कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सुर्तीजन्य पदार्थ अस्पताल छेउमै बिक्री

फातिमा बानु

काठमाडौँ — कानुनले बर्जित गरे पनि अस्पताल वरपर सुर्तीजन्य पदार्थ बिक्रीवितरण भने रोकिएको छैन  । राजधानीका अधिकांश सरकारी र निजी अस्पतालका ढोकैमा सुर्तीजन्य पदार्थ बिक्री र प्रयोग बढिरहेको छ  ।

सुर्तीजन्य पदार्थ अस्पताल छेउमै बिक्री

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ अनुसार अस्पतालको एक सय मिटर वरपर यस्ता पदार्थको बिक्रीवितरण गर्न पाइँदैन । सम्बन्धित निकायबाट अनुगमन र नियमन हुन नसक्दा बिक्रीवितरण भने चलिरहेको छ ।

ऐनअनुसार सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खाको बिक्रीवितरण र सेवन गर्न नपाइने भने तापनि यसको जथाभावी प्रयोग घट्नुको साटो बढिरहेको छ । अस्पतालमा मात्रै नभई सार्वजनिक स्थान, विद्यालय तथा शैक्षिक संस्था, सरकारी कार्यालय तथा मन्दिर छेउछाउसमेत नियमविपरीत यस्ता पदार्थको खुलमखुल्ला बिक्री भएको देख्न सकिन्छ ।

सिंहदरबार परिसरभित्रै यसको खुला बिक्री र प्रयोग गरिएको भेटिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवतजावत गर्नेलाई भने मूलढोकामै रोकेर खल्तीबाट सुर्तीजन्य पदार्थ निकाल्नुपर्ने अभ्यास गरिए पनि आजभोलि कमजोर हुँदै गइरहेको छ ।

काठमाडौं महानगरपालिकालाई सुर्तीजन्य पदार्थ प्रयोगरहित सहर बनाउने अभियान चलिरहेको छ, यो पनि कार्यान्वयनमा आउन सकेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ भन्छन्, ‘सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि स्थानीय तहलाई जिम्मा दिएका छौं, स्थानीय सरकार सक्रिय नहुँदा यो योजना अव्यवस्थित भइरहेको छ ।’ यसलाई कडाइका साथ नियन्त्रण गर्नका लागि स्वास्थ्य मन्त्रालय तयारी गरिरहेको उनले बताए । नियम/कानुनबारे व्यापक जनचेतना फैलाउनुपर्ने उनको भनाइ छ ।

सुर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरण गर्नका लागि यसमा लाग्ने कर बढाई यसलाई अत्यधिक महँगो बनाउनुपर्ने सरोकारवालाहरू बताउँछन् । सार्क मुलुकहरूमा सुर्तीजन्य पदार्थको सबैभन्दा कम कर तिर्ने मुलुक नेपाल हो । नेपालमा सुर्तीजन्य पदार्थको कर २८ प्रतिशत मात्रै छ । विश्व बैंक र विश्व स्वास्थ्य संगठनले नेपाललाई सुर्तीजन्य पदार्थमा ७० प्रतिशत कर लगाउन सुझाएको छ ।

सुर्तीजन्य पदार्थमा मिसाइने निकोटिन नामक रसायन तत्त्वले एकै पटकको प्रयोगपछि पनि लत बसाइदिन्छ । धूमपानको धूवाँमा ४ हजारभन्दा बढी किसिमका रसायन हुन्छन्, जसमा क्यान्सर गराउने तत्त्व अत्यधिक हुने विज्ञहरू बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ५० लाख मानिस सुर्तीजन्य पदार्थको प्रयोग गर्छन् ।

जसमध्ये ८४ प्रतिशत विकासोन्मुख र अल्पविकसित मुलुकका मानिस पर्दछन् । सुर्तीजन्य पदार्थको प्रयोगकै कारण बर्सेनि ५० लाखको मृत्यु हुने गरेको छ । नेपालमा भने बर्सेनि २५ हजार व्यक्तिको यसकै कारण मृत्यु भइरहेको छ । नेपालमा १५ वर्ष उमेर र सोभन्दा माथिका ३७ प्रतिशतले धूमपान गर्ने गरेका छन् । संगठनको तथ्यांकअनुसार बर्सेनि ६ लाख व्यक्तिको मृत्यु धूमपान गर्ने मानिसको नजिक बसेकै कारण हुने गरेको छ ।

डा. निरजसिंह बमका अनुसार धूमपानले टाउकोदेखि पाइतालासम्म असर गर्छ । उनी भन्छन्, ‘क्यान्सर, मुटु, उच्च रक्तचाप जस्ता रोग यसैले निम्त्याउँछ, यस्तो पदार्थको बेचबिखन पूर्णरूपमा बन्द गर्नुपर्छ ।’ धूमपानको प्रयोग गर्नेलाई त असर गर्छ नै, नजिकै बस्नेलाईसमेत रोगी बनाउँछ । अस्पताल वरपर त यसको प्रयोग गर्नै हुँदैन । बिरामीलाई थप असर गर्छ । धूमपान जनस्वास्थ्यसँग मात्रै जोडिएको विषय होइन । यसले नेपाललाई थप गरिबीतर्फ धकेलिरहेको छ ।

अम्मलीको परिवारमा १० प्रतिशत खर्च धूमपानमै हुने गरेको सरकारी तथ्यांक छ । सुर्तीजन्य पदार्थका लागि गरिने जंगल विनाश र कीटनाशक औषधिले उर्वर भूमि नाश गरिरहेको छ । जसका कारण यसले जनस्वास्थ्यबाहेक वातावरणीय ह्रास र गरिबी पनि निम्त्याएको छ । काठमाडौं महानगरपालिकालाई सुर्तीजन्य पदार्थ प्रयोगरहित सहर बनाउने अभियान चलिरहेको छ, यो पनि कार्यान्वयनमा आउन सकेको छैन ।

प्रकाशित : कार्तिक १८, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?