६ सम्पदामध्ये १७ वटा सम्पन्न भएका छन् ।

नैकाप सत्तल, सतुंगलस्थित विष्णुदेवी मन्दिर, कीर्तिपुरस्थित जगतपाल महाविहार, बुङ्मतीस्थित मनकामना मन्दिर, फर्पिङको भन्ज्याङपाटी, काभ्रेको पलान्चोक भगवती मन्दिर पुनर्निर्माण भएका छन् । स्वयम्भूको किमडोल विहार, स्वयम्भूको अनन्तपुर, प्रतापपुर, राष्ट्रिय संग्रहालय परिसरको सैनिक आवास, दोलखाको टहले मन्दिर, राामेछापको नारायण मन्दिर सत्तल, भक्तपुरको नगदेश गणेश मन्दिर सत्तल, अनन्तलिंगेश्वर, टोखाको तलुजु मन्दिर, हनुमानढोकाको वंशगोपाल मन्दिर पनि पुनर्निर्माण छन् ।

प्रकाशित : कार्तिक १३, २०७५ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?